logo

bar

कर्णालीमा भारी हिमपात : तापक्रम माइनस आठ डिग्री

मानदत्त रावल/अच्युतराज भण्डारी जुम्ला, १ फागुन | फागुन ०१, २०७४

कर्णालीको हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोटमा आइतबार रातिदेखि भइरहेको हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपातपछि सबै जिल्लाका हवाईसेवा र सडकमार्ग अवरुद्ध भएका छन् ।

कर्णालीका विभिन्न जिल्लामा उडान भर्दै आएका निजी एयरलाइन्सका उडान हिमपातपछि स्थगित भएका छन् भने सडक यातायात सेवा पनि रोकिएको छ । यातायातका साधन बन्द भएपछि सयौँ यात्रु बीचबाटामै अलपत्र परेका छन् ।

जुम्ला सदरमुकाम खलंगामा परेको बाक्लो हिमपातले सेवाग्राही नआउँदा सरकारी तथा गैरसरकारी कार्यालय सुनसान भएका छन् । साथै, एक्कासी बढेको चिसोले वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन् ।

हिमपातले अधिकांश बस्तीहरूमा घरभन्दाबाहिर गएर गाईबस्तुलाई घाँस, पानी खुवाउन समस्या भएको हिमा गाउँपालिकाका रतन रावतले बताए । हिमपातका कारण जिल्लामा एसइई परीक्षाको तयारीका लागि सदरमुकाम खलंगामा आएका विद्यार्थीसमेत समस्यामा परेको तातापानी गाउँपालिका–३ का चन्द्र सुनारले बताए ।

स्याउ बगैँचामा सिँचाइ
स्याउ बगैँचा व्यवस्थापनका लागि पनि अहिले परेको हिमपातले राहत पुर्‍याउने स्याउ कृषक विष्णु अधिकारीले बताए । स्याउका नयाँ बिरुवामा खाल्डो बनाई हिउँका डल्ला हाल्ने गरेमा पछिसम्म पनि चिस्यान रहने उनको भनाइ छ । जुम्लामा रहेका १८ हजारभन्दा बढी घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीको पहुँचमा रहेको जिल्ला कृषि विकास कार्यालयल बताएको छ ।

कृषकमा खुसियाली

मुगु/हिमाली जिल्ला मुगुमा लामो समयपछि भारी हिमपात भएको छ । हिमपातले बालीनाली सप्रिने भएपछि कृषकहरू खुसी भएका छन् । लामो समयको खडेरीका कारण मुगुमा बालीनाली सुक्न थालेका थिए ।

कात्तिक महिनामा खेतबारीमा छरेको हिउँदेबाली हिमपात तथा वर्षा नभएपछि खेतमै सुक्न थालेपछि कृषकमा चिन्ता बढेको थियो । हिमपातसँगै पानी परेकाले हिउँदेबालीका लागि राहत हुने र वर्षे बालीका लागि सहज हुने कृषकहरू बताउँछन् । ‘खेतबारीमा छरेको बाली जौ, गहँु, र फलफूल स्याउका बिरुवा सुक्न थालेपछि चिन्ता लागेको थियो, आइतबार रातिदेखि हिमपात सुरु भएपछि अब बालीनाली तथा फलफूलका बिरुवा राम्रो हुने आशा पलाएको छ ।’ छायानाथ रारा नगरपालिका–२ का बुद्धि तिरुवाले भने । मुगुमा तीन फिटसम्म हिउँ परेको उनले बताए ।

तापक्रम माइनस आठ डिग्री
आइतबारबाट लगातार भएको हिमपातले ग्रामीण भेगका कृषकमा खुसी पलाए पनि घरबाहिर निक्लन समस्या भएको छायानाथ रारा नगरपालिकाका बुद्धि तिरुवाले बताए । हिमपातका कारण घरबाहिरको कामकाजसमेत गर्न नसकेको उनको भनाइ छ । मुगुको तापक्रम माइनस आठ डिग्री पुगेको उनको भनाइ छ ।

हिमपातका कारण सडक यातायात तथा हवाई सेवासमेत अवरुद्ध भएको छ । ‘सोमबार रारा विमानस्थलमा दुई फिट हिउँ जमेपछि तारा एयरको एक उडान, गोमा एयरको एक र मकालु एयरको एक फ्लाइट क्यानसिल भएको छ ।’ तारा एयरलाइन्स मुगुका स्टेसन इन्चार्ज शेरबहादुर भामले भने, ‘जहाज क्यान्सिल हुँदा यात्रुहरू समस्यामा परेको र मौसम राम्रो भए मंगलबारदेखि हवाई सेवा नियमित हुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु