logo

bar

७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त

एजेन्सी मस्को, १ फागुन | फागुन ०१, २०७४

मस्कोको डोमोडेडोभा अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिमी क्षेत्र ओरेन्गवर्गका लागि उडेको एक सय ४८ यात्रु क्षमताको एक विमान दुर्घटनाग्रस्त भएको छ । विमानस्थलबाट उडेको सात मिनेटभित्रै विमान दुर्घटनामा परेको रसियाली समाचार एजेन्सीहरूले जनाएका छन् ।

यद्यपि, विमानमा आइतबार ६ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु मात्र थिए । स्थानीय समयअनुसार आइतबार दिउँसो विमान टावरबाट सम्पर्कविहीन भएको थियो ।

कोही जीवित नरहेको आशंका
सारातोफ एयरलाइन्सको विमान मस्कोबाट ८० किमि टाढा दक्षिणपूर्वी अरगुनोव गाउँमा दुर्घटना हुँदा त्यसमा सवार सबै जीवित रहने आशा क्षणिक भएको जनाइएको छ । रसियाली समाचार एजेन्सीहरूले विमानका सबै यात्रुको निधन भएको समाचार सम्पे्रषण गरेका छन् ।

दुर्घटना भएको स्थान हिउँले ढाकेको छ । हिउँमा दर्जनौँ लास छरिएका छन् । धेरैजसोको अनुहार चिन्न सक्ने अवस्थामा छैन । कतिपयको शरीर क्षतविक्षत अवस्थामा भेटिएको छ ।

राष्ट्रपतिद्वारा सहानुभूति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाप्रति समवेदना प्रकट गरेका छन् । पुटिनले पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले घटनाको छिटोभन्दा छिटो अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् । ‘विमान दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ, दुर्घटनामा परी ज्यान गुमाउनेहरूले शान्ति पाऊन् र घटना के कारणले भयो, त्यसको छानबिन गर्न निर्देशन दिएको छु,’ पुटिनले भने ।

विमानमा समस्या
रसियाको गजेटा डाँट आरयू वेबसाइटले एक सनसनी खुलासा गरेको छ । वेबसाइटका अनुसार विमानका मुख्य पाइलटले विमानमा केही खराबी आएको र तत्काल ल्यान्डिङ गर्न टावरसँग अनुरोध गरेका थिए ।

पाइलटले आग्रह गरिरहँदा विमान एन्टोनफ एन १४८ काजकिस्तानको सीमा क्षेत्रको आकाशमा थियो । विमानमा खराबी आएपछि प्रतिमिनेट एक हजार मिटरको स्पिडमा जमिनतर्फ झरेको वेबसाइटले जनाएको छ ।

यता, रसियाको यातायात मन्त्रालयले इन्टरप्याक्सलाई दिएको जानकारीअनुसार विमान दुर्घटना हुनुको मुख्य कारण नै खराब मौसम थियो । विमान कसरी दुर्घटनामा प¥यो भन्ने सम्बन्धमा अहिले नै केही भन्न नसकिने मन्त्रालयको भनाइ छ । अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण आउने मन्त्रालयले जनाएको छ ।

विमानको भग्नावशेष खोजी
विमान दुर्घटना भएको दक्षिण–पूर्वी अरगुनोवमा भारी हिमपात भएका कारण उद्धार गर्न कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । मस्कोले आपत्कालीन उद्धारकर्ताहरू घटनास्थलमा खटाएको छ ।

हिमपातका कारण विमानका अवशेष तथा लास खोजी गर्ने कार्य कठिन भएको उद्धारकर्मीले जानकारी दिएका छन् । यता, प्रारम्भिक अनुसन्धान कमिटीले मानवीय गल्ती, प्राविधिक कठिनाइ वा मौसमको समस्याले विमान दुर्घटना भएको हुन सक्ने
जनाएको छ ।

एक वर्षभित्र दुई दुर्घटना
केही समययता रसियामा ठूलो दुर्घटना भएको समाचार खासै सुनिएन । तर, यो वर्ष भने रसियाली विमानका लागि दुखद रह्यो । एकैपटक दुई ठूला विमान दुर्घटनाको सामना रसियाली विमानले गरेको छ । गत महिना पनि यस्तै एक ठूलो विमान दुर्घटना भएको थियो ।

पाँच वर्षभित्र व्यावसायिक यात्रु विमान दुर्घटना भएको यो नै पहिलोपटक हो । २५ डिसेम्बर २०१६ मा काला सागरमा टियू १५४ मिलिट्री विमान दुर्घटना भएको थियो, जसमा सवार ९२ व्यक्तिको ज्यान गएको थियो । यस घटनामा पाइलटलाई मुख्य दोषी मानिएको छ ।

यसैगरी, ३१ अक्टोबर २०१५ मा एयरबस ए ३२१ विमान मिश्रमा दुर्घटनाग्रस्त हुँदा दुई सय २४ व्यक्तिको मृत्यु भएको थियो । आइएसले त्यो विमानभित्र बम राखी उडाएको दाबी गरेको थियो ।

तपाईको प्रतिक्रिया