राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमा निस्किए मुख्यमन्त्री - Naya Patrika
eNaya Patrika
  • ePaper

राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमा निस्किए मुख्यमन्त्री

७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीका संचालनमा रहेका राष्ट्रिय गौरवका दुई ठूला योजनाको अनुगमन गरेका छन् । उनले लम्की–चुहा नगरपालिकाको चिसापानीमा निर्माणाधिन रानी–जमरा–कुलरिया सिंचाई आयोजना र बर्दगोरिया गाउँपालिकाको बौनियास्थित सेती लोकमार्गको अनुगमन गरेका हुन् ।

प्रदेश सरकारका तीन जना मन्त्रीसहित अनुगमनमा गएका मुख्यमन्त्री भट्टले आयोजनाको प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा आयोजनाका अधिकारीहरुसंग जानकारी लिएका थिए । रानी– जमरा–कुलरिया सिंचाई आयोजना निर्माणले कृषि क्षेत्रमा ठूलो सहयोग पुग्ने भएकाले आयोजनाको काममा ढिलाई गर्न नहुने मुख्यमन्त्री भट्टले सो अवसरमा बताए ।

‘आयोजना निर्माणमा कुनै समस्या देखिए समाधानका लागि हामीले केन्द्र सरकारसंग पहल गर्छौं । तर आयोजनाको काममा ढिलाई हुनु हुँदैन ।’ अनुगमनका क्रममा कर्मचारीसंगको छलफलमा मुख्यमन्त्री भट्टले भने, ‘जतिसक्दो चाडो सक्ने गरि काम गर्नोस्, निर्माणमा प्रदेश सरकारकाले आवश्यक सहयोग गर्छ ।’

आयोजनाका निमित्त प्रमुख बाबुराम सुवेदीले आयोजनाको काम करिब ७५ प्रतिशत सम्पन्न भईसकेको जानकारी दिएका थिए । आयोजना अन्तरगत लम्कीदेखि कान्द्रासम्मको नहरमा ३ मेगावाट विद्युत उत्पादनको तयारी भईरहेको समेत उनले जानकारी दिए ।

यस्तै बौनियाबाट शुरु हुने सेती लोकमार्गको बौनिया खण्डको पनि मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेको छ । वातावरणीय प्रभाव अध्ययन मूल्यांकन हुन नसक्दा रुख कटानको अनुमति नपाउनु, जग्गाको विवादजस्ता कारणले लोकमार्गको निर्माण कार्य अगाडि बढ्न नसकेको देखिएको अनुगमनपछि कुरा गर्दै मुख्यमन्त्री भट्टले बताए ।

‘लोेकमार्गमा ईआईएको समस्या रहेछ । केही ठाउँमा जग्गाको विवाद पनि देखियो ।’ मुख्यमन्त्री भट्टले भने, ‘रोकिएको आयोजनाको काम अगाडि बढाउनका लागि केन्द्र सरकारसंग समन्वय गर्छौंं ।’ यस क्षेत्रका ठूला आयोजनाहरुमा कहाँ के समस्या छ भनेर बुझ्नका लागि अनुगमन थालिएको उनले बताए । प्रदेश स्तरमा समाधान हुने समस्याको समाधान गरिने र कतिपय विषयमा केन्द्र सरकारसंग समन्वय गरिने मुख्यमन्त्री भट्टले बताए ।

मुख्यमन्त्रीसहितको टोलीले चुहामा रहेको बाशुलिङ सुगर मिलको पनि निरिक्षण गरेका छन् । द्धन्द्धकालमा बन्द भएको यस क्षेत्रकै सबै भन्दा ठूलो उक्त कारखाना संचालनका लागि पटक–पटक प्रयास भए पनि संचालनमा आउन सकेको छैन । मिल पुनः संचालनमा ल्याउन सकिने बारे केन्द्र सरकारसंग कुरा गर्ने मुख्यमन्त्री भट्टले बताए ।

मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी योजनाको अनुगमनमा गएका थिए । प्रदेश सरकारको मन्त्रीपरिषदको पहिलो बैठकले यस क्षेत्रमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुको काम समयमै सम्पन्न गर्न केन्द्र सरकारसँग पहल गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया