अलाउद्दिन, लुकास, मिथ र इतिहास - Naya Patrika
eNaya Patrika
  • ePaper

अलाउद्दिन, लुकास, मिथ र इतिहास

सभ्यताका हरेक कालखण्डमा केही शासक यस्ता आउँछन्, जसलाई इतिहासप्रति घृणा हुन्छ । उनीहरू इतिहासलाई आफ्नो अनुकूल भाँचकुच पारेर नयाँ पुस्तालाई यसरी पढाउन चाहन्छन्, जसले आफूलाई महान् बनाओस् र अन्यको खलनायकीकरण गरोस् । यस्तो होस कि इतिहास र वर्तमानका सबै ज्ञान शाखाहरूले शासकको स्वार्थको रक्षा गरून् । मानिसको सोच्ने तरिका शासकको अनुकूल बदलियोस् । कोही विरोधी र असहमत नरहोस् ।

झलक सुवेदी

अधिनायकवादीहरू, जातिवादीहरू, साम्राज्यवादीहरू र अन्धराष्ट्रवादलाई आधार बनाएर विचारका अरू सबै शाखालाई निषेध गरेर आफूलाई नायक बनाउन खोज्नेहरूको हरेक युगले सामना गरेको छ । नवउदारवादले थिल्थिलो बनाएको मानवीय मूल्य र सामाजिक न्यायको चिहानमाथि अहिले एउटा दक्षिणपन्थी हुरी जबर्जस्त स्थापित हुँदै छ । इतिहासलाई इतिहास रहन नदिने र त्यसलाई बंग्याउने, फरक विचारलाई निषेध गर्ने, कमजोरमाथि प्रहार गर्ने, मानव सभ्यताको समग्र प्रगतिको होइन, आफ्नो जाति, धर्म र राष्ट्रको महान्ताको गीत गाएर अरूहरूलाई निषेध गर्ने यो भयानक कुचक्र यतिवेला बलशाली भएको छ । बेन्यामिन नेतन्याहु, रिसेप एड्रोगान, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, नरेन्द्र मोदी … ।

भारतको पछिल्लो राजनीतिमा फरक विचारलाई निषेध गर्ने, बहुलतालाई निषेध गर्ने र इतिहासलाई आफूअनुकूल बनाएर नयाँ पुस्तालाई इतिहासको फरक ज्ञान दिने जबर्जस्त प्रयास हुँदै छ । हालै एकजना सत्ताधारी दलका सांसदले ताजमहलको इतिहास मेट्न गरेको आह्वान, प्रधानमन्त्री नरेन्द्र मोदीले नेहरूमाथि गरेको आक्रमण र मुगल शासकको खलनायकीकरणका लागि भइरहेको प्रयास त्यसको पछिल्लो उदाहरण हो ।

चर्चित सिने निर्देशक सञ्जयलिला भन्सालीको पछिल्लो विवादास्पद सिनेमा पद्मावतमा एउटा दृश्य छ । दिल्लीको शासक अलाउद्दिन खिल्जी आफ्नो दरबारको एउटा खण्डमा दुईतिर मकल बालेर बसिरहेको छ । ऊ टेबलबाट ठूला कागजहरू यसो उठाउँछ, पढ्छ र च्यात्दै मकलमा हालेर बालिरहेको हुन्छ । त्यस्तैमा उसको मन्त्री आएर सोध्छ के गर्दै छौ ? अलाउद्दिन भन्छ– केही इतिहासका अभिलेख पढ्दै गरेको बेकारका रहेछन्, त्यसैले पोल्दै छु । मन्त्रीले उसलाई त्यसो नगर्न सुझाउँछ । तर अलाउद्दिन भन्छ– यी अभिलेखमा अलाउद्दिन कतै छैन । त्यस्तो इतिहास अब रहनेछैन, जहाँ अलाउद्दिन नभएको होस् । अब इतिहास अलाउद्दिनबाट मात्र आरम्भ हुन्छ ।

इतिहासमा थुप्रैपटक एउटा विचार र सभ्यतामाथि यस्तै आक्रमण भएको छ । तेह्रौँ शताब्दीकै मंगोल आक्रमणकारीले बग्दादमा त्यतिवेला रहेको कला, विज्ञान र इतिहासको संसारकै ठूलो अभिलेखालय ध्वस्त पारेका थिए । हिन्दूहरूका आदिगुरु शंकराचार्यले बौद्ध धर्मको अस्तित्व नष्ट गर्न नालन्दाका अभिलेखागारहरू नष्ट पारेका थिए । पछि इस्लामिक शासकले पनि त्यसरी नै बौद्ध र हिन्दू अभिलेख नष्ट गरेका थिए । काठमाडांै उपत्यका आक्रमण गर्न आएको तुगलकको फौजले पनि यहाँका धार्मिक सांस्कृतिक धरोहर नष्ट गर्न केही ठाउँ बाँकी राखेको थिएन । केही वर्षपहिले तालिवानले अफगानिस्तानमा बामियान बुद्धका मूर्ति नष्ट गरेर आफ्नो कायरता प्रदर्शन गरेका थिए ।

इतिहासले मानिसको ज्ञान र विचारधारामा पारेका प्रभाव नष्ट पारेपछि खाली रहने ठाउँमा आफूलाई स्थापित गर्ने मूर्खतामा शासकले यस्तो उपध्रो मच्चाउने गरेका छन् । सोभियत संघमा अक्टोबर क्रान्तिको इतिहासमाथि विवाद निम्तिने गरी स्तालिनले क्रेमलिनमा नै आफ्ना विश्वासपात्रलाई राखेर इतिहास लेखाएका थिए भनिन्छ । यस्तो इतिहास उनको शासनकालपछि पुनर्लेखन गराइएको थियो ।

इतिहासलाई बंग्याउने क्रम कहिले शासकहरूले जानाजान शक्तिका आधारमा गर्छन् । कहिले त्यस समयका बौद्धिकले शासकहरूको गीता बनाउने र आफ्नो जीविका गर्ने माध्यमका रूपमा गर्छन् । कतिपयले सिर्जनाका अनेक विधामार्फत रचना गरिने मिथकीय कथाका आधारमा गर्छन् । पछिल्लो समय नेपालको इतिहासको पनि अनेक धाराबाट व्याख्या भइरहेको छ । शाह राजाहरूको महिमामण्डन गर्दै तिनका अपराध छोप्ने, थापाहरूलाई महान् बनाउने र पछिल्लो कालखण्डमा राणाहरूलाई देशभक्त राष्ट्रवादी बनाएर अहिलेको राजनीतिक शक्तिको उछितो काढ्नेहरूको संख्या पनि बढिरहेको छ । उनीहरूको खलनायकीकरणको प्रयास पनि छ । इतिहासलाई इतिहास रहन नदिने प्रपञ्च । नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक देशका रूपमा होइन, खास जाति विशेषको आर्जनका रूपमा व्याख्या गरेर एकल जाति, धर्म, भाषा र संस्कृतिको वर्चस्व स्थापित गराउन प्रपञ्च गर्ने विद्वान्, इतिहासकार, विचारकहरूको कमी छैन । इतिहासको कन्स्ट्रक्सन, डिकन्स्ट्रक्सन, डिस्ट्रक्सन र रिकन्स्ट्रक्सनको भयानक द्वन्द्व नेपालको यतिवेलाको बौद्धिक बहसको मूल प्रवृत्तिमध्ये पर्छ ।

१८ फेब्रुअरी २०१८ मा अमेरिकी वामपन्थी अनलाइन पत्रिका ज्याकोविनमा रबर्ट नराईको एउटा आलेख छापिएको छ, ‘दि डिस्ट्रक्सन अफ हिस्ट्री’ शीर्षकमा । उनका अनुसार हंगेरिका दक्षिणपन्थी शासक यतिवेला विख्यात माक्र्सवादी चिन्तक तथा लेखक जर्ज लुकासको नाममा रहेको अभिलेखागार र उनको लिगेसी नष्ट गर्न लागिपरेको छ । जर्ज लुकास आफ्नो समयका महान् माक्र्सवादी दार्शनिक अभियन्ता र क्रान्तिकारी थिए । पहिले स्टालिनको प्रभावमा रहेका उनले पछि सोभियत संघले गरेको माक्र्सवादको अभ्यासप्रति असहमति जनाउँदै माक्र्सवादको फरक अभ्यासको वकालत गरेका थिए । उनी सोभियत संघले १९५६ मा हंगेरीमा गरेको हस्तक्षेपका विरुद्ध उभिएका थिए । राजनीतिक उतारचढावबीच उनी एकजना शक्तिशाली माक्र्सवादी विचारक र लेखक रहेका थिए । अर्थोडक्स माक्र्सवादीहरूभन्दा भिन्न उनका चिन्तनले समकालीन माक्र्सवादमा रहेका बहसलाई प्रेरणा दिन्छन् । उनैको इतिहास मेट्न र उनका अप्रकाशित आलेखसहित सम्पूर्ण अभिलेख नष्ट गर्न हंगेरीयन सरकार लागिपरेको छ । हंगेरियाली शासक इतिहास भइसकेको एउटा चिन्तक र विचारकका पदचिह्न र कामबाट अहिले पनि त्रसित छ । शासकहरूको मतिभ्रमको योभन्दा ठूलो उदाहरण के खोज्न सकिन्छ र ?

मिथ, समाज र ध्रुवसत्य
इतिहासमा आफ्नो वैचारिक प्रस्थापना र शासकीय स्वार्थलाई भरथेग गर्न आफूअघिको इतिहासको अनुकूलन गर्ने र आफूअनुकूलका मिथहरू स्थापित गर्ने गजब परिपाटी छ । जस्तो पशुपतिको मृगस्थलीमा शिवपार्वतीको लीलाका मिथ होऊन् या तनहुँको दमौलीनजिक बनाइएको व्यास गुफा । जंगबहादुरले आफ्नो खस क्षेत्रीय वंशलाई राजपुत घरानाको शासकीय आकार दिन पण्डितहरूलाई लगाएका थिए र राणा कहलिएका थिए । हजारौँ मिथहरू पहिले पनि बनेका थिए, अहिले पनि बन्दै छन् ।

कसरी मिथहरूले आममानिसको मनोविज्ञान, चालचलन, व्यवहार र संस्कृतिलाई प्रभावित गर्छन् भन्ने कुरा पद्मावतका बारेमा भएको विवादमा राजपुतहरूले उठाएको तर्कले प्रस्ट पार्छ । एउटा काल्पनिक र मिथकीय पात्रलाई आधार बनाएर मच्चाइएको वितण्डा सामान्य थिएन । पद्मावत राजस्थानमा पुजिन्छिन् । तर, उनका बारेमा इतिहासमा तथ्यमा आधारित कुनै सामग्री छैन । मिथकीय पात्र नै शक्तिशाली बिम्ब बनेर रहेको छ ।

केही दिनअघि ध्रुवसत्य परियार आफ्नो कथासङ्ग्रह कैरन लिएर मलाई भेट्न आइपुगे । तिनलाई मैले अनामनगरको मण्डला थिएटरवरपरका चिया पसलमा आफ्ना साथीहरूसँग अनेक विषयमा बौद्धिक बहस गरिरहेको देख्थेँ । त्यतै यीसँग मेरो चिनजान भएको थियो । स्याङ्जातिर जन्मे हुर्केर काठमाडाैँमा आफ्नो पहिचानका लागि संघर्षरत धु्रवसत्य आफू दलित हुनाका कारण यो समाजले गरेको थिचोमिचो र हेलाहोचोका अनेक सम्झनाका पोका संगालेर बसेका छन् । बाहुन र बाहुनवादको सिकार भएर संवेदना रेटिएका अनेक सम्झना छन् उनीसँग । उनी आफ्नो जीवनले व्यहोरेको अनेक हेपाइका चोटहरूसँग हारेर भागेका छैनन् । बरु तिनै चोट संगालेर तिनैको बिटो बनाएर आगो सल्काउने प्रयासमा छन् । उनको अनुहारमा एउटा गम्भीर प्रकारको आक्रोश देख्छु म । दलितहरूको पक्षमा उभिएर उचनीचको यो परम्परा, यो धार्मिक सांस्कृतिक पाखण्डमाथि प्रहार गरिरहेका यी ध्रुवसत्य परियारका कथामा समकालीन नेपाली समाजमा दलितहरूले व्यहोरेका घोर अपमानका कथा र त्यसको प्रतिरोधका झिल्का पाइन्छन् ।

मलाई पद्मावत सिनेमा र पद्मावतीको कथाका प्रभावहरू देख्दा ध्रुवसत्यका कथाहरू सम्झना आयो । जसरी भारतीय इतिहासमा रानी पद्मावतीको कुनै स्थान त छैन तर उनी राजपुत खान्दान मात्र होइन, भारतीय हिन्दूवादीहरूका लागि ठूलो बिम्ब बनेर बसेकी छिन्, उनको पूजा हुन्छ र मिथकीय व्यक्तित्वको ग्लोरिफिकेसन यति धेरै छ कि उनका बारेमा कुरा काट्नु असम्भव बनाइएको छ । अभिनेत्री स्वरा भास्करले आधुनिक लैंगिक अवधारणाबाट भन्सालीमाथि जोहरको विषयलाई लिएर लेखेको चिठीका कारण भएको प्रहार हेर्दा पनि र स्वयं सिनेमा नहेरी राजपुतहरूले गरेको विरोध देख्दा मिथहरूको शक्ति अहिलेको समयमा पनि कति बलशाली छ भन्ने देखाउँछ ।

समस्याचाहिँ के छ भने हिन्दू कट्टरपन्थमा आधारित भारतीय जनता पार्टीको अन्धराष्ट्रवादले मिथलाई इतिहास बनाउने र इतिहासलाई मिथ बनाउने अभियानलाई विश्वविद्यालयहरू, अभिलेखालयहरू, अनुसन्धान संस्थाहरू, मेडिकल रिसर्च सोसाइटीहरू, धार्मिक सांस्कृतिक केन्द्रहरू जताततै फैलाएको छ । यो विस्तारले अदालतलाई समेत प्रभावित गरिरहेको छ । नेपालमा आर्यखस सभ्यताका बारेमा पछिल्लो समय स्थापित गर्न खोजिएका नजिर र हुँदै नभएका मिथकीय सन्दर्भका आधारमा गरिन लागेको इतिहासको व्याख्याले नयाँ पुस्तालाई वास्तविकताबाट भ्रमको दुनियाँमा लगेर डुबाउने खतरा बढ्दै गएको छ । जसले उचनीचको, विभेदको, वर्चस्व र दमनको सनातन परम्पराको यो या त्यो ढंगले बचाउ गर्न थालेको छ ।

दलितहरूलाई हेप्ने र मानिसका बीच विभेद बढाउने सांस्कृतिक मूल्यमाथि धाबा बोल्न धु्रवसत्यले मिथकीय कथाहरूको रचना गरेका छन् र तिनै कथाका माध्यमबाट स्थापित मिथकमाथि प्रहार गरेका छन् । नयाँ मिथहरूको सहरामा स्थापित मिथहरूलाई परास्त गर्ने र मानवीय समानताका पक्षमा वकालत गर्ने उनको प्रयास गज्जबको छ । कतिपय कथा छिपछिपे लागे पनि उनले मिथकीय पात्र र समकालीन नेपाली राजनीतिका सन्दर्भ तथा पात्रहरूलाई मिसमास पारेर समयचेतमाथि हस्तक्षेप गर्ने प्रयास गरेका छन् । आन्दोलन या क्रान्ति अथवा राजनीति र शक्तिमा रहेका पाखण्डहरूलाई भण्डाफोर गर्ने प्रयास गरेका छन् । नेपालका सन्दर्भमा यो नयाँखाले प्रयोग हो, जुन परियारको कथामा देखिएको छ, जुन चाखलाग्दो छ । उनले निरन्तर कथा लेख्नेछन् र आफ्नो अलग पहिचान बनाउनेछन् भन्ने आशा गर्न सकिन्छ । म ध्रुवसत्यले अहिलेको नेपाली समाजको मुख्य अन्तरविरोधमाथि गरिरहेका प्रहारबाट आशावादी बनेको छु ।

तपाईको प्रतिक्रिया