logo

bar

भन्सार एजेन्टद्वारा १० करोडभन्दा बढी राजस्व अपचलन

गणेश लम्साल/नयाँ पत्रिका विराटनगर, २ फागुन | फागुन ०२, २०७४

गुपचुपमै विराटनगर भन्सारको करोडौँ अपचलनको मुद्दा मिलाउने प्रयास

विराटनगर भन्सारमा भएको १० करोड रूपैयाँभन्दा बढी राजस्व अपचलन आन्तरिक रूपले मिलाउने प्रयास गरिएको छ । भन्सार एजेन्ट सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोराले विराटनगर भन्सारमा रहेको वाणिज्य बैंक शाखामार्फत गरेको करोडौँ भन्सार राजस्व रकम अपचलनसम्बन्धी घटना गुपचुप नै मिलाउने प्रयास थालिएको हो ।

बैंकले आन्तरिक हिसाब फरफारक गर्ने क्रममा एजेन्ट बोहोरा र उनका प्रतिनिधि ललितले जाँचपास गर्दा बुझाउनुपर्ने १० करोडभन्दा बढी राजस्व जम्मा नगरेको पाइएपछि अपचलन भएको रहस्य खुलेको थियो । महिनौँ पहिलेदेखि बैंकको खातामा कागजी रूपमा मात्र रकम बुझाएको देखाएर रकम हिनामिना गरेको खबर सार्वजनिक हुँदा कर्मचारीहरू फस्ने भएकाले गुपचुप मिलाउने प्रयास थालिएको स्रोतको भनाइ छ ।

भन्सार राजस्व बुझाउन रकम क्लियरेन्स गराउँदै आएका उद्योग र कम्पनीले एजेन्टको खातामा हालिसकेकाले अपचलन भएको रकम जम्मा गरिदिन उद्योगहरूले पनि इन्कार गरेका छन् । यसैले बैंक र भन्सार कर्मचारी अब कसरी हिसाब मिलाउने भन्नेबारे संकटमा परेका छन् । केही दिनभित्रै रकम बैंकको खातामा भन्सार रकम जम्मा नगरेमा सबैजना फस्ने भएकाले घटना बाहिर जान नदिन सबै मिली गुपचुप बनाएर बजारमा पैसा संकलन गर्न लागिपरेको स्रोतको दाबी छ ।

एजेन्ट बोहोरा र उनका प्रतिनिधिले विराटनगर भन्सारमा रहेको कम्पनी ट्रान्स नेपाललाई पनि पार्किङ र गोदाम शुल्कको लाखौँ रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, जोगबनी कस्टमलाई पनि १५ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको स्रोतको भनाइ छ । राजस्व अपचलन घटना खुलेपछि विराटनगर भन्सारले एजेन्ट बोहोरा र उनका प्रतिनिधिको कारोबारमा अघोषित रोक लगाएको छ । त्यसैले भन्सार एजेन्ट संघका अध्यक्ष बीजेन्द्र परासरले सो ऐजेन्ट जाँचपासको काममा सहयोग गर्दै आएका छन् । घटना सार्वजनिक भएमा एजेन्ट, बैंक कर्मचारीलगायत धेरै फस्ने भएकाले भन्सार एजेन्ट संघले पनि गुपचुप नै राखेको छ । यो विषयमा विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बीजेन्द्र परासर पनि खुल्न चाहेनन् । एजेन्ट बोहोरा र उनको प्रतिनिधि नभएको समयमा कागजमा सही गरिदिने गरेको तर भन्सारले रोक नलगाएको उनको दाबी छ । अध्यक्ष परासरले भने, ‘हामीले सुनेका मात्र हौँ, यो सम्बन्धित एजेन्ट र बैंकको कुरा भयो, थप जानकारी केही छैन ।’

विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुशील थापाले राजस्व बैंकमार्फत दाखिला हुने भएकाले त्यसबारे भन्सारलाई थाहा नहुने बताए । उनले भने, ‘हामीले आशिकुडाअनुसार जाँचपास गर्ने वस्तुको मूल्य र परिणामबारे जानकारी लिएर दरबन्दीअनुसारको राजस्व तोक्ने र बैंक भौचर प्राप्त भएपछि वस्तु जाँचपास गरिदिने हो । बैंकमा नगद छ–छैन जानकारी हुँदैन ।’

यसरी भयो राजस्व अपचलन
एजेन्ट सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोरा विराटनगर भन्सारमा ठूलो परिमाणमा काम गर्ने एजेन्ट हुन् । भन्सारमा अधिक राजस्व दाखिला गर्न सहयोग पुर्‍याएको भन्दै विराटनगर भन्सारले एजेन्ट बोहोरालाई सम्मान पनि गरेको थियो । ठूला पार्टीको काम गर्ने एजेन्ट भएकाले बैंक र भन्सारले उनीहरूलाई विश्वास गर्दै आएका छन् । सोही विश्वासको फाइदा उठाउँदै एजेन्ट बोहोराले आरती स्ट्रिप्सलगायतका उद्योगहरूको मालवस्तु जाँचपास गराउँदा रकम सोझै आफ्नो खातामा हाल्न लगाउने गरेका थिए । तर, बैंक र भन्सारका कर्मचारीहरूसँग मिलेमतो गरेर कागजी रूपमा मात्र राजस्व दाखिला गर्ने गर्थे । यसरी उद्योग र कम्पनीबाट भन्सार राजस्वका लागि प्राप्त भएको रकम बोहोराले बजारमा लगाउने गरेका थिए, जसबाट प्राप्त आम्दानीको अंश बैंक र भन्सारका कर्मचारीहरूसँग बाँडफाँड गर्दै आएका थिए । मधेस आन्दोलनलगायत विभिन्न बन्दहडतालको अवस्था देखाउँदै उनले बैंकमा फरफारक गर्नुपर्ने रकम पनि बढाउँदै लगेका थिए । ढुकुटीमा जम्मा गर्नुपर्ने रकम १० करोडभन्दा बढी नाघेपछि भने बैंक कर्मचारीले उनलाई ताकेता गर्न सुरु गरे । भन्सार राजस्व अपचलनको यो घटना करिब चार महिनादेखि आन्तरिक रूपमै रहेको छ । तर, ढाकछोप हुँदै आए पनि करोडौँ रकम जम्मा भएको नदेखिएपछि बैंकका कर्मचारीहरू आत्तिन पुगेका थिए । कडा ताकेता गरेर एजेन्ट बोहोराले बक्यौता रकम दाखिला गराउन चेक दिए पनि त्यो बाउन्स हुँदा रकम पूर्ति हुन सकेको छैन । यता, विराटनगर भन्सारमा अधिक राजस्व बुझाउँदै आएको मोरङको बूढीगंगा गाउँपालिका २ स्थित आरती स्ट्रिप्सलगायत उद्योगले भने जाँचपास गराउने आधिकारिक एजेन्टको खातामा पैसा पठाइसकेकाले रकम जम्मा गरिदिन बैंकले गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु