logo

bar

भारतीयलाई बन्धक बनाई फिरौती असुल्ने पक्राउ

गणेश लम्साल/नयाँ पत्रिका विराटनगर, १ फागुन | फागुन ०१, २०७४

भारतीय नागरिकलाई नेपालमा ल्याएर बन्धक बनाई फिरौती असुल्न खोज्ने पाँचजनाको गिरोहलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । भारतको बिहार राज्यबाट विभिन्न व्यक्तिलाई घुमफिर गराउने बहानामा नेपाल ल्याएर होटेल र घरमा बन्धक बनाई फिरौती असुल्ने पाँचजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूका साथबाट ५० हजार भारतीय रुपैयाँ, एक थान मोटरसाइकल र पाँच थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवाका नारायण साह र मधुकर साह, मोरङको सुन्दरहरैँचा–१ का टीकाराम चौधरी, ठाकुर गुरुङ र नवराज गौतम छन् । अपहरणमा संलग्न भारतीय नागरिक बालेश्वर शाह, सुरेशकुमार, सन्तोषकुमार र सुसन यादव फरार रहेका प्रहरीले जनाएको छ ।

फरार रहेका भारतीयले नेपालीहरूसँग मिलेर लामो समयदेखि अपहरण र फिरौती असुल गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरूलाई मानव अपहरण तथा शरीर बन्धक ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने मोरङका एसपी अरुण बिसीले बताए ।

यसरी गरिएको थियो अपहरण र फिरौती असुली
भारत फारबिसगन्जमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक बालेश्वर साह र सुरेशकुमार, पुर्णियाका सन्तोषकुमार र सुसन यादवले आपसी चिनजानका आधारमा भारत खगडिया जिल्ला बेन्दोर पञ्चायत बस्ने राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दीनबन्धु तिवारी, बालेश्वर रजक र रञ्जित कुमारलाई नेपाल ल्याएर बन्धक बनाएका थिए ।

नेपालमा रहेको आफ्नो घरमा पूजा आयोजना गरिएको र पूजामा सामेल गराउने तथा नेपालका विभिन्न स्थानमा घुमाउने लोभ देखाएर उनीहरूले भारतीय नागरिकलाई नेपाल ल्याएका थिए । प्रहरीका अनुसार उनीहरूले निजी जिपमा राखेर माघ २४ गते भारतीय नागरिकलाई नेपाल ल्याएका थिए । नेपाल आइपुगेपछि उनीहरूले भारतीय नागरिकलाई मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोक बजारमा रहेको मोनालिसा होटेलमा कोठा बुक गरेर राखेका थिए । त्यहाँ सम्पर्कमा रहेका आफ्नो गिरोहका सदस्यलाई भारतीय नागरिकलाई जिम्मा लगाएर उनीहरू पुनः भारत फर्केका थिए।

नेपालमा रहेको गिरोहले बन्धक बनाइएकाहरूलाई यातना दिएर धम्क्याउँदै फिरौती माग्ने गरेको थियो । बन्धक बनाइएकाहरूबाट जनही एक लाख भारु फिरौती माग गरिएको थियो ।

उक्त गिरोहले बन्धक बनाइएकामध्ये रञ्जितकुमार र बालेश्वर रजकलाई भारतमा छाडेर एक लाख रुपैयाँ फिरौतीसमेत असुलेका थिए । त्यसपछि बाँकी रहेका चारजनालाई विराटचोकमै रहेको नारायण शाहको घरमा लगेर बन्धक बनाई फिरौतीका लागि ताकेता गरिरहेका थिए ।

यसरी भयो घटनाको पर्दाफास
बन्धक बनाइएका राजकिशोर यादव भाग्न सफल भएपछि घटनाको पर्दाफास भएको हो । भाग्न सफल भएका यादवले आफू र साथीहरूलाई अपहरण गरेर बन्धक बनाई फिरौती माग गरिएको भन्दै उद्धारका लागि प्रहरीसमक्ष उजुरी दिएपछि प्रहरीले घटनाको छानबिन थालेको छ ।

जिल्ला प्रहरी र इलाका प्रहरी बेलबारीको विशेष टोलीले नारायण शाहको घरमा छापा मारी बन्धक बनाइएकाहरूको माघ २८ गते उद्धार गरिएको थियो । अपहरणमा संलग्न भारतीयको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु