logo

bar

कर्मचारीको अभाव झेल्दै प्रदेश सरकार, २ मन्त्रालयमा शून्य कर्मचारी

सुदीप शिवाकोटी हेटौंडा, २ फागुन | फागुन ०२, २०७४

प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा स्थापना गरिएका मन्त्रालयमा समयमै कर्मचारी नआउँदा दैनिक काममा प्रभाव परेको छ । राजधानी हेटौंडामा स्थापना गरिएका मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले कर्मचारी खटाएपनि अधिकांश कर्मचारी हाजिर हुन नआइपुग्दा दैनिक कामसमेत प्रभावित भएकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि मन्त्री, सचिवसहित दुई सय १९ कर्मचारी दरबन्दी रहने व्यवस्था भएपनि हालसम्म ३० जना कर्मचारी मात्र हाजिर भएका छन् ।

जसमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८, आर्थिक मामिला तथा योजना विकास मन्त्रालयमा ३, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ५, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ६ र प्रदेश सभा सचिवालयमा ४ जना कर्मचारी हाजिर भएर काम गरिरहेका छन् ।

तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री र सचिवसहित २१, आर्थिक मामिला तथा योजना विकासमा मन्त्री सचिवसहित १८, आन्तरिक मामिला तथा कानूनमा मन्त्री सचिवसहित ४१, भूमि व्यवस्था, कृषि तथा सहकारीमा मन्त्री सचिवसहित २९, उद्योग पर्यटन तथा वन वातावरणमा २९, सामाजिक विकासमा ३०, भौतिक पूर्वाधार विकासमा २४ र प्रदेश सभा सचिवालया २७ कर्मचारीको दरबन्दी रहेको छ ।

दरबन्दीका कर्मचारीहरुलाई पत्र हातमा थमाएपनि हाजिर हुन नआइपुग्दा मन्त्रालय संचालन र व्यवस्थापनमा कठिनाइ भएको प्रमुख सचिव रेश्मीराज पाण्डेले बताए । उनले सबै मन्त्रालय स्थापना गरिएको छ तर, कर्मचारी अभावहुँदा मन्त्रालय समस्या झेल्न बाध्य भएको गुनासो गरे । हामीले कर्मचारी समयमै हाजिर हुन बारम्बार ताकेता गरेका छौं प्रमुख सचिव पाण्डेले भने सामान्य प्रशासनले कर्मचारी खटाएपनि हालसम्म अधिकांश कर्मचारी हाजिर भएका
छैनन् ।

दुई मन्त्रालयमा शून्य कर्मचारी

प्रदेश सभा बैठक सञ्चालन, मुख्यमन्त्री, सभामुख, उपसभामुख, दुई मन्त्री चयन र सबै मन्त्रालय स्थापना भइसक्दा पनि दुई मन्त्रालयमा कोहि कर्मचारी पनि हाजिर भएका छैनन् ।

सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कोहि कर्मचारी नहुँदा मन्त्रालयको दैनिक कामकाजसमेत सुरु भएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव स्थापितले सपथ ग्रहण लिएपछि मन्त्रालयको तयारी र कर्मचारी नभएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सपथ लिए र घर फर्किए ।

उनले कर्मचारी नभएपछि आफ्नो कुनै काम नभएकोले काठमाडौं फर्किएको बताएका छन् । कोहि कर्मचारी नभएपछि काठमाडौं फर्किएको हँु, मन्त्री स्थापितले भने कर्मचारी आउनासाथ म पनि मन्त्रालयमा आउँछु ।

श्रम कार्यालयको भवनमा स्थापना गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतबारसम्म सचिव जीवछ मण्डल हाजिर हुने निश्चित भइसकेको प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका कर्मचारी बेखबर

क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका लागि खटाइएको कर्मचारी हालसम्म बेखबर छन् सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी खटाएपनि हालसम्म सचिवसहित सबै कर्मचारी बेखबर रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्का सचिव रमेशप्रसाद शिवाकोटीले जानकारी दिए ।

उनले हालसम्म सामान्य प्रशासनले कर्मचारी खटाएको जानकारी दिए पनि के नाम थरका कर्मचारी आउने हो भन्ने समेत बेखबर रहेको बताए । हामी निरन्तर सम्पर्क छौं, तर, कर्मचारी कहिले र कोको आउँछने भन्ने खबर भएको छैन । सामाजिक विकास मन्त्रालय स्थापना गरेपनि दैनिक काम सुरुवात नै भएको छैन भने मन्त्रीको चर्चा समेत भएको छैन ।

कर्मचारी अभावले जमरकट्टेल र स्थापित घर फर्किए

कर्मचारी अभावका कारण चयन भएका दुबै मन्त्री घर फर्किएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित दुबै मन्त्री सपथ ग्रहण र पद वहालीपछि घर फर्किएका हुन् ।

स्थापितको मन्त्रालयमा कोहि कर्मचारी आएका छैनन भने जमरकट्टेको मन्त्रालयमा ४१ कर्मचारी मध्ये ४ जनामात्र हाजिर भएका छन् । कर्मचारी काम भएका कारण मन्त्रालय व्यवस्थापन र दैनिक काम संचालनमा प्रभाव परेपछि पूर्ण तयारीपछि मात्र मन्त्रालय आउने गरी घर गएका हुन् ।
गाडीको समस्या पनि उस्तै सातै मन्त्रालय स्थापना र पाँच मन्त्रालय सञ्चालन भइसक्दा पनि माग अनुसार गाडी नहुँदा समस्या भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आवश्यक गाडी माग गरेको हप्तादिन वितिसक्दा पनि गाडी हेटौंडा नआइपुग्दा समस्या भएको हो । कार्यालयले मन्त्री, सचिव, उपसचिव र मन्त्रालयका लागि ६९ वटा गाडी माग गरेपनि हालसम्म करिब एक दर्जन गाडी मात्र उपलब्ध भएको छ ।

क्षेत्रीय प्रशासन मार्फत १६ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर जिल्लास्थितका कार्यालयहरुसँग गाडी सहयोग माग गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्का सचिव रमेशप्रसाद शिवाकोटीले जानकारी दिए ।

उनले उपलब्ध भएका गाडी आउँदाआउँदा बाटोमा बिग्रिएको, थोत्रो र चालक नहुँदा निकै समस्या झेल्नु परेको गुनसो गरे । मन्त्रीज्यू र सचिवहरुलाई राम्रा गाडी उपलब्ध गराउन सकेको छैन प्रमुख सचिव पाण्डेले भने निकै समस्या झेल्नु परेका छ, जिल्ला कार्यालयसँग गाडी सहयोग माग गरिएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्णय ओझेलमा
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पाँच मन्त्रालयबाट गाडी उपलब्ध गराउन निर्णय गरेर निर्देशन दिएपनि हालसम्म ती गाडी आइपुगेको छैन । कार्यालयले कृषि विकास, महिला बालबालिका तथा समाज कल्याण, वन तथा भू–संरक्षण, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शिक्षा मन्त्रालयलाई गाडी उपलब्ध गराउन पत्र काटेरै निर्देशन दिएपनि हालसम्म कुनै गाडी नआएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

कार्यालयले माघ २२ गते सबै प्रदेशमा मर्मत नगर्नुपर्ने भए २ दिन र मर्मत गर्नुपर्ने भए गरेर ७ दिनभित्र तोकिएको गाडी तोकिएको प्रदेशमा पठाउन निर्देशन दिएको थियो । कार्यालयले प्रदेश नम्बर ३ का लागि कृषि विकासबाट कार १, जीप ३, पिकअप ३ र बलेनो १ वटा, महिला बालबालिका तथा समाज कल्याणबाट टाटासुमो १, वन तथा भू–संरक्षणबाट कार २, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थाबाट पिकअप १ र शिक्षा मन्त्रालयबाट जीप १ वटा उपलब्ध गराउन पत्र काटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु