logo

bar

औद्योगिक लगानी बोर्डद्वारा २० अर्ब चिनियाँ लगानी स्वीकृत

नयाँ पत्रिका काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

१०२ मेगावाटको माथिल्लो त्रिशूली २ को निर्माण अगाडि बढ्ने –

सरकारले माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्र्याउने स्वीकृति दिएको छ । औद्योगिक प्रवद्र्धन बोर्डले रसुवामा निर्माण हुने आयोजनालाई २० अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो । सोमबार उद्योगमन्त्री सुनीलबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड

बैठकले हाइड्रो चाइना कर्पोरेसनलाई लगानी अनुमति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले बताए । कर्पोरेसनले बाँकी प्रक्रिया पूरा गरी लगानी गर्न बाटो खुला भएको उनले बताए । हाइड्रो चाइना होङ्सी सिमेन्टपछि चिनियाँ लगानी ल्याउने ठूलो कम्पनी हो । होङ्सीले ३६ अर्ब रुपैयाँ नेपालमा लगानी गरेको थियो । कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ र पार्वतीकुण्ड गाउँपालिका २ र ४ बाट बग्ने त्रिशूली नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्नेछ । हाइड्रो चाइनाले शतप्रतिशत विदेशी लगानीको उक्त जलविद्युत् आयोजना विकास गर्न लागेको हो ।

आयोजना निर्माणका लागि कम्पनीले लगानीपूर्वका सबै काम पूरा गरिसकेको जनाएको छ । आयोजनाको निर्माण ५ वर्षभित्र सम्पन्न गरिसक्ने जनाइएको छ । कम्पनीले यसअघि पुसमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृतिका लागि बोर्डमा प्रस्ताव पेस गरेको थियो । विदेशी लगानी स्वीकृत भएलगत्तै निर्माणको काम सुरु गर्ने हाइड्रो चाइनाले उल्लेख गरेको छ ।

औद्योगिक व्यवसाय ऐनअनुसार दुई करोड रुपैयाँसम्मको लगानी उद्योग विभागले स्वीकृत गर्ने व्यवस्था छ । सोभन्दा माथि १० अर्ब रुपैयाँसम्म औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्ब रुपैयाँभन्दा माथिको लगानी प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । जलविद्युत्को विदेशी लगानी भने ५ सय मेगावाटभन्दा कम क्षमताको औद्योगिक प्रवद्र्धन बोर्ड र त्यसभन्दा माथि मात्रै लगानी बोर्डबाट लगानी स्वीकृत गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु