logo

bar

आज डिभिजन–२को निर्णायक दिन : क्यानडालाई हराउनैपर्ने दबाबमा नेपाल

नयाँ पत्रिका काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा बुधबार (आज) क्यानडाको सामना गर्दै छ । एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनका लागि क्यानडालाई पराजित गर्नैपर्ने दबाबमा नेपाल मैदानमा उत्रँदै छ ।

मंगलबार घरेलु टोली नामिबियाले केन्यालाई ८ विकेटले पराजित गरेपछि नेपाल तेस्रो स्थानमा धकेलियो । नामिबिया नेपालभन्दा राम्रो रनरेटमा रहेकाले नेपाललाई क्यानडाविरुद्ध जितको विकल्प हुनेछैन । बुधबार नामिबियाले युएईको सामना गर्नेछ । युएईको पनि ४ अंक छ । राम्रो रनरेट रहेका कारण युएईले नामिबियालाई हराएको खण्डमा र नेपाल हारेको अवस्थामा समेत नेपाल डिभिजन टुमा नै रहने भएकाले क्यानडालाई हराउनैपर्ने अवस्थामा नेपाल रहेको हो ।

प्रतियोगितामा नेपाल तीन खेलमा जित निकाल्दै अघिल्लो चरणको आशालाई कायमै राख्न सफल भएको छ । बुधबारको निर्णयक दिन अघिसम्म क्यानडा, नामिबिया, नेपाल र युएई चारै टिमको अघिल्लो चरण सम्भावना कायम रहँदा विश्वकप यात्रा तय गर्न बुधबारका खेलहरू निर्णयक हुनेछन् ।

२०१५ पछि पहिलो भेट
नेपाल र क्यानडा अन्य टिमको तुलनामा एक–अर्काविरुद्ध कम परिचित छन् । २०१५ पछि क्यानडा र नेपाल एक–अर्काविरुद्ध भिडेका छैनन् । विश्वकपसम्मको अनुभव बटुलिसकेको क्यानडासँग नेपालले पछिल्लो चार वर्षमा दुईपटक प्रतिस्पर्धा गरेको छ । दुवै टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दा दुवैले एकएक खेलको नतिजा आफ्नो पक्षमा पारेका छन् ।

२०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, २०१५ मा नामिबियामा नै भएको डिभिजन टु मा नेपालले क्यानडालाई सात विकेटले पराजित गर्दै पछिल्लोपटक आफूलाई क्यानडाभन्दा बलियो सावित गर्न सफल भयो । बुधबार भने दुवै टिमका लागि विश्वकप यात्राको निर्णायक दिनका रूपमा रहनेछ ।

क्यानडालाई हराउने विश्वास छ

अन्तिम खेलअघि नेपाली टिमका प्रशिक्षक जगत टमाटाले यसअघिको प्रदर्शन उतरचढावपूर्ण भए पनि क्यानडाविरुद्ध जित निकाल्ने बताए । उनले निर्णायक खेल भएकाले टिमले विश्वकप छनोटको अन्तिम खुड्किलोका रूपमा क्यानडाविरुद्धको खेललाई लिएकाले सोहीअनुसार प्रदर्शन गर्ने बताए । उनले भने, ‘हामीले क्यानडालाई हराउनकै लागि मैदानमा उत्रन्छौँ । यस्तोमा बलिङमा कुनै चिन्ता नभए पनि ब्याटिङमा संयमता अपनाउँदै जित निकाल्छौँ ।’ त्यस्तै, कप्तान पारस खड्काले क्यानडा पनि टफ टिम भएको र नेपाललाई जितबाहेक विकल्प नभएकाले खुलेर खेल्ने बताए । उनले भने, ‘जित्नुको विकल्प नभएपछि सोहीअनुसार खुलेर खेल्नुको विकल्प छैन । क्यानडाविरुद्ध निर्णायक भएकाले पनि सबैले शतप्रतिशत इफोर्ट लगाउछौँ ।’

ब्याटिङ चुनौती कायमै
नेपालले सुरुवातबाटै ब्याटिङमा समस्या भोग्दै आएकाले बुधबार पनि नेपालका लागि मुख्य चुनौतीका रूपमा ब्याटिङ नै रहनेछ । विशेष गरेर ओपनिङ साझेदारी राम्रो नहुँदा पछिल्ला क्रमका ब्याट्सम्यानहरू दबाबमा पर्दै आएका छन् । अघिल्ला तीन खेलमा दिलीपनाथ र ज्ञानेन्द्रको ओपनिङ जोडी चल्न नसक्दा अनीललाई चौथो खेलमा मौका दिएको थियो । तर, अनील पनि चल्न नसकेपछि ओपनिङमा नेपालको खराब लय कायम रहेको छ । जुन चुनौती नेपालका लागि क्यानडाविरुद्ध टाउको दुखाइ बन्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु