logo

bar

प्रदेश २ मा बिहीबार सरकार गठन हुँदै : राजपासहित सानो आकारको मन्त्रिपरिषद् बन्ने

दिलीप सिंह/हदिश खुद्दार २ फागुन | फागुन ०२, २०७४

लहानमा दिलीप सिंह
जनकपुरमा हदिश खुद्दार

प्रदेश २ मा बिहीबार सरकार गठन हुने भएको छ । मुख्यमन्त्रीका रूपमा फोरम संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार नियुक्त गर्दै छन् । उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिनेछन् । लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

दाबी प्रस्तुत : संघीय समाजवादी फोरम प्रदेश २ संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दी प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसमक्ष आफूलाई मुख्यमन्त्री बनाइयोस् भन्ने दाबी प्रस्तुत गर्दै ।

 

संघीय समाजवादी फोरम र राजपाले प्रदेश सरकार गठनका लागि मंगलबार प्रदेश प्रमुख कायस्थसमक्ष दाबी पेस गरे । दुवै दलले प्रदेश प्रमुखसमक्ष बहुमत पेस गर्दै फोरम दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । राउतले सरकार निर्माणका लागि राजपासहितको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । राजपा दलका नेता जितेन्द्र सोनालले फोरमलाई सरकार निर्माणमा समर्थन गरेको छुट्टाछुट्टै पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् ।

‘सरकार गठनका लागि दाबी पेस भएको छ, अब सरकार निर्माणको प्रक्रिया सुरु भयो भनेर बुझ्दा हुन्छ,’ राजपा नेता सोनालले भने । प्रदेश सभामा १०७ सांसद छन् । सरकार निर्माणका लागि आवश्यक ५४ जनाको समर्थन राउतलाई छ । प्रदेश सभामा फोरमका २९ र राजपाका २५ सांसद छन् ।

प्रदेश प्रमुख कायस्थका स्वकीय सचिव वरुण यादवले बुधबार नै राउतलाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारीमा प्रदेश प्रमुख रहेको बताए । फोरम र राजपाले सोमबार साँझसम्म दाबी पेश गरेको भए प्रदेश प्रमुखले मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । त्यसो हुन नसकेपछि प्रदेश प्रमुख कार्यालयले सोमबार साँझ सूचना प्रकाशित गरी बिहीबारसम्म बहुमत पेस गर्न आह्वान गरेका थिए

फुटबल मैदानमा शपथ
प्रदेशका भावी मुख्यमन्त्री राउतले खुला मैदानमा शपथग्रहण कार्यक्रमको आयोजना गर्न प्रदेश प्रमुख कायस्थलाई आग्रह गरेका थिए । उनको आग्रहका आधारमा प्रदेश प्रमुखले जनकपुर चुरोट कारखानाको फुटबल मैदानमा शपथग्रहण कार्यक्रम गर्न लागेका हुन् । बिहीबार दिउँसो १२ बजे मुख्यमन्त्रीको शपथ हुनेछ ।

को को छन् आकांक्षी ?
प्रदेश २ मा मन्त्री बन्नेको नामबारे चर्चा सुरु भएको छ । प्रदेशमा सरकार बनाउन फोरम र राजपाबीच औपचारिक सहमति भइसकेको छ । सरकार बनाउन दुवै पार्टीबीच मन्त्रालय बाँडफाँडसहित सहमति भएलगत्तै दुवै पार्टीमा मन्त्रीका आकांक्षीहरूले लबिङ थालेका छन् ।

फोरमभित्र सातजनाको नाम मन्त्री बन्ने चर्चामा छ । चर्चामा रहेका सबैजना प्रत्यक्ष निर्वाचित सांसद छन् । फोरमभित्र विजय यादव, शैलेन्द्रप्रसाद साह, सरोजसिंह कुशवाहा, रामअशिष यादव, कौशल यादव, ज्ञानेन्द्रकुमार यादव, योगेन्द्र यादवको नाम चर्चामा छ । जसमध्ये फोरमका कोषाध्यक्षसमेत रहेका विजय यादव मन्त्री बन्ने लगभग पक्काजस्तै छ । स्रोतका अनुसार उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ ।

राजपामा विवाद
प्रदेश सभामा राजपाका २५ सांसद छन् । उनीहरूमध्ये १५ प्रत्यक्ष निर्वाचित र १० जना समानुपातिकबाट छानिएका छन् । राजपा अध्यक्षमण्डलको बैठकमा समानुपातिक सांसदलाई मन्त्री नबनाउने विषय उठेपछि विवाद भएको छ ।

भागबन्डाका आधारमा निर्णय हुने राजपाभित्र महेन्द्रराय यादवले मन्त्रीमा पहिलो चरणमा प्रत्यक्ष चुनाव जितेकालाई प्राथमिकता दिनुपर्ने मत राखेका थिए । तर, अध्यक्षमण्डलका केही नेताले मन्त्री बनाउन चाहेका सांसद समानुपातिक मात्र छन् । त्यसैले मन्त्रीको नाममा सहमति नगरी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर मधेस झरेका छन् ।

स्रोतका अनुसार डिम्पलकुमारीलाई मन्त्री बनाउन अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाको दबाब छ । डिम्पल अनिलकुमार झाकी श्रीमती हुन् । उनी समानुपातिक सांसद हुन् । अध्यक्षमण्डलकै अर्का सदस्य राजकिशोर यादवले समानुपातिक सांसदलाई मन्त्री बनाउन चाहेका छन् । उनले नेत्रविक्रम साहलाई मन्त्री बनाउन दबाब दिएको बुझिएको छ ।

महेन्द्रराय यादवको कोटाबाट रामनरेश राय र शरत्सिंह भण्डारीको कोटाबाट जयनुल रायनले मन्त्रीका लागि आकांक्षा राखेका छन् । राजेन्द्र महतो समूहबाट मनीष सुमनसँगै नवलकिशोर साह र उपेन्द्र महतो पनि मन्त्रीका आकांक्षी देखिएका छन् । तर, राजपाका महासचिव तथा सचिवालय सदस्य सिपी सिंहले मन्त्री बन्नेहरूको नामबारे सचिवालयमा कुनै छलफल नभएको बताए । ‘मन्त्री बन्नेहरूको नाम चर्चा हुँदै छ । तर, औपचारिक रूपमा पार्टी सचिवालयमा छलफल भएको छैन । त्यसैले अहिले को मन्त्री भन्ने टुंगो छैन,’ उनले भने ।

उपसभामुखको निर्वाचनको मिति तोकिने
आज बस्ने प्रदेश सभाको तेस्रो बैठकले उपसभामुखका लागि मिति तोक्ने प्रदेश सचिव पौडेलले जानकारी दिए । उनले उपभासभामुखको निर्वाचन ४ फागुनमा तोकिने कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति भएको बताए ।

उपसभामुख अनुपमा देव हुने
फोरम र राजपाबीच भएको सत्ता समीकरणमा उपसभामुख फोरमको भागमा परेको छ । फोरमले उपसभामुखमा अनुपमा देवको नाम अघि सारेको छ । उपसभामुखमा महिला नै राख्नुपर्ने बाध्यता भएकाले समानुपातिक कोटामा निर्वाचित सप्तरीकी देवको नाम सिफारिस गरेको फोरमका एक नेताले बताए ।

दलका नेता छान्न एमाले र माओवादीलाई सकस
वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रमा संसदीय दलको नेता छान्न सकस भएको छ । प्रदेश सभामा तेस्रो ठूलो दल रहेको एमाले र माओवादीमा आकांक्षी धेरै भएकाले दलको नेता छान्न सकस परेको हो । फोरम, राजपा र कांग्रेसले नेता चयन गरिसकेका छन् ।

एमाले दलको नेतामा प्रदेश २ का पार्टी इन्चार्ज सत्यनारायण मण्डल र अर्का नेता शत्रुधन महतोले दाबी नछाडेपछि डा. वंशीधर मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिमा रघुवीर महासेठ र योगनारायण यादव छन् । समितिले बुधबारसम्म सर्वसम्मतका लागि प्रयास गर्ने र नभए बिहीबार निर्वाचन गराउने दलका नेताका आकांक्षी शत्रुधन महतोले बताए ।

माओवादीभित्र दिलीप साह, भरत साह, रामकुमार यादव र रामचन्द्र मण्डलले दलको नेतामा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

 यस्तो बन्दै छ मन्त्रिपरिषद्

मुख्यमन्त्रीको शपथसँगै बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । मुख्यमन्त्रीको शपथलगत्तै फोरम र राजपाले मन्त्री हुनेको नाम टुंगो लगाउने राजपा नेता सोनालले बताए । फोरममा मुख्यमन्त्रीको दाबी छाडेका विजय यादव र राजपामा सभामुखको दाबी छोडेका नेता मनीष सुमनलाई सुरुमै मन्त्री बनाउने तयारी भएको छ । यसबारे दुवै दलले बुधबार निर्णय गर्दै छन् । २७ माघको सहमतिअनुसार फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामिला (गृह) तथा कानुन, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख लिने तथा राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ ।

सभामुखमा यादव निर्विरोध

प्रदेश सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध भएका छन् । सभामुखका लागि मंगलबार बिहान १० देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । तर, तोकिएको समयभित्र अन्य उम्मेदवारी नपरेपछि यादव निर्विरोध भएको प्रदेश सभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिए । आज बस्ने प्रदेश सभा बैठकले सभामुखको आधिकारिक घोषणा हुने उनले बताए । प्रदेश सभामा प्रतिपक्षीको भूमिकामा रहेका वाम गठबन्धन र कांग्रेसबीच कुरा नमिलेपछि सभामुखमा उम्मेदवारी परेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु