logo

bar

प्रदेश ४ मा अधिकारी सर्वसम्मत सभामुख बन्दै

नयाँ पत्रिका पोखरा, २ फागुन | फागुन ०२, २०७४

सभामुखमा कांग्रेसले उम्मेदवारी नै नदिने भएपछि माओवादीका नेत्रनाथ अधिकारी सर्वसम्मत चयन हुँदै

 पोखरामा जीवन बस्नेत र गोविन्द सुवेदी
 पर्वतमा सन्तोष थापा

प्रदेश ४ को सभामुखमा माओवादीका सांसद नेत्रनाथ अधिकारी सर्वसम्मत चयन हुने सम्भावना छ । वाम गठबन्धनको तर्फबाट सभामुख माओवादीको भागमा परेको र कांग्रेसले उम्मेदवारी नदिने भएपछि अधिकारी सर्वसम्मत चयन सम्भावना बढेको हो ।

माओवादीले प्रदेश ४ को प्रदेश सभाको सभामुखमा पर्वतबाट निर्वाचित अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कास्कीका कांग्रेस सभापति कृष्ण थापाले आफ्नो पार्टीले सभामुख पदलाई विवादमुक्त राख्न उम्मेदवारी नदिने बताए । तर, कांग्रेसले औपचारिक निर्णय भने गरेको छैन । चुनाव भए पनि अधिकारीले सभामुखमा जित्ने निश्चित छ । प्रदेश ४ मा ६० सांसद छन् । जसमध्ये एमालेका २७ र माओवादीका १२ सांसद छन् ।

२२ माघमा बसेको पहिलो प्रदेश सभा बैठकले ३ फागुनमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । सभामुख निर्वाचनका लागि बुधबारदेखि प्रक्रिया सुरु हुने संसद् सचिवालयका उपसचिव गोपाल सिग्देलले बताए ।

 संसद्लाई सफल बनाउनेछु

नेत्रनाथ अधिकारी
सभामुखका उम्मेदवार, प्रदेश ४

सभामुख पद संसद्मा दलहरूको साझा पद हो । वाम गठबन्धनको तर्फबाट पार्टीले मलाई सभामुखमा उठाउने निर्णय गरिसकेको छ । सभामुखमा निर्वाचित भएपछि प्रदेश कार्यपालिकाले दिने संसदीय काम (बिजनेस) लाई सबैसँग समन्वय गरेर सहमतिमा टुंग्याउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछु । प्रदेश ४ को सफल संसद बनाउने मेरा लक्ष्य छ । प्रदेशको अधिकार स्थापित गर्ने र अभ्यास गराउने विषय महत्वपूर्ण छ । त्यस्तै, कानुन निर्माणमा सभामुखको भूमिकाबाट गर्नुपर्ने सबै काममा पूर्ण प्रयत्न लगाउनेछु ।

को हुन् अधिकारी
पर्वतमा जन्मिएका नेत्रनाथ अधिकारीले ०३८ मा नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिई राजनीतिमा प्रवेश गरेका थिए ।

उनी अध्यापनको क्रममा पञ्चायतविरुद्धको शैक्षिक आन्दोलनमा लाग्दा बर्खास्तीमा समेत परेका थिए । ०४५ देखि उनी पूर्णकालीन राजनीतिमा लागे । ०४८ मा नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सेक्रेटरी, ०४८ मा नेकपा मसाल विद्यार्थी संगठनको केन्द्रीय सदस्य, ०५१ मा पर्वतको पार्टी इन्चार्ज भएका थिए ।

उनी ०५७ देखि ०५९ सम्म कास्की जिल्लाको सेक्रेटरी, ०६५ देखि माओवादी पर्वत इन्चार्ज, ०६८ देखि माओवादी केन्द्रीय सदस्य भएका थिए । ०७३ देखि माओवादी केन्द्रको पोलिटब्युरो छन् ।

मुख्यमन्त्री र  सभामुखको  शपथ  एकैदिन
प्रदेश ४ का मुख्यमन्त्री र सभामुखको शपथग्रहण ४ फागुनमा गराउने तयारी सुरु भएको छ । यसअघि मुख्यमन्त्रीको शपथ २ फागुनमा गर्ने तय भएको थियो । तर, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकी कान्छीआमा रतनमाया गुरुङको ८२ वर्षको उमेरमा सोमबार राति निधन भएपछि निर्धारित शपथग्रहण सारिएको हो । ३ फागुनमा बस्ने प्रदेश सभाको दोस्रो बैठकले सभामुख निर्वाचित गर्ने कार्यक्रम छ । पहिले मुख्यमन्त्रीको र त्यसपछि सभामुखको शपथ गर्ने कार्यक्रम छ ।

टेन्टमा शपथ गराउने तयारी
मुख्यमन्त्रीको नियुक्तिसँगै प्रदेश प्रमुखको निवासमा टेन्ट राखेर शपथ गराउने तयारी छ । ‘स्थायी संरचना नभएकाले टेन्ट राखेर शपथ खुवाइनेछ,’ कार्यालयका सचिव देवीप्रसाद ज्ञवाली भने । शपथग्रहण समारोहमा प्रदेश ४ का सम्पूर्ण सांसद, प्रदेशका मुख्यसचिव, प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सचिव, सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु