logo

bar

माथिल्लो त्रिशूली ३ बी चिनियाँ कम्पनीले बनाउने

नयाँ पत्रिका काठमाडौं, १ फागुन | फागुन ०१, २०७४

इपिसी मोडेलमा निर्माण गर्न सम्झौता
नेपाल विद्युत् प्राधिकरणले ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी र चिनियाँ कम्पनी सिचुवान आन्हे हाइड्रोलिक एन्ड हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङ कम्पनी लिमिटेडसँग आयोजना निर्माण गर्ने सम्झौता भएको हो ।

सम्झौतामा माथिल्लो त्रिशूली ३ बीका तर्फबाट प्रबन्ध सञ्चालक मोहन गौतम र चिनियाँ कम्पनीका तर्फबाट काठमाडौं कार्यालय प्रमुख काओ सिङपिङले हस्ताक्षर गरेका छन् ।

सोमबार प्राधिकरणमा भएको सम्झौताअनुसार सिचुवान एन्हेले आयोजनाको प्रसारण लाइनबाहेक सिभिल, इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलतर्फको सम्पूर्ण संरचना निर्माण तथा मेसिनरी आपूर्ति र जडान गर्ने कार्य गर्नेछ ।

इन्जिनियरिङ, प्रोक्रुमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडेलमा निर्माण हुने आयोजना निर्माण गर्न १ अर्ब ९१ करोड ४६ लाख (३,१८,४७,८३८ डलर) लाग्ने प्राधिकरणले जनाएको छ । यो रकम मूल्य अभिवृद्धि करसहितको हो ।

प्राधिकरणद्वारा निर्माणाधीन माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजनाको रूपमा सञ्चालन हुने यो आयोजनाले सुक्खायाममा १३४ गिगावाट आवर तथा वर्षायाममा १५७ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ ।

यसअघि आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि कम्पनी र प्राधिकरणबीच गत भदौमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ ।

माथिल्लो त्रिशूली ३ एमा स्थानीयले सेयर मागेका कारण यसअघि निर्माणमा केही समस्या भएको थियो । आयोजनाले यही आयोजनाको क्यासकेडको रूपमा ३ बी निर्माण गर्ने र यो आयोजनामा सेयर उपलब्ध गराउने प्राधिकरणले प्रतिबद्धता जनाएपछि हाल आयोजना निर्माणले गति लिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् २२० केभी त्रिशूली ३ बीमा जोडिनेछ । हाल सो प्रसारण लाइन निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु