logo

bar

शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

एजेन्सी जेनेभा | फागुन ०१, २०७४

संयुक्त राष्ट्रसंघले शरण माग्दै विभिन्न स्थानमा पुगेका महिला तथा बालबालिकाको अवस्था चिन्ताजनक रहेको जनाएको छ । शरणमा बसेका महिला र बालबालिकामाथि यौनहिंसा र यौनजन्य दुव्र्यवहार भइरहेको राष्ट्रसंघको शरणार्थी नियोगले जनाएको छ । शरणार्थी नियोगले यस किसिमको दुव्र्यवहार समाधानका लागि अन्तर्राष्ट्रिय निकायसँग आह्वानसमेत गरेको छ ।

ग्रिसमा अनुसन्धान
नियोगले हालै मात्र ग्रिसमा रहेका शरणार्थीमाथि अनुसन्धान गरेको थियो । सो अनुसन्धानमा शरणार्थी शिविरमा रहेका महिला तथा बालबालिका यौन दुव्र्यवहारको सिकार भएको नियोगले जनाएको छ । अधिकांश महिला यौन दुव्र्यवहारमा परेको उनीहरूको भनाइ छ ।

‘हालैको अनुसन्धानले हामीलाई गम्भीर बनाएको छ, यसको निराकरणका लागि सबैको उत्तिकै सहयोग अपेक्षा गरेका छौँ,’ राष्ट्रसंघको शरणार्थी नियोगले भनेको छ । नियोगले यो अवस्थाको निराकरणका लागि ग्रिस सरकारसँग पनि आग्रह गरेको छ । नियोगले ग्रिसको एजिङ टापुमा रहेको शरणार्थी शिविरहरूमा अनुसन्धान गरेको हो ।

शरणार्थीबाट खुलासा
एजिङ टापुमा ६ सय २२ जना आप्रवासी छन् । जसमध्ये २८ प्रतिशत महिलाले आफूहरूमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा भइरहेको राष्ट्रसंघको शरणार्थी नियोगका अधिकारीहरूलाई जानकारी दिएका छन् ।

शरणार्थीहरूकै भनाइमा तयार पारिएको प्रतिवेदन राष्ट्रसंघलाई बुझाइएको छ । नियोगका प्रवक्ता सिसिले पाउलीले बेसहाराको संरक्षण सरकारले नै गर्नुपर्ने बताएका छन् । ‘ग्रिस एउटा उदाहरण मात्र हो, यस किसिमको घटना जहाँतहीँ भइरहेको छ, हाम्रो आग्रह भनेकै शरणार्थी जीवन बिताइरहेका महिलाको संरक्षण त्यहाँकै सरकारले गर्नुपर्छ,’ पाउलीले भने, ‘शरणार्थी शिविरहरूमा सुरक्षा र न्यूनतम आवश्यकताको परिपूर्तिका लागि मापदण्डहरू बनाएर काम गर्न पनि आग्रह छ ।’

क्षमताभन्दा बढी
एजिङ टापुमा अहिलेसम्म पाँच हजार पाँच सय शरणार्थी छन् । त्यो उनीहरूको क्षमताभन्दा बढी हो । यसले गर्दा उनीहरूको सुरक्षा अवस्था नाजुक रहेको पाउलीले जनाए । सरकारले क्षमताभन्दा बढी रहेका शरणार्थीलाई अन्यत्र सार्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया