logo

bar

अमेरिका निसर्त वार्ता गर्न तयार

नयाँ पत्रिका वासिङ्टन, १ फागुन | फागुन ०१, २०७४

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग निसर्त वार्ता गर्न तयार रहेको बताएका छन् । वासिङ्टन पोस्टसँग सोमबार कुराकानी गर्दै उपराष्ट्रपति पेन्सले उत्तर कोरियासँग कुनै पनि समय वार्ता गर्न आफूहरू तयारी अवस्थामै रहेको बताए ।

उत्तर कोरियासँगको सम्बन्ध सुधार्न अमेरिका तयार रहेको उनको भनाइ छ । यस कार्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग गर्ने उनले जनाए ।

निसर्त वार्ता गर्न इच्छुक भएको बताए पनि अमेरिकाले उत्तर कोरियाले आणविक हातहतियार परीक्षण रोक्नुपर्ने प्रस्ताव राखेको छ । आणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियामाथिको प्रतिबन्ध यथावत् रहने उपराष्ट्रपति पेन्सले बताए ।

दक्षिण कोरियाको प्योङच्याङमा भइरहेको विन्टर ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै वासिङ्टन फर्केका पेन्सले राष्ट्रपति मुन जाए इनसँग सौहाद्रपूर्ण वार्ता भएको बताए ।

दक्षिण कोरियाली राष्ट्रपति मुनसँगको भेटवार्तामा उत्तर कोरियासँग सम्बन्धित कुराकानी भएको बताए । उत्तर कोरियाको सम्बन्धमा दक्षिण कोरिया र अमेरिकाको एकै धारणा रहेको उपराष्ट्रपति पेन्सको भनाइ छ ।

गत शनिबार उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई प्योङयाङमा वार्ताका लागि निम्तो दिएका थिए । विन्टर ओलम्पिकले दुई कोरियाबीच सम्बन्ध सुधार भएको पेन्सको दाबी रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु