logo

bar

प्रदेश २ : सरकार गठनको बाटो खुला

हदिश खुद्दार/नयाँ पत्रिका जनकपुर, १ फागुन | फागुन ०१, २०७४

बहुमत जुटाउन प्रदेश प्रमुखको आह्वान

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीका लागि ३ फागुनभित्र बहुमत जुटाएर आउन प्रदेश सभामा रहेका दलहरूलाई आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरी आउन आह्वान भएको हो ।

संघीय समाजवादी फोरम संसदीय दलका नेता लालबाबु राउतले सोमबारै प्रदेश प्रमुखसँग भेटवार्ता गरेका छन् । प्रदेश प्रमुख कार्यालयका सचिव लावण्यकुमार ढकालले जारी गरेको विज्ञप्तिमा ३ फागुनसम्म बहुमत साबित गरेर आउन प्रदेश प्रमुखले दलहरूलाई आह्वान गरेको उल्लेख छ ।

प्रदेश सभामा संघीय फोरमको २९, राजपा २५, एमाले २१, कांग्रेस १९, माओवादी केन्द्र ११, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र एक–एक गरी १०७ सदस्य रहेका छन् । सरकार निर्माणको विषयमा संघीय फोरम र राजपाबीच सहमति भइसकेको छ ।

राजपाले सभामुखमा
सरोज यादवलाई उम्मेदवार बनाउने,
दलको नेतामा जितेन्द्र सोनाल

मर्यादापालकको पोसाक टुंगियो
प्रदेश २ को दोस्रो बैठकले मर्यादापालकले लगाउने पोसाकको टुंगो लगाएको छ । तर, प्रदेश सभाका सांसदको पोसाक अझै टुंगिएको छैन । सोमबार निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको बैठकले मर्यादापालकको पोसाकको छिनोफानो र नियमावली मस्यौदा समिति गठन गरेको छ ।

मर्यादापालकहरूका लागि क्रिम रंगको सफारी सुट र महिलाका लागि सोही रंगको साडी तोकिएको छ । जाडो मौसममा क्रिम रंगको कोट वा ज्याकेट र महिला मर्यादापालकका लागि क्रिम रंगको साडी र कोट तय गरिएको छ ।

मर्यादापालकका लागि चयन गरिएको पोसाक १५ दिनभित्र व्यवस्था गर्न तत्काल सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले रुलिङ गरेका छन् । आफ्ना स्वेच्छाअनुसार मर्यादापालकले टोपी लगाउने वा नलगाउने निर्णय गरिएको छ ।

प्रदेश सभा सदस्यहरूको ड्रेसको विषयमा अझै टुंगो लाग्न सकेको छैन । यसअघि मर्यादापालकका लागि निलो पाइन्ट, सेतो सर्ट र कोट तोकिएको थियो । प्रदेश सभा सदस्यहरूका लागि कफी रंगको कोट वा बन्डी तथा धोती कुर्ता हुने निर्णय गरिएको थियो ।

लोगोमा जानकी मन्दिर र कृषकको तस्बिर
प्रदेश सभाको लोगोको विषयमा सहमति जुटेको छ । लोगोमा जानकी मन्दिरको तस्बिर, कृषकको पहिचान झल्किने हरियाली फाँट, गहुँ वा धानको तस्बिर रहने प्रदेश सभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिए ।

१५ सदस्य नियमावली मस्यौदा समिति गठन
बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । समितिमा संघीय फोरमबाट चार, राजपा नेपाल र एमाले तीन–तीन, कांग्रेस दुई, माओवादी केन्द्र, संघीय समाजवादी पार्टी र स्वतन्त्रको एक–एक गरी १५ सदस्य रहेको छ ।

समिति सदस्यमा रामआशिष यादव, सञ्जयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डा. डिम्पल झा, रामेशप्रसाद कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुसवाह, दिलीपकुमार साह, सावित्रीदेवी साह र सेख अबुल कलाम आजाद रहेका छन् ।

बाँकी चार सदस्यमध्ये संघीय फोरमबाट एक, एमालेबाट दुई र कांग्रेसबाट एक थप गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

मधेस आन्दोलनका सहिदहरूको तस्बिर राखियो
प्रदेश सभाको दोस्रो बैठक बस्नुअघि मधेस आन्दोलनका सहिदहरूको तस्बिर राखिएको छ । प्रदेश सभाको पहिलो बैठकमा मधेस आन्दोलनका सहिदको तस्बिर नराखिएको भन्दै मधेसवादी दलहरूले बैठक अवरुद्ध पारेका थिए ।

राजपाद्वारा सभामुखको उम्मेदवार र दलका नेता चयन
लामो रस्साकस्सीपछि राजपाले प्रदेश सभामुखको उम्मेदवार र संसदीय दलका नेता छनोट गरेको छ । सोमबार काठमाडौंमा पार्टीका शीर्ष नेताहरूको बैठकले सभामुखमा राजपा उपाध्यक्ष सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संघीय फोरमले सभामुखका लागि राजपालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । कुल १०७ मतमध्ये ५४ जना प्रदेश सभा सदस्यको समर्थन रहने भएकाले यादव सभामुखमा निर्वाचित हुने निश्चित छ ।

संसदीय दलको नेतामा जितेन्द्र सोनाललाई चयन गरिएको छ । पार्टीभित्र दुवै पदका आकांक्षी धेरै भएपछि शीर्ष नेताहरूलाई छनोट गर्न निकै सकस भएको थियो । दलका नेताका लागि नवलकिशोर साह, सरोजकुमार यादव, जितेन्द्र सोनाल, रामनरेश राय यादवलगायतका आकांक्षी देखिएका थिए । सभामुखका लागि मनीष सुमन, सरोजकुमार यादव, सुरिता साह, रामनरेश राय चर्चामा थिए ।

को हुन् यादव ?
सभामुखको उम्मेदवार यादव राजपा नेपालका उपाध्यक्ष हुन् । उनी राजपा बन्नुअघि सद्भावना पार्टीका उपाध्यक्ष थिए । उनी पूर्वस्वास्थ्य राज्यमन्त्री र पूर्वआपूर्ति राज्यमन्त्रीसमेत भइसकेका छन् । उनी बारा १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

पार्टीभित्र सभामुख उम्मेदवारका आकांक्षी धेरै रहेकाले शीर्ष नेताहरूलाई छनोट गर्न निकै चुनौती थियो । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोका निकट मानिएका यादवलाई सभामुख वा संसदीय दलका नेता बनाउन बारा, पर्सा र रौतहटका प्रदेश सदस्यहरूले निकै ठूलो दबाब दिएका थिए । बारामा मधेस गठबन्धनले प्रदेश सभामा पाँच सिट र प्रतिनिधिसभामा तीन सिट जितेको छ ।

सभामुखका लागि आज मनोयन दर्ता हुँदै
२ फागुनमा हुने प्रदेश सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । प्रदेश संसद् सचिवालयले सभामुख निर्वाचनको मनोनयन दर्ताका लागि बिहान १० देखि २ बजेको समय तोकेको छ ।

दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरी बुधबार दिउँसो १ बजेका लागि निर्वाचनको मिति घोषणा गरिने प्रदेश सभा सचिवालय सचिव वंशीधर पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु