logo

bar

प्रदेश १ को राजधानी विराटनगरबाट सार्न कठिन

कृष्ण कट्टेल र गणेश लम्साल विराटनगर, २ फागुन | फागुन ०२, २०७४

तर, अधिकांश सांसद भन्छन्– विराटनगर अपायक

प्रदेश १ को अस्थायी मुकाम विराटनगर अपायक भएको भन्दै विभिन्न दलका सांसदले अन्यत्र सार्नुपर्ने धारणा अघि सारेका छन् । तर, कुन ठाउँमा मुकाम तोक्ने भन्नेमा सांसदहरूकै मत बाझिएको छ । प्रदेश १ का ९३ मध्ये अधिकांश सांसदले धनकुटा, इटहरी, मोरङकै गोठगाउँमध्ये एक क्षेत्रमा मुकाम तोक्नुपर्ने बताएका छन् । केहीले भने नयाँ क्षेत्रमा मुकाम तोकिनुपर्ने तर्क गरेका छन् ।

प्रदेश १ को मुकाम धनकुटा तोक्नुपर्ने भन्दै केही साताअघि धनकुटावासी आन्दोलित भएका थिए । इटहरीवासीले समेत आफ्नै क्षेत्रमा हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेशको स्थायी मुकाम प्रदेश सभाको दुईतिहाइले मात्रै तोक्न सक्ने भएकाले तत्काल यसबारे निर्णय गर्न सजिलो नभएको सांसदहरूका भनाइ छ ।

को सांसद के भन्छन् ?

मोरङदेखि  धनकुटाको बीचमा
इलामबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद काजीमान कागतेले भूगोलको हिसाबले विराटनगर प्रदेश राजधानीका लागि उपयुक्त नहुने बताए । धनकुटासमेत अपायक पर्ने भन्दै सबै क्षेत्रलाई पायक पर्ने ठाउँ हेरेर मुकाम तोक्नुपर्ने उनको भनाइ छ । ‘विराटनगर बोर्डरको छेउ छ । छिमेकी देशसँगको सिमाना राजधानीसँगै जोडिँदा धेरै विषयको संवेदनशीलतामा असर पर्न सक्छ,’ उनले भने ।

संखुवासभाकी सांसद सरिता थापाले प्रदेश १ को मुकाम विराटनगरदेखि धनकुटाबीचको कुनै भागलाई तोक्नुपर्ने बताइन् । ‘संखुवासभाका जनताका लागि प्रदेश राजधानी सकभर धनकुटा वा संखुवासभामै भएको राम्रो हो । तर, प्रदेश सभाका सदस्यहरूको कम्तीमा दुईतिहाइले विराटनगर र धनकुटाको बीचमा कतै तोक्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद लीला सुब्बाले विराटनगर आफैँमा विकास भएको ठाउँ भएकाले धनकुटालाई मुकाम तोक्नुपर्ने बताए । धनकुटामा समेत सरकारी भवन, पूर्वाधार बनिसकेकाले उतै मुकाम तोकिनुपर्ने उनले बताए । ‘विराटनगरभन्दा धनकुटा हरेक हिसाबमा सुरक्षित ठाउँ हो । मौसम, वातावरण र प्रदेश १ को भौगोलिक हिसाबले धनकुटा उपयुक्त हुन्छ,’ उनले भने ।

चतरा–बराह क्षेत्र उपयुक्त : सांसद राई
खोटाङका सांसद रामकुमार राईले भौगोलिक हिसाबमा मध्यभागमा मुकाम तोक्नुपर्ने बताए । उनले सुनसरीको चतरा–बराह क्षेत्रलाई स्थायी मुकाम तोकेर विकास गर्नुपर्ने बताए । ‘चतरा–बराह क्षेत्रको वरपर बनाउँदा बढी उपयुक्त हुन्छ । विराटनगर अपायक भयो,’ उनले भने ।

सुनसरी कत्तिको उपयुक्त ?
सुनसरीका सांसदहरू जिल्लाकै कुनै ठाउँमा प्रदेश १ को स्थायी मुकाम तोक्ने कसरतमा लागेका छन् । सांसद सर्वध्वज साँवाले स्थायी मुकाम सुनसरीको इटहरी, धरान वा जिल्लाकै कुनै ठाउँ तोक्नुपर्ने बताए । यसबारे आफूले उपसभामुखको निर्वाचन भइसकेपछि प्रदेश सभामा कुरा उठाउने बताए । सुनसरीकी अर्की सांसद सावित्री जोशीले राजधानीका लागि मोरङ जिल्ला उपयुक्त नहुने बताइन् । ‘बोर्डर साइज पर्छ मोरङ । धनकुटामा पनि आन्दोलन भइरहेको छ । त्यहाँ केही मन्त्रालय दिन सकिन्छ । राजधानी इटहरी, धरानको आसपासमा बनाउँदा उपयुक्त हुन्छ,’ उनले भनिन् ।

विजयपुर वा गोठगाउँ
पाँचथरकी सांसद सीता थेवेले विकास भइसकेका सहरी क्षेत्रलाई भन्दा नयाँ ठाउँमा विकास चाहिएकाले मुकाम नयाँ स्थानमा तोकिनुपर्ने बताइन् । प्रदेशको मुकाम सुनसरी र मोरङको बीचभाग विजयपुर वा गोठगाउँतिर तोकिनुपर्ने उनको भनाइ छ ।

ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङले हाल चर्चामा रहेकाभन्दा फरक ठाउँमा प्रदेशको मुकाम तोक्नुपर्ने धारणा व्यक्त गरे । ‘नयाँ संरचना बनाएर नयाँ ठाउँमा राजधानी तोकिनुपर्छ । सुनसरी र मोरङबीचकै कुनै ठाउँ बढी उपयुक्त हुने मेरो बुझाइ छ,’ उनले भने ।

यसकारण विराटनगर नै उपयुक्त
मोरङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने विराटनगर नै राजधानीका लागि उपयुक्त हुने बताएका छन् । कांग्रेस सांसद केदार कार्कीले विकास तथा भौतिक पूर्वाधारको दृष्टिले विराटनगर स्थायी मुकामका लागि उपयुक्त रहेको बताए । मोरङकै अर्का सांसद सूर्यमाराज राईले प्रदेशको राजधानी मोरङबाट सार्न नहुने बताए । उनले गोठगाउँलाई प्रदेशको राजधानी बनाउँदा उपयुक्त हुने बताए । विराटनगरमा यातायात तथा एयरपोर्टको सुविधा रहेकाले राजधानीको उपयुक्त क्षेत्र रहेको उनको बुझाइ छ ।

सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले खानेकुराको सहजता, हवाई यातायातको सुविधालगायतले विराटनगर नै राजधानीका लागि उपयुक्त हुने बताए । ‘यातायात तथा अन्य कुरामा विराटनगर उपयुक्त छ । अन्य ठाउँ हेरी यहाँ केही सस्तो पनि छ,’ उनले भने ।

तरहरा हुन सक्छ
ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद मोहनकुमार खड्काले आफूहरूका लागि तरहरा, गोठगाउँ वा बराह क्षेत्रतिर मुकाम तोकिँदा उपयुक्त हुने बताए । ‘प्रदेश १ को कर्णालीजस्तै ओखलढुंगा देखिन्छ । ओखलढुंगावासीका लागि प्रदेश राजधानी सकभर भौगोलिक हिसाबले नजिक होस् भन्ने नै छ । पुरानो सहरमा भन्दा पनि नयाँ ठाउँमा प्रदेशको मुकाम तोकिँदा उपयुक्त हुन्छ । तरहरा, बराह क्षेत्र, गोठगाउँमध्ये एक ठाउँ प्रदेशको मुकाम तोक्दा राम्रो हुन्छ,’ उनले भने ।

उदयपुरकी सांसद अम्बिका थापाले प्रदेशको अस्थायी मुकाम सुनसरीको तरहरा बनाउँदा उपयुक्त हुने बताइन् । ‘भौगोलिक हिसाबमा सबैलाई पायक पर्ने र विकास पनि भएको क्षेत्र भएकाले तरहरा, गोठगाउँ वा इटहरीलाई प्रदेशको राजधानी बनाउदा उपयुक्त हुन्छ,’ उनले भनिन् । भोजपुरका सांसद सौभाग्य राईले भने भोजपुरकै जरायटारलाई प्रदेश १ को मुकाम तोक्नुपर्ने बताए ।

केही सांसद तटस्थ
संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था छ । प्रदेश १ को स्थायी मुकाम तोक्न ९३ सदस्यीय प्रदेश सभाको कम्तीमा दुईतिहाइ अर्थात् कम्तीमा ६२ जना सांसदको एकमत हुनुपर्छ । प्रदेश १ को राजधानी स्थायी तोक्नेबारे केही सांसद ‘न्युट्रल’ देखिएका छन् । मोरङका सांसद जयराम यादवले प्रदेशको राजधानी तोक्ने विषय प्रदेश सभाको दुईतिहाइ मत आवश्यक पर्ने भएकाले आफूले केही नबोल्ने बताए । ‘प्रदेश सभाको दुईतिहाइले जहाँ तोक्छ, त्यहीँ राजधानी तोकिन्छ । मैले भनेर मात्रै हँुदैन,’ उनले भने ।

झापाका सांसद हीराकुमार थापाले प्रदेश सभाको दुईतिहाइ मतले जहाँ तोक्छ, त्यहीँ प्रदेशको मुकाम रहने बताए । विभिन्न राजनीतिक दलका केही सांसदले भने उपसभामुखको निर्वाचनलगत्तै प्रदेश सभा बैठकमा मुकाम तथा प्रदेशको नामबारे आवाज उठाउने बताउँदै आएका छन् ।

भौतिक पूर्वाधारमा विराटनगर उपयुक्त
विराटनगरमा भौतिक पूर्वाधार तयार रहेकाले अब अस्थायी मुकाम अन्यत्र तोक्न कठिन भएको सांसदहरूको भनाइ छ । क्षेत्रीय विमानस्थल तथा अन्य विकासका पूर्वाधारको दृष्टिले विराटनगरलाई नै स्थायी मुकाम तोकिनुपर्ने एकथरीको तर्क छ । प्रदेश १ को प्रदेश सभामा ६ दलको प्रतिनिधित्व छ । प्रदेश मुकाम तोक्नेबारे दलगतभन्दा क्षेत्रगत धारणा सार्वजनिक हुन थालेको छ ।

प्रदेश राजधानी पुग्न  २ वटा प्रदेश कट्नुपर्ने
प्रदेश १ मा यसअघिको पूर्वाञ्चल विकास क्षेत्रमा भएकामध्ये सिरहा र सप्तरीबाहेक सबै जिल्ला समेटिएको छ । सिरहा र सप्तरी जिल्ला प्रदेश २ मा परेसँगै सोलुखुम्बु, ओखलढुंगा, खोटाङ तथा उदयपुरवासीले प्रदेशको राजधानी पुग्न दुईदेखि तीनवटासम्म प्रदेश भएर जानुपर्ने भएको छ ।

सोलुखुम्बु र ओखलढुंगावासीले प्रदेश १ को कर्णालीका रूपमा आफूलाई उभ्याउने गरेका छन् । ओखलढुंगाका पूर्वी तथा केही पश्चिमी क्षेत्रका जनताले प्रदेशको मुकाम विराटनगर तीनवटा प्रदेश हुँदै आउनुपर्छ । प्रदेश ३ को सिन्धुली हुँदै उदयपुर तथा सिरहा, सप्तरी भएर पुनः प्रदेश १ को सुनसरी भएर विराटनगर पुग्नुपर्ने बाध्यतामा ओखलढुंगा र खोटाङका केही क्षेत्रका बासिन्दा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु