logo

bar

कृषकलाई पावर ट्रिलर उपहार

लक्ष्मी काफ्ले झापा, २ फागुन | फागुन ०२, २०७४

भद्रपुरका एक दर्जन कृषकलाई विभिन्न किसिमका आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । कृषि क्षेत्रको विकास गर्दै उत्पादकत्व बढाउने योजनासहित कृषि क्षेत्रमा लगानी गर्दै आएको भद्रपुर नगरपालिकाको कृषि विकास शाखामार्फत् कृषकलाई खेत जोतखन र सिँचाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

०७४÷०७५ का लागि कृषिमा विनियोजन गरिएको बजेटअनुसार सो सामग्री प्रदान गरिएको कृषि विकास शाखा प्रमुख प्रसार अधिकृत शेषराज पौडेलले जानकारी दिए । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर वडा नम्बर ७ का अध्यक्ष एवम् नगरपालिकाको आर्थिक समितिका संयोजक विनोदप्रसाद पोखरेल, नगर कार्यपालिका सदस्य एवम् सामाजिक समितिकी संयोजक मित्रा भट्टराई, कार्यपालिका सदस्य कौशिला अधिकारीले संयुक्त रुपमा किसानलाई ती सामग्री हस्तान्तरण गरे ।

चारजना कृषक र एउटा सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावर ट्रिलर प्राप्त गरेका छन् भने ९ जना कृषकलाई सिँचाईका लागि बोरिङ मोटर शतप्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।
पावर ट्रिलर प्राप्त गर्ने किसानमा भद्रपुर–७ का मेघनाथ निरौला, भद्रपुर १ का अमरबहादुर राई र नन्दलाल गौतम तथा भद्रपुर–४ का मदनबहादुर थापा रहेका छन् । पावर ट्रिलरको मूल्य एउटाको एक लाख ९७ हजार रुपैयाँ रहेको अधिकृत पौडेलले जानकारी दिए ।

७ नम्बर वडासचिव मनकुमार डाँगीले सञ्चालन गरेको कार्यक्रमको पनि अध्यक्षता गरिरहेका नगर प्रमुख श्रेष्ठले वितरित कृषि सामग्रीको भरपूर उपयोग र सदुपयोग गर्न प्राप्तकर्ता किसानहरुलाई आग्रह गरे ।

नगरपालिकाले कृषिमा आधुनिकीकरणलाई प्राथमिकता दिएको उल्लेख गर्दै श्रेष्ठले कृषिमा लाग्न नगरवासीमा अनुरोध गरे । ‘नगरको समृद्धि कृषिबाट सम्भव छ’, उनले भने, ‘नगरपालिकाले भू–उपयोग नीति अवलम्बन गरेको छ, सोहीअनुसार कृषिका नमूना परियोजनाहरु पनि सञ्चालन गरिनेछ ।’

तपाईको प्रतिक्रिया