logo

bar

नेपाल सामु क्यानडाको १९५ रनको लक्ष्य, बसन्तले लिए सर्वाधिक विकेट

नयाँ पत्रिका काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो ।

क्यानडाले सम्पूर्ण ओभर खेल्दै ८ विकेटको क्षतिमा १९४ रन बनाएको हो । खेलमा नेपालका बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिएका थिए भने सन्दिप लामिछानेले २ विकेट, करन केसी र शरद भेषवाकरले समान १/१ विकेट लिएका हुन् ।

क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित  नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् ।

सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।

आजको खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगोसमेत लाग्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन दुईमै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन दुईको शीर्ष दुई स्थानमा रहने टोली विश्वकप छनोट प्रतियोगिताको लागि छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन दुईमै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन दुईबाट तीनमा घटुवा भइसकेको छ ।

तपाईको प्रतिक्रिया