logo

bar

सुर्तीजन्य पदार्थको राजस्व असुली न्यून

जितेन्द्र खड्गा/नयाँ पत्रिका सप्तरी, १ फागुन | फागुन ०१, २०७४

६ महिनामा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व असुली

सप्तरीमा सुर्तीजन्य पदार्थको कारोबार दैनिक तीन लाख रुपैयाँभन्दा बढीको हुन्छ । यहाँ खपत हुने अधिकांश सुर्तीजन्य पदार्थ भारतीय उत्पादन हो । भारतीय सुर्तीजन्य पदार्थले नेपाली बजार पाए पनि त्यसबापत राजस्व संकलन भने न्यून प्रायः छ ।

तिलाठी–कोइलाडीस्थित राजविराज भन्सार कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा भन्सार कार्यालयले सुर्तीजन्य पदार्थबाट एक पैसा पनि राजस्व असुली गरेको छैन । तर, सप्तरीमा मात्रै एक महिनामा भारतीय सुर्तीजन्य पदार्थको कारोबार एक करोड रुपैयाँबराबरको हुने गरेको छ ।

तस्करले विनाभन्सार भारतबाट महिनामा एक करोड रुपैयाँबराबरको सुर्तीजन्य पदार्थ नेपाल भित्राउने गरेका छन् । राजविराज भन्सारका निमित्त प्रमुख रामराजप्रसाद चौरसियाले सप्तरीबाट मात्रै नभई अरू जिल्लाको नाकाबाट पनि सुर्तीजन्य पदार्थ आउने गरेको बताए । उनले सप्तरीका नाकाबाट हुने तस्करी नियन्त्रणको प्रयास भइरहेको दाबी गरे ।

गत वर्ष सुर्तीजन्य पदार्थ बोकेको एउटा मिनि ट्रक जफत भएपछि त्यसबाट राजविराज भन्सार कार्यालयलाई ६ लाख रुपैयाँ आम्दानी भएको थियो । पछिल्लो समय सीमा क्षेत्रमा परिचालित प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा सुर्तीजन्य पदार्थको तस्करी बढ्दा राजस्व संकलनमा राज्यलाई ठूलो घाटा भइरहेको छ ।

राजस्व लक्ष्य भेट्न मुस्किल
चालू आर्थिक वर्षमा राजविराज भन्सार कार्यालयलाई लक्ष्यअनुरूपको राजस्व संकलन गर्न मुस्किल हुने देखिएको छ । आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि लक्ष्यको लगभग २७ प्रतिशत मात्रै राजस्व संकलन हुँदा राजस्वको लक्ष्य भेट्न भन्सार कार्यालयले नसक्ने अवस्था आएको हो । भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ८ करोड ६९ लाख ३६ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ । तर, चालू आवको पछिल्लो ६ महिनामा २ करोड ३३ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व असुली भएको निमित्त भन्सार प्रमुख चौरसियाले जानकारी दिए ।

गत आवमा राजविराज भन्सार कार्यालयले लक्ष्यअनुरूप नै ७ करोड २३ लाख १५ हजार रुपैयाँ राजस्व असुली गरेको थियो । गत आबको लक्ष्य ७ करोड ६२ लाख २६ हजार रुपैयाँ थियो ।

तीनजना तस्कर पक्राउ
भन्सार छली मालसमान नेपाल भित्राउँदै गरेको अवस्थाबाट शुक्रबार तीनजना तस्कर पक्राउ परेका छन् । सप्तरीको तिलाठी–कोइलाडीबाट उनीहरूलाई पक्राउ गरिएको भन्सार कार्यालय सप्तरीले जनाएको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका ५ का ३० वर्षीय प्रमानन्द महत, २५ वर्षीय राजकुमार खत्वे र वडा नं. १ का ४२ वर्षीय किशोर झा रहेका छन् ।

दुईवटा अटो रिक्सामा करिब १० लाख रुपैयाँ मूल्यबराबरका समान भित्राउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको राजविराज भन्सार कार्यालयका निमित्त प्रमुख चौरसियाले बताए ।

यसैगरी, राजविराज नगरपालिका ११ का नरेश साहलाई पनि तस्करीको आरोपमा प्रहरीले पक्राउ गरी भन्सार कार्यालयको जिम्मा लगएको छ । साहको साथबाट १५ हजारबराबरको अवैध सुर्तीजन्य पदार्थ बरामद भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु