logo

bar

अष्टलक्ष्मीको पराजयले उब्जाएका प्रश्न

भरतमोहन अधिकारी काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

३ नम्बर प्रदेशको संसदीय दलको नेता तथा मुख्यमन्त्रीको निर्वाचनमा डोरमणि पौडेल पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै विजयी हुनुभयो । निर्वाचनमा भाग लिइसकेपछि जुनसुकै परिणामलाई प्रतिस्पर्धीहरूले हृदयदेखि नै सम्मान गर्नुपर्छ । त्यसैले मुख्यमन्त्री नियुक्त भइसक्नुभएका पौडलजीलाई सफल कार्यकालका लागि बधाई छ । उहाँ लामो समयदेखि राजनीतिमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ सौम्य, मिलनसार, कर्मप्रति लगनशील व्यक्तित्व हुनुहुन्छ, त्यसैले मुख्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने मेरो मात्र होइन, धेरैको विश्वास छ । यस लेखमा प्रसंगवश उहाँको नाम आएको मात्र हो । मैले पात्रभन्दा पनि मुद्दा उठाउन खोजेका कारण अन्यथा अर्थमा कसैले पनि लिनुहुने छैन भन्ने अपेक्षा गरेको छु ।

अष्टलक्ष्मी शाक्य नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको सुपरिचित नाम हो । पञ्चायती निरंकुशताको कालरात्रिमा एउटी युवती माइतीघर त्यागेर भूमिगत हुँदै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिनुभयो । धेरै कठोर संघर्ष गर्दै योग्यता, क्षमता र क्रियाशीलता प्रदर्शन गर्दै पार्टी नेतृत्वमा स्थापित हुनुभयो । उहाँले एमालेबाट धेरैपटक चुनाव जित्नुभयो, मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो र अहिले उहाँ नवौँ महाधिवेशनबाट निर्वाचित सम्मानित उपाध्यक्षसमेत हुनुहुन्छ । एउटा राजनीतिक पार्टीको उच्च तहको नेता मात्र होइन, उहाँ महिला पनि हो । त्यस अर्थमा संघीय संरचनामा उहाँलाई पार्टीका लागि पहिलो मुख्यमन्त्री बनाउने अवसर प्राप्त भएको थियो । सबैलाई थाहा छ, काठमाडौं उपत्यकामा जनजाति नेवार समुदायको महत्वपूर्ण उपस्थिति छ । महिला र नेवार समुदायको प्रतिनिधि, पार्टीमा लामो समयको इतिहास बोकेको व्यक्तित्व भएका कारण धेरैले उहाँ सर्वसम्मत मुख्यमन्त्री हुने अपेक्षा गरेका थिए । तर, आशामाथि तुसारापात भयो । यस प्रकरणले नेपाली राजनीतिमा केही गम्भीर प्रश्न उठाएको छ ।

अष्टलक्ष्मी महाधिवेशनमा पार्टीले स्थापित गरेको प्रणालीअन्तर्गत आन्तरिक प्रतिस्पर्धामा लोकप्रिय मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनमा आन्तरिक रूपमा जोकोहीबीच प्रतिस्पर्धा हुनु स्वाभाविकै छ र हुँदै आएको पनि छ । त्यस्तै, अन्य पार्टीसँगको प्रतिस्पर्धामा उहाँ पराजित हुनुभएको भए पनि त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वाभाविकै रूपमा लिन सकिन्थ्यो । तर, अहिले उहाँ व्यक्तिगत रूपमा भन्दा पनि पार्टीभित्रै उपाध्यक्षको हैसियतमा पराजित हुनुभएको छ । उपाध्यक्ष पनि रहने, पराजित पनि हुने विडम्बनापूर्ण स्थिति आएको छ । एमालेको ३ नम्बर प्रदेशको संसदीय दलमा एमालेकै सांसदले मतदाताका रूपमा मत दिने, केन्द्रीय उपाध्यक्ष हार्ने तर प्रदेशस्तरको कार्यकर्ता जित्ने यस्तो विचित्र लोकतान्त्रिक अभ्यास हामीले सम्पन्न गर्‍यौँ। यसबाट के देखिन्छ भने अब पार्टीमा कसको मर्यादा कहाँ पुग्यो ? यो व्यक्तिगत हिसाबले अष्टलक्ष्मीको होइन, पार्टीको उपाध्यक्ष पदकै अपमान भयो । पार्टीमा हामीले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव भनेर सम्मान गर्छौं । अन्य थुप्रै निर्वाचित पद पनि छन् । अब यो स्थिति हराउने मात्र होइन, लोकतान्त्रिक अभ्यासका नाममा पदीय मर्यादाको कुनै सम्मान नहुने लोकतान्त्रिक अभ्यासतर्फ हामी अघि बढ्दै छौँ । भोलि पार्टी अध्यक्ष, महासचिवलाई पनि यसैगरी हराउने प्रक्रिया हामीले स्थापित गरेका छौँ । यसरी पार्टीमा निर्वाचित नेताहरूलाई इज्जत, मर्यादा, इतिहास, परम्परा, मूल्य–मान्यता कुनै ख्याल नगरी पार्टीकै अर्को अंगको निर्वाचनमा हराएर बहादुरी प्रदर्शन गर्ने हो भने भोलि पार्टी कहाँ पुग्छ ? त्यसैले अष्टलक्ष्मीको हार एउटा कम्युनिस्ट पार्टीमा इमानदार जोकोही कार्यकर्ताका निम्ति धेरै पीडादायी क्षण हो भन्ने मलाई लागेको छ । अब कसैको पद नै सुरक्षित नहुने स्थितिमा मर्यादा समाप्त हुनेतर्फ हामी अग्रसर हुँदै छौँ ।

म पनि ६ दशकभन्दा लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा समर्पित हुँदै आएको छु । एमाले एकतादेखि नवौँ महाधिवेशनअघिसम्म पार्टीको नेतृत्व तहमै रहेर काम गर्दै आएको छु । त्यसैले म यतिवेला सोचिरहेको छु– हामीले कस्तो पार्टी बनाएछौँ ? कसैको योगदान, इतिहासको कदर नहुने, मूल्य–मान्यता, सिद्धान्त, समावेशिता केही पनि नरहने स्थिति आयो । यसको एउटा मात्रै कारण पार्टीमा हुर्किंदै गएको चरम गुटबन्दी हो । आठौँ महाधिवेशनमा प्यानल बनाएर चुनाव भयो, नवौँमा पनि त्यही दोहोरियो । त्यसबाट देशभर कार्यकर्ताहरू गुटमा विभाजित भए । स्थायी कमिटीदेखि गाउँ कमिटीसम्म विभिन्न गुटमा पार्टी विभाजित छ । आज यस्तो स्थिति आएको छ कि एमालेभित्र आउने नयाँ व्यक्तिले पहिले पार्टीभन्दा पनि पहिले कुन गुट चुन्ने निक्र्योल गर्नुपर्नेछ । गुटमा नहुँदा सुरक्षित भइन्न भन्ने सन्देश प्रवाहित भएको छ । यसबाट नीति, सिद्धान्त, विवेक, विधान, पार्टीको मूल्य–मान्यता क्रमशः कमजोर बन्दै जाने स्थिति उत्पन्न भएको छ । चुनावका लागि पैसाको चलखेल, खानपान, उठबस गर्नुपर्ने स्थिति छ । पार्टी नेता या कार्यकर्ता बन्ने गुण छ कि छैन भन्दा पनि मेरो हुन्छ कि हुन्न भन्ने स्थिति देखिएको छ ।

एकातिर हामीले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नका निम्ति माओवादीसँग एकता अघि बढाइरहेका छौँ, देशभरका जनताबाट समर्थन पनि प्राप्त गरिरहेका छौँ । यस्तो वेला सबैले सम्मान गर्ने पार्टीका धरोहर अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले यस प्रकरणलाई कसरी हेर्नुभएको छ भन्ने मलाई बुझ्न मन लागेको छ । मलाई लाग्छ, आज देशभरिका आम कार्यकर्ताले पनि यसको चित्तबुझ्दो उत्तर खोजिरहेका छन् । हामी कता जान खोज्दै छौँ ? समावेशिता, महिलालाई अघि बढाउने नीति, योजना कहाँ गयो ? अब पार्टीको नीति, सिद्धान्त र कार्यक्रम होइन, मेरो र तेरो गुटको अवस्था आएको छ । यससँगै पार्टीभित्रै दुई नम्बरी धन्दासमेत मौलाउने खतरा उत्पन्न भएको छ । यस्तो स्थितिले प्रश्रय पाउँदै जाँदा भोलि पार्टीभित्रै गोली चल्ने स्थिति नआउला भन्न सकिन्न । हामी बहुदलीय प्रतिस्पर्धालाई निश्चित मूल्य–मान्यताका आधारमा स्वस्थ बनाउन खोजिरहेका वेला पार्टीभित्र गलत संस्कृतिले प्रश्रय पाउँदै गयो भने त्यसको जिम्मेवारी कसरी निर्वाह गर्न सक्छौँ ? एमालेमा अहिले जुन किसिमको चरम गुटबन्दी देखिएको छ, यसले कसैलाई फाइदा गर्दैन । हामीले आठौँ महाधिवेशनबाट पार्टीभित्र आन्तरिक जनवादको व्यवस्था लागू गर्‍यौँ । त्यसले धेरै राम्रो गरेको पनि छ, पार्टीभित्रको जनवाद अझ सुदृढ पनि बनाउनुपर्छ । तर, जनवादसँगसँगै पार्टीभित्र नीति सिद्धान्त, मूल्य–मान्यता, कार्यक्रम, अनुशासन र परम्परा स्थापित गर्नु हुँदैन भन्न खोजिएको हो र ? त्यसैले पार्टीभित्रको आन्तरिक जनवादलाई बलियो बनाउन हामीले धेरै कुरामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

वास्तवमा अष्टलक्ष्मीको हकमा या त चुनावी प्रतिस्पर्धाबाटै जिताउनुपथ्र्यो या त उहाँलाई नेताहरूको परामर्शमा उठाउनै हुन्नथ्यो । अहिलेको परिणामले अष्टलक्ष्मीको होइन, पार्टी र पार्टीले स्थापित गरेको प्रणालीको अपमान गरेको छ । महाधिवेशनको प्रतिस्पर्धामा एउटा जिल्लास्तरको कार्यकर्ताले पनि अध्यक्ष या उपाध्यक्षलाई हराउन सक्छ । तर, अहिले त्यो निर्वाचन होइन, पार्टीभित्रकै एउटा अंगको चुनाव हो । के अहिले उहाँ हार्ने अनि पार्टी उपाध्यक्ष पनि भइरहन मिल्छ ? त्यसैले पार्टीको प्रतिष्ठा बढिरहेको अहिलेको समयमा आन्तरिक प्रतिस्पर्धामा देखिएको विकृति समाप्त गर्ने दिशामा शीर्ष नेताहरूले गम्भीरतापूर्वक सोच्न जरुरी छ । गुटबन्दीलाई समाप्त गर्दै पार्टीको मूल्य–मान्यता र सिद्धान्तलाई कायम राख्नुपर्छ । किनभने अस्वस्थ गुटबन्दीले प्रतिस्पर्धाको नाममा पार्टीभित्रै किनबेच हुने अवस्था पनि आउन सक्छ । अनि विगतमा शेरबहादुर देउवाले सांसद किनबेच गरे जस्तै, सांसदहरू लुकाउने विकृत खेल भए जस्तै पार्टीमा अपसंस्कृति भित्राउने ? त्यसैले अष्टलक्ष्मी प्रकरणबाट शिक्षा लिएर वेलैमा यस्तो रबैयालाई सच्याउनुपर्छ । पार्टीको आदर्श र मूल्य–मान्यता जोगाउँदै योगदान र इतिहासको सम्मान गर्ने संस्कृति स्थापित गर्नुपर्छ । योग्यता र क्षमतालाई कदर गर्नुपर्छ । आगामी दिनमा पार्टीलाई सच्याउँदै अघि बढाउनुपर्छ, आदर्श पार्टी बनाउनुपर्छ ।
(अधिकारी एमाले नेता हुन्)

तपाईको प्रतिक्रिया