logo

bar

‘उत्तर कोरियाबारे दक्षिणसँग अमेरिकाको कुनै मतभेद छैन’

एजेन्सी सिउल, २९ माघ | माघ २९, २०७४

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई दबाब दिनुपर्ने अवाश्यकताबारे अमेरिका र दक्षिण कोरिया पूर्ण सहमत रहेको बताएका छन् ।

दक्षिण कोरियाको हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सरिक भएर स्वदेश फर्किने क्रममा उपराष्ट्रपति पेन्सले आइतबार सो धारणा राखेका हुन् । दक्षिण कोरियासँग वार्ताका नाममा प्योङयाङले भित्रभित्रै षड्यन्त्र गरेको हुन सक्ने उनले संकेत गरेका छन् ।

हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ (बायाँ) र अमेरिकी उपराष्ट्रपति माइक पेन्स । तस्बिर : एजेन्सी

उत्तर कोरियालाई एक्लो पार्न समझदारी
उत्तरको आणविक गतिविधिबाट उत्पन्न तनावका बीच पछिल्लो समयमा दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । दुई कोरियालाई हिउँदे ओलम्पिकले अझै नजिक बनाउने अवसर जुटाएको छ । दुवै कोरियाले एउटै झन्डामुनि मार्चपास गरिसकेका छन् ।

तर, उत्तर कोरियाको कदमबाट अमेरिकाले आफूलाई अलग राखेको छ । उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुध्रिएको देखिए पनि ऊविरुद्धको कारबाहीमा अमेरिका, दक्षिण कोरिया र जापानबीच एकमत रहेको उपराष्ट्रपति पेन्सले दाबी गरे ।

शनिबार अमेरिका फर्कनुअघि उपराष्ट्रपति पेन्सले भने, ‘उत्तर कोरियालाई आर्थिक र कूटनीतिक रूपमा एक्लो पार्न अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै असमझदारी छैन ।’

कोरियाली सम्बन्धमा सुधार
शनिबार मात्र उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलाई प्योङयाङ भ्रमणको निम्तो दिएका थिए । दुई कोरियाबीच शान्तिवार्ता गर्ने प्रस्तावसमेत किम जोङले गरेका छन् ।

किमको प्रस्तावबमोजिम वार्ता भएमा दुई कोरियाली नेताबीच पहिलोपटक उच्च तहमा वार्ता हुनेछ । वार्ताबाटै दुई कोरियाले विद्यमान असमझदारी हटाउनुपर्ने राष्ट्रपति मुनले बताउँदै आएका छन् । उनले उत्तर कोरियालाई अमेरिकाले पनि वार्ताका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

प्योङयाङ र अमेरिकाबीचको सम्भावित वार्तामा उत्तर कोरियाका आणविक कार्यक्रम बाधक हुने विज्ञहरूले बताउँदै आएका छन् । अमेरिकी प्रशासनले उत्तरमाथिको शृंखलाबद्ध प्रतिबन्ध र चेतावनीमार्फत प्योङयाङमाथि दबाब दिँदै आएको छ ।

प्योङयाङको निम्तोले के अर्थ राख्छ ?
दक्षिण कोरियाको साझेदार राष्ट्र अमेरिका दक्षिण र उत्तर कोरियाबीचको सम्बन्धबाट सशंकित बनेको छ । दक्षिण कोरिया प्योङयाङको देखावटी जालमा फसेको अमेरिकाको बुझाइ छ । सार्वजनिक रूपमा उत्तर र दक्षिण कोरियाबीच मित्रतापूर्ण सम्बन्ध देखिए पनि दुई देशबीचको तनाव पूर्ण रूपमा अन्त्य नभएको विज्ञहरूको भनाइ छ ।

उत्तर कोरियाको निम्तोले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलाई जटिल अवस्थामा पु-याएको अमेरिकी दाबी छ । राष्ट्रपति मुनले यसअघि पनि उत्तरसँग शान्तिवार्ता गर्ने वचन दिँदै आएकाले उत्तर कोरियाको निम्तोले उनलाई नैतिक दबाब बढेको बताइएको छ ।

किमकी बहिनी आकर्षणको मुख्य पात्र
उत्तर कोरियाली प्रतिनिधिमण्डलकी सदस्य तथा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ जारी ओलम्पिकमा सबैभन्दा महत्वपूर्ण पात्र बनेकी छिन् । उनी सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरिया भ्रमण गर्ने उत्तर कोरियाको अहिलेसम्मकै हाई प्रोफाइलकी नेतृ हुन् ।

३० वर्षको हाराहारीमा रहेकी उनी गत वर्ष कोरियाली वर्कर्स पार्टीको शक्तिशाली पोलिटब्युरोमा बढुवा भएकी थिइन् । उत्तर कोरियामा मानवअधिकार उल्लंघनका घटनामा संलग्नता रहेको आरोप लगाउँदै अमेरिकाले उनलाई प्रतिबन्धको सूचीमा राखेको छ ।

‘मुनले निम्तो स्विकार्नु अघि उत्तरले निश्चित सर्त पालना गर्नुपर्ने’
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्नुअघि प्योङयाङले निश्चित सर्त पालना गर्नुपर्ने दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरियाका प्रधानमन्त्री ली नागयानले आइतबार सो धारणा राखेका हुन् । तर, ती सर्तबारे उनले केही प्रस्ट गरेका छैनन् । राष्ट्रपति निर्वाचन अभियानमा उत्तरसँगको शान्तिवार्तालाई मुख्य एजेन्डा बनाएका मुन जाय इनलाई उत्तर कोरियाको निम्तो स्विकार्न समस्या रहेको विज्ञहरूको भनाइ छ ।

उत्तर कोरियाली नेताकी बहिनी किम यो जङले दक्षिण कोरियाली राष्ट्रपति मुनसँग शनिबार भएको भेटवार्तामा उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु