logo

bar

यसरी हुन्छ इन्धन किफायत

नयाँ पत्रिका काठमाडौं, २९ माघ | माघ २९, २०७४

० यदि मोटरसाइकल गुडेको एक वर्षभन्दा बढी समय भएको छ भने दुई हजारदेखि २५ सय किलोमिटर गुडेपछि मोटरसाइकल अनिवार्य सर्भिसिङ गर्नुपर्छ । नयाँ मोटरसाइकलको हकमा भने कम्पनीले उपलब्ध गराएको म्यानुअलअनुसार सर्भिसिङ गर्दा हुन्छ ।

०  कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा मात्र सर्भिसिङ गर्नुपर्छ । किनभने, त्यस्ता सर्भिस सेन्टरमा कम्पनीबाट तालिमप्राप्त दक्ष प्राविधिक हुन्छन् ।

०  सधैँ पेट्रोल पम्पबाट मात्रै मोटरसाइकलमा इन्धन भर्नुपर्छ । बोतल वा अन्य भाँडामा भण्डार गरेको इन्धनमा मिसावट पनि हुन सक्छ । सवारीमा त्यस्ता मिसावटयुक्त इन्धन भर्दा माइलेज कम हुनुका साथै इन्जिन बिग्रने पनि डर हुन्छ ।

०  मोटरसाइकल सर्भिसिङ गर्दा टायरमा हावाको प्रेसरलाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । टायरमा हावा कम या बढी भएमा पनि माइलेज कम हुन्छ । त्यसैले मोटरसाइकलअनुसार अगाडिको टायरमा ३० र पछाडिकोमा ३५ पिएसआई हावा उपयुक्त हुन्छ ।

०  मोटरसाइकलमा प्रयोग गर्ने लुब्रिकेन्टको ब्रान्डभन्दा पनि डेन्सिटीलाई ध्यान दिनु राम्रो हुन्छ । जहिले पनि मोटरसाइकलको इन्जिनले पचाउन सक्ने खालको लुब्रिकेन्ट प्रयोग गर्नुपर्ने हुन्छ । सकेसम्म बाइक कम्पनीकै लुब्रिकेन्ट प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

०  मोटरसाइकलको स्पिड कम वा बढी गर्दा पनि माइलेज नबढ्न सक्छ । त्यसैले सधैँ एभरेज स्पिडमा मोटरसाइकल गुडाउँदा माइलेज पनि बढी दिन्छ । मोटरसाइकलअनुसार एभरेज स्पिड प्रतिघन्टा ३० देखि ५० किलोमिटर हो ।

० मोटरसाइकलअनुसार लुब्रिकेन्टको मात्रा पनि फरक–फरक प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले आधिकारिक सर्भिस सेन्टरका दक्ष प्राविधिकबाटै लुब्रिकेन्ट प्रयोग गर्दा राम्रो हुन्छ ।

०  मोटरसाइकलको इन्धन किफायतीका लागि मोटरसाइकलको पार्टस्ले पनि भूमिका खेल्छ । इन्धन किफायती गर्न कम्पनीकै गुणस्तरीय पार्टस् प्रयोग गर्नुपर्छ । कम गुणस्तरको पार्टस्ले इन्धन खपतदर बढाउनुका साथै दुर्घटनासमेत निम्त्याउन सक्छ ।

०  पछिल्लो समय युवापुस्ताले मोटरसाइकलको साउन्ड मोडिफिकेसन गर्ने गरेका छन् । यस्तो गर्दा माइलेज घट्नुका साथै ध्वनि प्रदूषण हुन्छ ।

०  काठमाडौंमा निकै ट्राफिक जाम छ । यस्तो वेला मोटरसाइकलको इन्जिन अफ गर्नु बुद्धिमानी हुन्छ । यसले इन्धन पनि किफायती बनाउँछ ।

०  मोटरसाइकल चढ्नुपूर्व कम्पनीले दिएको युजर म्यानुअल अध्ययन गर्न आवश्यक हुन्छ । यस्तो सावधानीले मोटरसाइकल र चालक दुवैलाई सुरक्षित बनाउँछ ।

नसिब कायस्थ, अध्यक्ष
कायस्थ मोटर्स प्रालि

तपाईको प्रतिक्रिया