logo

bar

पहिलो मुख्यमन्त्रीको रूपमा डोरमणि पौडेलद्वारा पदभार ग्रहण

वीरेन्द्र ओली र सुदीप सिवाकोटी हेटौँडा, १ फागुन | फागुन ०१, २०७४

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदभार ग्रहण गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पौडेल मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

सोमबार बिहान साढे ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई पद तथा गोपनीयताको शपथ खुवाइन् । त्यसपछि पौडेल सभामुख, उपसभामुख, सांसद, सुरक्षा निकायका प्रमुखसहित सहिद स्मारक पुगी सहिदलाई माल्यार्पण गरे ।

 

मध्याह्न करिब १२ बजे तत्कालीन जिल्ला समन्वय समितिको दोस्रो तलामा पुगी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे । ३६ वर्षे राजनीतिक जीवनमा मुख्यमन्त्री कार्यभार सम्हालेपछि पौडेल अत्यन्तै खुसी र प्रफुलित देखिन्थे ।

म कर्मचारीलाई निर्देशन दिन्नँ, अनुरोध गर्छु : मुख्यमन्त्री पौडेल
मुख्यमन्त्री पौडेलले प्रदेश ३ विकास र समृद्धिमा पहिलो हुुनुपर्ने बताएका छन् । ‘हामी पहिलो दिनदेखि नै पहिलो हुँदै आइरहेका छौँ,’ उनले भने, ‘हामीले सातै प्रदेशमध्ये पहिलो प्रदेश सभा अधिवेशनको प्रथम बैठक सम्पन्न ग-यौँ र अहिले मुख्यमन्त्री चयनसँगै सरकार गठनमा पहिलो भएका छौँ ।’

प्रदेशको समृद्धि, विकास र परिवर्तनमा पनि पहिलो हुन सकेमा १३ वटै जिल्लाका लागि आजैबाट आफ्नो जिम्मेवारी निर्वाह गर्न अघिबढ्नुपर्ने बताए । ‘विकास र समृद्धिका लागि म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन, सबैको साथ, सहयोग र सल्लाह महत्वपूर्ण रहन्छ,’ उनले भने, ‘मुख्यतः कर्मचारीहरूको भूमिका रहन्छ ।

तर, कर्मचारीबाट हुने जिम्मेवारी निर्वाह, योजना कार्यान्वयनका लागि कर्मचारीले गर्ने काममा सुरुवातमा म अनुरोध गर्छु, निर्देशन दिन्नँ ।’ अनुरोधलाई अटेर गरेर आफ्नो कर्तव्य पूरा नगर्ने र प्रदेशको समृद्धिका लागि जिम्मेवार नबने कडा निर्देशन दिन बाध्य हुने पौडेलले चेतावनी दिए ।

प्रदेश ३ सातवटा प्रदेशमध्ये शक्तिशाली, धेरै सम्भावना र विकासका पूर्वाधार भएकाले यसलाई आर्थिक उपार्जनसँग जोड्न कुनै समस्या नभएको प्रस्ट पारे । पौडेलले मुलुकको आर्थिक नीति गलत भएकाले औद्योगिक उत्पादन र बिक्रीमा गिरावट आएको बताए । हेटाँडामा बन्द भएका उद्योग सञ्चालना ल्याउने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री पौडेलले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले एमालेका केशव स्थापित र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई मन्त्री नियुक्त गरेका छन् । सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्त्री स्थापित र जमरकट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

जमरकट्टेलले आन्तरिक मामिला तथा कानुन तथा स्थापितले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् । चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री पौडेलले बताए । प्रदेश ३ मा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ ।

यस्तो छ पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय
मुख्यमन्त्री र दुई मन्त्रीहरूको पद बहालीपछि सोमबार साँझ मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । साँझ करिब साढे ६ बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश कार्यविभाजन, कार्यसम्पादन र सार्वजनिक लिखित प्रमाणीकरण नियमावली तयार पार्ने निर्णय गरेको प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

पौडेलको मुख्यमन्त्रीसम्मको यात्रा
पार्टी केन्द्रमा प्रभाव नपारे पनि मुख्यमन्त्री डोरमणि पौडेलको मुख्यमन्त्री (चिफ मिनिस्टर) बन्न सफल भएका छन् । तत्कालीन हेटौँडा नरपालिकामा १० वर्ष मेयर भई राम्रो काम गरेकाले उनलाई मुख्यमन्त्रीसम्मको बाटो खुलेको हो ।

उनको नाम डोरमणि पौडेल भए पनि एमाले नेता कार्यकर्ता उनलाई डिएम पौडेलको रूपमा चिन्ने गर्छन् । पौडेल आफैँ पनि डोरमणिभन्दा डिएम पौडेल भनेको रुचाउँछन् । फर्पिङमा बाल्यकाल बिताएका पौडेलले हेटौँडाबाट उच्च शिक्षा हासिल गरे । उनले मानविकी संकायमा स्नातकसम्म औपचारिक अध्ययन गरेका छन् ।

०३६ देखि पार्टी राजनीतिमा सक्रिय उनले १० वर्ष शिक्षण पेसा गरेका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनी ०४६ को जनआन्दोलनताका तत्कालीन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारत बसे । चारपटक कैद सजाय तोकेर जेलपरेका उनी १८ पटक प्रहरी हिरासतमा बसे ।

 नेपाल नगरपालिका संघको ०५४ देखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालीन हेटौँडा नगरपालिकाको ०४९ र ०५४ मा निर्वाचित मेयर भए । राज्य पुनर्संरचना उच्चस्तरीय सुझाब आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था युसिएलजीको उपाध्यक्ष, सिटिनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, सहिद स्मारक विकास समिति अध्यक्ष हुन् । पौडेलले प्रदेश ३ को पहिलो प्रदेश सभा अधिवेशनमा ज्येष्ठ सांसदको रूपमा अध्यक्षता गरेका थिए ।

लागुऔषध उत्पादन नियन्त्रण पहिलो प्राथमिकता : मन्त्री जमरकट्टेल
नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । प्रदेश ३ मा बढी लागुऔषध उत्पादन हुने र त्यसले अपराध बढाएकाले नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

‘मकवानपुर, धादिङ, सिन्धुलीलगायत जिल्लामा उत्पादन हुने लागुऔषधका कारण धेरैले ज्यान गुमाएका छन्,’ मन्त्री जमरकट्टेलले भने, ‘यस्ता उत्पादन नियन्त्रणका लागि मन्त्रालयले विशेष कार्यक्रम कार्यान्वयन गर्नेछ ।’

अब सडक विस्तार हुन्छ : मन्त्री स्थापित
भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले प्रदेश ३ का १३ वटै जिल्लामा सडक विस्तार गर्ने बताएका छन् । राजमार्ग साँघुरो भएको र सडक विस्तारले सहरी विकासलाई आँच पु¥याएको बताउँदै उनले कुनै पनि अवस्थामा सडक विस्तार नरोकिने दाबी गरे ।

‘मैले हेटौँडामा सडक विस्तारबारे धेरैपटक जानकारी पाएको छु,’ मन्त्री स्थापितले भने, ‘यहाँ सडक विस्तार गर्नु जरुरी छ । अबको सय दिनभित्र २५ मिटर सडक विस्तार हुन्छ, यो शतप्रतिशत कार्यान्वयन हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु