logo

bar

साउदीमा पाहुनाका लागि फेरि खुल्यो ‘सुनौलो जेल’

नयाँ पत्रिका काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

साउदी अरबको राजधानी रियादको यस होटेलमा केही दिनअघिसम्म साउदी राजकुमारहरू, सरकारी कार्यालयमा उच्च पदमा कार्यरत अधिकारी तथा चिरपरिचित व्यापारी, व्यवसायीलाई नजरबन्दमा राखिएको थियो । र, यो आलिसान भवन आफ्ना पाहुनालाई स्वागत गर्नका लागि फेरि एकपटक तयार भएको छ ।

साउदी अरबको भ्रष्टाचारविरोधी अभियानको क्रममा नोभेम्बरमा जुन भव्य होटेलमा दर्जनौँ राजकुमार तथा उच्च अधिकारीलाई राखिएको थियो, त्यसलाई अब सर्वसाधारणका लागि खुला गरिएको छ । रियादको पाँचतारे रिट्ज–कार्लटन होटेलको रिसेप्सन स्टाफले बिबिसीलाई बताएका छन् कि होटेलले अब आममानिसलाई आउनका लागि अनुमति दिइरहेको छ । केहीअघिसम्म यस होटेलमा दुई सयभन्दा बढी राजकुमार, मन्त्री तथा व्यापारीलाई राखिएको थियो ।

सय अर्ब डलर बरामद
जनवरीको अन्त्यसम्ममा साउदी अभियोजक जनरलको कार्यालयले बताएको थियो कि यस भ्रष्टाचारविरोधी कारबाहीपछि सय अर्ब डलर बरामद भएको छ । यो रकम हिरासतमा लिइएका मानिसलाई आर्थिक व्यवस्थापनका रूपमा दिइएको थियो । अभियोजक जनरलको कार्यालयले बताएको थियो कि त्यस समयमा पनि ५६ जना हिरासतमा थिए । त्यहीँ केही रिपोर्टमा भनिँदै छ कि हिरासतमा लिइएका बाँकी मानिसलाई रिट्ज–कार्लटन होटेलबाट जेल पठाइएको छ ।

साउदी अरबमा यो भ्रष्टाचारविरोधी अभियान यहाँका युवराज मोहम्मद बिन सलमानद्वारा सुरु गरिएको थियो । उनीमाथि आफ्ना विरोधीलाई हटाउने र आफ्नो शक्ति बलियो बनाउन यो सब गरेको आरोप पनि लागेको थियो ।

साउदी अरबको भ्रष्टाचारविरोधी अभियानको क्रममा नोभेम्बरमा जुन भव्य होटेलमा दर्जनौँ राजकुमार तथा उच्च अधिकारीलाई राखिएको थियो, त्यसलाई अब सर्वसाधारणका लागि खुला गरिएको छ

युवराजप्रति समर्थन
हिरासतमा लिइएपछि कैयौँ राजकुमार पैसा तिरेर छुटेका थिए । जसमा संसारकै धनी मानिसमध्येका एक राजकुमार अलबलिद बिन तलाल पनि थिए । उनलाई जनवरीको अत्यमा हिरासतबाट मुक्त गरिएको थियो । उनले यसका लागि कति रकम तिरेका थिए भन्नेबारे अहिलेसम्म प्रस्ट जानकारी सार्वजनिक भएको छैन । हिरासतमुक्तिपछि पहिलोपल्ट राजकुमार तलालले समाचार एजेन्सी रोयटर्ससित कुराकानी गर्दै भनेका थिए, उनीमाथि कुनै आरोप लगाइएको थिएन र उनले युवराज मोहम्मद बिन सलमानप्रति पूर्ण समर्थन गरेका छन् । अर्बपति अलबलिद बिन तलालको संसारभरका कैयौँ व्यवसायमा लगानी छ । जसमा ट्विटर र एप्पल जस्ता कम्पनी पनि सामेल छन् ।

शाही परिवारका प्रभावशाली व्यक्ति
नोभेम्बरमा फोब्र्स पत्रिकाले अनुमान लगाएको थियो कि राजकुमार तलालको कुल सम्पत्ति १७ अर्ब डलर छ । जसले उनलाई संसारकै ४५औँ धनी व्यक्तिका रूपमा चिनाउँछ । साउदी अधिकारीका अनुसार उनी अझै पनि आफ्नो कम्पनी ‘किङडम होल्डिङ’का प्रमुखकै रूपमा रहनेछन् । हिरासतबाट जोजो अन्य चर्चित मानिस रिहाइ भएका थिए, तीमध्ये एमबिसी टेलिभिजन नेटवर्कका प्रमुख बलिद अल इब्राहिम र शाही अदालतका पूर्वप्रमुख खालिद अल तुबैजिरी पनि सामेल थिए । हिरासतमा लिइएका शाही परिवारका राजनीतिक रूपमा प्रभावशाली मानिसमा दिवंगत राजा अब्दुल्लाका ६५ वर्षीय एक पुत्र पनि थिए ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया