logo

bar

पूर्वप्रधानमन्त्रीको रिहाइको माग

एजेन्सी ढाका, १ फागुन | फागुन ०१, २०७४

प्रदर्शनकारीले सोमबार बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग राख्दै ढाकामा प्रदर्शन गरेका छन् । गत साता अदालतले पूर्वप्रधामन्त्री जियालाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय फैसला सुनाएको थियो । समर्थकहरूले जियालाई रिहाइ गर्नुका साथै निष्पक्ष निर्वाचनको मागसमेत राखेका छन् । नेतृ जियालाई पाँच वर्ष जेल सजाय छ ।

राजनीतिक उद्देश्य
समर्थकहरूले जिया राजनीतिको सिकार भएको दाबी गरेका छन् । अदालतको फैसला राजनीति उद्देश्यबाट अभिप्रेरित भएको ठहर समर्थकहरूले गरेका छन् । सोही कारण अदालतको फैसला स्वीकार गर्न नसक्ने समर्थकले जनाएका छन् ।

१६ करोड मुसलमान रहेको बंगलादेशमा जिया दुईपटक प्रधानमन्त्री भइसकेकी छिन् । यता, नेसनलिस्ट पार्टी (बिएनपी)ले पुनरावेदन अदालतमा पुनः रिट दायर गर्ने तयारी गरेको छ ।

निर्वाचनमा प्रभाव पर्न सक्ने
पूर्वप्रधानमन्त्री तथा नेतृ जियालाई जेल सजाय भएलगत्तै डिसेम्बरमा हुने संसदीय निर्वाचनमा प्रभाव पर्न सक्ने बिएनपीले विज्ञप्ति जारी गरी बताएको छ । ‘अदालतको फैसला सीधै निर्वाचन केन्द्रित देखिन्छ, यो फैसलाले हामीलाई निर्वाचनमा अप्ठेरोमा राखेको छ,’ बिएनपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘हामीले जियाको तत्काल रिहाइ र निष्पक्ष निर्वाचनको माग राखेका छौँ,’ बिएनपीका महासचिव फाखरुल इस्लामले भने, ‘हाम्रो आन्दोलन देशभरि नै रहनेछ ।’

धरौटीमा रिहा हुने अपेक्षा
बिएनपीका महासचिव इस्लामले नेतृ जिया धरौटीमा छुट्न सक्ने जनाएका छन् । तर, जियाले पुनरावेदन अदालतमा पुनः रिट राख्नुपर्ने हुन्छ । बिएनपीले पनि यसको तयारी गरिरहेको इस्लामले बताए । ‘हामी कानुनविद्सँग कुराकानी गरिरहेका छौँ, एउटा बिन्दुमा पुगेपछि हामी पुनरावेदनको ढोका घचघच्याउँछौँ,’ उनले भने, ‘हामीलाई आशा छ, पुनरावेदनले उहाँलाई धरौटीमा रिहा गर्नेछ ।’

तपाईको प्रतिक्रिया