logo

bar

१७ पटक चुचुरो चुमेका सोनामको अनुभव : सगरमाथा शिखर बादलमाथिको स्वर्ग

हरिशरण खनाल काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

दोर्जी सोनाम ग्याल्जेन शेर्पा अहिले ३७ वर्षका भए । मनासलु, मकालु, आमादब्लमजस्ता हिमालको सफल आरोहण गरिसकेका उनले १७ पटक सगरमाथा चढिसकेका छन् । उनी एक सिजनमा दुई र कहिलेकाहीँ त तीनपटक पनि सगरमाथा चढ्छन् । स्वास्थ्यले साथ दिएमा अझै केही वर्ष सगरमाथा चढ्ने रहर छ, उनमा । आफूले कीर्तिमानको भोकले सगरमाथा नचढे पनि चढ्दै जाँदा भविष्यमा के हुन्छ, बताउन नसक्ने बताउँछन् । अहिलेसम्म सबैभन्दा बढी सगरमाथा चढेको रेकर्ड २१औँ पटकसम्मको छ । शेर्पाले नयाँ पत्रिकाका हरिशरण खनालसँग सगरमाथा आरोहणका कहानी सुनाए:

मेरो घर, पासाङल्हामु गाउँपालिका— ४, खुम्जुङ, फोर्चेमा पर्छ । यो गाउँ समुद्र सतहदेखि झन्डै तीन हजार सात सय ९० मिटरको उचाइमा छ । सायद मैले पहिलोपल्ट आँखा खोल्दा पनि हिमाल नै देखेको थिएँ होला । जब म अलिअलि बुझ्ने भएँ, त्यतिखेर त झनै हिमालले मोहनी लाउने नै भयो । झन् गाउँका अग्रजहरू सर्वोच्च शिखर सगरमाथा र अन्य अनेकौँ चुचुरा चढेको कुराकानी सुन्दा हिमाल त चढ्नैपर्ने रहेछजस्तो लागिरहन्थ्यो । हाम्रो गाउँबाट चौँरी चराउन गए पनि, दाउरा बटुल्न गए पनि, साथीभाइ तथा आफन्त जसका घरमा जता गए पनि हिमालले हामीलाई पछ्याउन छाड्दैनथ्यो ।

यहाँबाट होचा, अग्ला विभिन्न हिमाल नजिकै देखिन्छन् । पुम्दे, थामसेर्कु, थाङसेका, आमादब्लमजस्ता धेरै हिमालले हामीलाई जहिल्यै जिस्काइरहेका हुन्छन् । त्यसैले पनि होला, हिमालसित मेरो निकै गहिरो साइनो गाँसिँदै गयो । कहिलेकाहीँ त हिमाल चढ्न जाने गाउँघरका अग्रजको पछि लागेर जान पाए पनि हुन्थ्योजस्तो लाग्थ्यो । तर, न परिवारले जान दिन्थ्यो, न त ती अग्रजले नै लान्थे । फेरि, हिमालले हाम्रो खुम्जुङमा जहिल्यै खुसी ल्याउँछ भन्ने पनि त थिएन । कहिलेकाहीँ त हिमाल आरोहणमा गएका कुनै कुनै अग्रज कहिल्यै फर्किन्नथे । उनीहरू नफर्केपछि गाउँमा रुवाबासी चल्थ्यो । सगरमाथाले स्वदेशी तथा विदेशी धेरैलाई हँसाएको छ भने पासाङल्हामु, बाबुछिरीजस्ता धेरै स्वदेशी अग्रज तथा विदेशी आरोहीका परिवारलाई धर्धरी रुवाएको पनि छ । सगरमाथा आफैँले दिएको हाँसो आफैँले खोस्न पनि सक्छ ।

०००
बुबा पनि हिमालमै ट्रेकिङ गर्नुहुन्थ्यो । उहाँले हिमाल भने चढ्नुभएन । तैपनि, उहाँबाटै प्रेरित भएर मेरा पाइला पनि त्यतै सोझिए । २१ वर्षको उमेरमा पहिलोपल्ट सन् २००१ मा म सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएँ । तर, त्यसअघि अन्य कुनै हिमाल नचढेको हुनाले अनुभव थिएन । पहिलो प्रयास सफल भएन । आठ हजार पाँच सय मिटरको उचाइमा पुगेर फर्किनुपर्‍यो । पहिलो प्रयास असफल भएपछि मैले सन् २००२ मा सगरमाथा चढ्ने प्रयासै गरिनँ । केही तयारीपछि पुनः २००३ मा सगरमाथा आरोहणमा गएँ । यसपटक भने सफल भएरै मात्र फर्किने अठोट थियो । नभन्दै सफल भएँ । पहिलो सफलतापछि म फेरि एक साताकै अन्तरालमा दोस्रोपटक पनि सगरमाथा आरोहणमा गएँ । यसपटक पनि म सफल भएँ । सायद सफलताले मान्छेमा थप सफलताको भोक जगाउँदो रहेछ कि ? त्यसैले त्यसयता २००८ बाहेक २०१३ सम्म लगातार सगरमाथा चढ्दै आएँ । कुनै वर्षमा एकचोटि, कुनै वर्षमा दुईचोटि र सन् २००७ मा चाहिँ म तीनचोटि पनि सगरमाथाको चुचुरोमा पुगेको छु । यस क्रममा १६ पटक सगरमाथा चढेँ । सुरुका नौपटकचाहिँ म तिब्बततर्फबाट चढेँ भने बाँकी नेपालतर्फबाट ।

२०१३ को आरोहणपछि गाउँकै गुम्बा निर्माणको काममा स्वयंसेवा गर्दै गर्दा म ठूलो दुर्घटनामा परेँ । टाउकोमा निकै ठूलो चोट लागेर म लामो समय बेहोस अवस्थामै रहेँ । आफन्तले हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याएर टाउकाको मेजर अप्रेसन गराएछन् । होसमा आएपछि पनि लामो समय अस्पतालमै बस्नुपर्‍यो । दुर्घटनाका कारण एउटा कानको श्रवण शक्ति पूर्णतः गुम्यो । यस दुर्घटनापछि केही वर्ष हिमाल आरोहणको क्रम रोकियो । फेरि २०१७ मा १७औँ पटक सगरमाथा आरोहण गरेँ । अहिले ३७ वर्षको उमेरमा छु । सायद, स्वास्थ्यले साथ दियो भने अझै केही वर्ष सगरमाथा चढ्छु होला । म कीर्तिमानको लोभले सगरमाथा चढिरहेको छैन । तर, भविष्यमा चढ्दै जाँदा के हुन्छ भन्न सकिन्न । सगरमाथा आरोहणमा कीर्तिमान बनाउँछु भन्दैमा बन्ने र बनाउँदिनँ भन्दैमा नबन्ने हुँदैन । आरोहणको कीर्तिमान त आफैँ बनिरहेको हुन्छ ।

०००
पहिलोचोटि सगरमाथाको शिखरमा पुग्दा स्वर्ग यतै कतै होलाजस्तो लागेको थियो । जता हे¥यो, त्यतै होचैहोचा सेता हिमालैहिमाल हाँसिरहेका थिए । तलतिर सेतो कपासजस्तै बाक्लो बादल थियो । आफू बादलमाथि पुगेको देख्दा लागेको खुसी त बयान गर्नै सकिन्न । त्यहाँ पुगेपछि मैले भगवान्लाई धन्यवाद दिएँ । घरपरिवार र आफन्तलाई सम्झिएँ । चुचुरोमा राम्ररी मिलेर बस्ने हो भने ५०–६० जनासम्म अडिन सकिन्छ । तर, त्यसका लागि त्यहाँ टाँगिएको डोरी भने समात्नैपर्छ । कहिलेकाहीँ चुचुरोमा नपुगी फर्के पनि त्यसको के नै प्रमाण हुन्छ र भनेको पनि सुन्ने गरिन्छ । तर, चुचुरोमा विभिन्न आरोहीले छाडेका चिनो र अन्य सामग्री आदिले गर्दा त्यहाँ खिचेका तस्बिर हेरेरै थाहा हुन्छ । त्यसैले, कसैले पनि चुचुरोमा नपुगी पुगेको दाबी गर्नै सक्दैन ।

०००
सगरमाथा आरोहण त्यति सजिलो काम पनि होइन र अत्यन्त अप्ठ्यारो काम पनि होइन । अझ हाई अल्टिच्युडमै जन्मेर त्यहीँ हुर्केका हामी नेपालीलाई त त्यति कठिन काम पक्कै होइन । तैपनि, जोखिम भने पर्याप्त छ । आरोहण टिम वर्क हो । कसैको सानो गल्तीले पनि कहिलकाहीँ ठूलै दुर्घटना हुन सक्छ । हिमालमा मौसमको भर हुँदैन । मौसमकै कारण पनि ज्यानै जोखिममा पर्न सक्नेसम्मका खतरा जतिखेर पनि रहन्छ । तैपनि, अनुशासित भई आरोहणका नियम अनुसरण गर्दै चढ्दा खासै समस्या आउँदैन । तर, पछिल्लो सयम विश्वमै चुनौती बन्दै गएको ग्लोबल वार्मिङले भने समस्या थपिरहेको छ । हिमालको हिउँ पग्लिने क्रम बढेको छ । हिमालको हिउँ घट्दै जान थालेको छ । असमयमै हिउँ पग्लिँदा दुर्घटनाको जोखिम पनि बढ्न सक्छ । यसको प्रभाव अहिले थोरै मात्र देखिन थालेको भए पनि बिस्तारै यो समस्या भयावह हुन सक्ने खतरा छ । यो नेपाल एक्लैले समाधान गर्न सक्ने समस्या होइन । विश्व नै एकजुट भएर यसको समाधान खोज्नुपर्छ ।

०००
सगरमाथा शिखरको मौसम एकदमै छिटोछिटो परिवर्तन भइरहेको हुन्छ । यहाँ हावा चलेको समयमा मान्छे नै उडाउन सक्ने जोखिम पनि हुन्छ । कहिलकाहीँ टेन्ट पनि उडाइदिन्छ । हावा चलेको समयमा चुचुरोको तापक्रम माइनस ४० डिग्रीसम्म पुगेको हुन्छ । यही मौसमकै उतारचढावका कारण आरोहणमा लामो समय लाग्न पनि सक्छ । जतिसुकै चिसो भए पनि सगरमाथा आरोहणमा ६ हजार पाँच सय मिटरसम्म घरमाजस्तै सामान्य खाना नै खाइन्छ । तल तयार गरेर लगेको खाना माथिल्ला क्याम्पहरूमा तताउँदै खाइन्छ । हिउँ पगालेर पानी उमालिन्छ र त्यही पिइन्छ । हावा चलेको छैन भने सामान्य रूपमै शौच गर्न सकिन्छ ।


सगरमाथा आरोहण निकै खर्चिलो काम हो । एउटा आरोहीले अभियानको सुरुआतदेखि आरोहण सकेर फर्किंदासम्म झन्डै दुई महिनाको अवधिमा उसको ८० हजारदेखि एक लाख डलरभन्दा बढी खर्च भइसक्छ । हामीजस्ता कमजोर आर्थिक हैसियत भएकाले आफ्नै प्रयासमा सगरमाथा चढ्न सम्भव छैन । त्यसैले हामी प्रायः विदेशी आरोहण दलको पथप्रदर्शक वा सहयोगी भएर आरोहण गर्छौं । यसो गर्दा हाम्रो खर्च पनि विदेशी आरोहण दलले नै बेहोर्छ र हामीलाई केही आर्थिक लाभ पनि हुन्छ । सगरमाथा आरोहणमा जाने शेर्पाहरूले धेरै पैसा कमाउँछन् भन्ने आमबुझाइ छ । तर, जोखिमको तुलनामा खासै धेरै कमाइ हुँदैन । त्यत्ति हो, यसबाट बालबच्चा पढाउन र घरखर्च चलाउन पुग्छ ।

०००
पहिलेपहिले सगरमाथा फोहोर हुँदै गएको, आरोहीले छाडेका फोहोरको अलग्गै सगरमाथा बन्न लागेकोजस्ता विषयलाई लिएर निकै आलोचना हुने गथ्र्यो । तर, अहिले सगरमाथा निकै सफा हुँदै गएको छ । वेलावेलामा आयोजना गरिने सगरमाथा सरसफाइ कार्यक्रमले पनि त्यहाँको फोहोर हटाउन मद्दत पुगेको छ भने अहिले त तलबाट माथि जाँदा लगेको सामानबाट निस्केको फोहोर आफूसँगै फिर्ता नल्याई आरोहणको प्रमाणपत्र नै पाइँदैन । त्यसैले पनि हरेक आरोही र आरोहण दलले फोहोर संकलन र त्यसलाई फिर्ता ल्याउने कार्यलाई निकै महत्व दिने गरेका हुनाले सगरमाथा स्वच्छ र सफा हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया