logo

bar

भ्रष्टाचारको अखडा बन्यो नापी कार्यालय

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापा, २ फागुन | फागुन ०२, २०७४

सदरमुकाम चन्द्रगढीमा रहेको नापी कार्यालय भ्रष्टाचारको अखडा बन्दै गएको छ । नापी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग बिना हिच्किचाहट मोलमोलाई गरिरहेको देख्न सकिन्छ ।

कर्मचारीले भने अनुसारको रकम नदिए नापीमा सेवाग्राहीको काम हुँदैन । हुने कामका लागि पनि पटक–पटक कार्यालयसम्म धाउनुपर्ने बाध्यता छ । फायल नक्साका लागि नापी कार्यालय पुगेका काँकडभिट्टाका भेषराज उप्रेतीले कार्यालयका कर्मचारीको मनोमानी देखेर आफू आजित बनेको बताए । एक महिनादेखि धाउँदा धाउँदा आफू हैरान भएको उनले सुनाए ।

‘हामीसँग नक्सा पनि छैन, ब्लू प्रिन्ट पनि छैन,’ उनले भने, ‘त्यसका कारण अर्को दुःख पाइयो, सम्बन्धित निकायमा खबर गर्दा मालपोतमा जा भन्छन् ।’ नापी कार्यालयका कर्मचारीहरुले लेखापढी व्यवसायीलाई प्रयोग गरेर सेवाग्राहीसँग घुस लिन छाडेका छैनन् ।

बिर्तामोड नगरपालिका–४ का किशोर संग्रौला पनि नापी कार्यालयका कर्मचारीप्रति रुष्ट छन् । जग्गा व्यापारी र रकम दिनेको मात्र काम कर्मचारीले गरिदिने हुनाले आफूजस्ता धेरै सेवाग्राही पीडित भएको उनको दुखेसो छ । एकै ठाउँबाट हुने कामका लागि पनि कर्मचारीले अनावश्यक दुःख दिने गरेको उनले बताए । ‘उहाँहरुसँग प्लटिङ गर्नेहरु मात्र आउँछन्, फटाफट काम गरेर जान्छन्,’ उनले भने, ‘हामीजस्ता सर्वसाधारणको काम गर्न ढिलाइ गरिदिन्छन्, यहाँ मात्र होइन, मालपोतमा पनि यस्तै छ ।’

सेवाग्राहीहरु पनि काम छिटो र सहुलियतपूर्ण तरिकाले गराउनका लागि घुस दिन बाध्य भएको देखिन्छ । सेवाग्राहीको भीड हुने नापी कार्यालयमा जग्गा व्यापारीले आफ्नो काम चाँडो गराउन कर्मचारीलाई घुस दिने गर्छन् । कर्मचारीले पनि घुस लिएपछि मात्र काम अघि बढाउँछन् । कर्मचारीको व्यहबारबाट कार्यालय प्रमुख पनि अछुतो छैनन् । उनी कार्यालय समयमा कहिल्यै भेटिदैनन् ।

नापी अधिकृत योगेन्द्रप्रसाद यादव पनि कार्यालयमा बस्दैनन् । नेम प्लेटमा नापी अधिकृत भित्र भनेर लेखिए पनि उनको कार्यकक्ष खाली थियो । प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारी पनि कार्यकक्षमा थिएनन् । यस विषयमा नापी कार्यालय झापाका सूचना अधिकृत तथा नापी अधिकृत बुद्ध लामाले भने आफूहरुबाट गल्ती भएको स्वीकार गरे । आफूहरु सच्चिने क्रममा रहेको भन्दै उनले चित्त बुझ्दो जवाफ दिएनन् । ‘सेवाग्राहीको भिड बढ्दैछ, गुनासाहरु अलिअलि आउँदैछन्, कारबाही पनि अघि बढाइएकै छ,’ उनले भने ।

जग्गाधनीले जग्गा दर्ता गर्नुपर्ने, जग्गा अनिवार्य नाप्नुपर्ने, नयाँ नक्शा लिनुपर्ने र जग्गाको क्षेत्रफल अद्यावधिक गर्नुपर्ने नियम बनाइएको छ । यसो नगरे फिल्डबुक (जग्गाधनी र जग्गाबारे सबै विवरण भएको फाइल) मा नाम खाली हुने भएकाले जग्गाको हकवाला पहिचान नहुने खतरा हुन्छ । जग्गाको मापन फिट, आना, रोपनीबाट वर्गमिटरमा परिवर्तन गर्ने काम पनि चलिरहेको छ । झापा नापी कार्यालयमा भने ब्रह्मलुट मच्चिरहँदासमेत सरोकारवाला पक्ष बोल्दैनन् । कार्यालयभित्र खुल्लमखुल्ला हुने अवैधानिक कामले सधँै प्रत्साहन पाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु