logo

bar

थ्री स्टार सेमिफाइनलमा

नयाँ पत्रिका बारा, १ फागुन | फागुन ०१, २०७४

थ्री स्टार क्लब नवौँ सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा थ्री स्टार ४–२ गोलअन्तरले विजयी भयो । थ्री स्टारले यसअघि भएका मोफसलका दुई प्रतिष्ठित गोल्डकप उपाधि जितेको थियो ।

थ्री स्टार क्लबले सुदूरपश्चिमविरुद्ध पहिलो हाफमै सुरुवाती अग्रता बनाए पनि अन्तिम तीन मिनेट सम्हालिन नसक्दा खेलको निर्णय ट्राइब्रेकरमा धकेलिएको थियो । ४३औँ मिनेटमा नीराजन खड्काको उत्कृष्ट पासको सदुपयोग गर्दै थ्री स्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए । तर, थ्री स्टारले ८७औँ मिनेटमा गोल खान पुगेको थियो । सुदूरपश्चिमका लागि मणिराम चौधरीले बराबरी गोल गरेका थिए ।

टाइब्रेकरमा थ्री स्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, नीराजन खड्का र सुनील वलले गोल गरे । सुदूरपश्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गर्दा जीवन चौधरीको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाए । सुदूरपश्चिमका कप्तान चेतन थारूको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा सोमबार साबिक विजेता संकटा क्लब र वीरगन्ज युनाइटेड भिड्नेछन् ।

तपाईको प्रतिक्रिया