logo

bar

खेमराजको यात्रा बालीघरेदेखि राष्ट्रिय सभा सदस्यसम्म

नयाँ पत्रिका काठमाडौं, २९ माघ | माघ २९, २०७४

पूर्वप्राज्ञ तथा कलाकार खेमराज नेपालीले सामाजिक रूपान्तरणका लागि थुप्रै कविता र गीत लेखेका छन् । कुनै वेला गाउँगाउँमा जागरण गीत गाउँदै हिँडेका खेमराज अहिले ५४ वर्षे उमेरमा राष्ट्रिय सभाको सदस्य बन्न सफल भएका छन् । उत्पीडित भनिने दलित समुदायमा जन्मिएका उनले जातीय छुवाछुतका अनेक अनुभव झेलेका छन् । स्कुल पढ्दैदेखि नेकपा एमालेनिकट अनेरास्ववियुमा संगठित भएर सांस्कृतिक क्षेत्रमार्फत सक्रिय राजनीतिमा लागेका उनी पूर्वका चर्चित साहित्यकार तथा नाट्यअभिनेतासमेत हुन् । जनसांस्कृतिक महासंघका पूर्वमहासचिव र हालका केन्द्रीय सल्लाहकार तथा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्षसमेत रहेका उनै खेमराजले आफ्नो सामाजिक तथा राजनीतिक यात्रा र संघर्षबारे नयाँ पत्रिकाका गणेश लम्सालसँग भलाकुसारी गरेका छन् ।

                                              खेमराज नेपाली, राष्ट्रिय सभा सदस्य

जागरणका लागि सांस्कृतिक कार्यक्रम
बालिघरे प्रथामा जीवन गुजार्न बाध्य परिवारमा जन्मिएका खेमलाई राष्ट्रिय सभाको सदस्य भएपछि आकाशको तारो झार्नुपर्छ भन्ने पनि लागेको छैन रे । उनको चाहना आफ्नो ठाउँबाट सामाजिक सांस्कृतिक रूपान्तरण गर्नका लागि आधार तयार गर्नेछ ।

जसले गर्दा मान्छे–मान्छेबीचको विभेद र छुवाछुत हटोस्, समानता कायम होस, जातकै कारण कसैले होचो र उँचो भनिन नपरोस्, घृणा, द्वेश अन्त्य होस् । उनी खासमा यिनै विषयलाई आफ्नो ठाउँबाट बढीभन्दा बढी योगदान दिने मनसायमा छन् ।

भन्छन्, ‘मैले जातीय विभेद र छुवाछुतको असरलाई प्रत्यक्ष भोगेको छु । अनि अरूले भोगेको पीडालाई पनि बुझेको छु । त्यसैले मेरो पहिलो काम भनेकै सामाजिक अन्र्तघुलनका लागि आधार तयार गर्ने हो ।’

सानैदेखि कला संस्कृतिमा रुचि राख्ने उनी गीत, कविता लेख्ने र नाटकमा खेल्ने गर्दथे । यसैले अनेरास्ववियुमा संगठित भएपछि उनको कला संस्कृतिको प्रभाव पार्टीमा पनि प-यो । उनलाई पार्टीले जनसांस्कृतिक मञ्चमा आबद्ध भएर जागरण अभियानमा परिचालन गरायो ।

उनी पनि पञ्चायतकालमा गाउँगाउँ, घरघर पुगेर गितारको सहाराले प्रगतिशील गीत, साहित्यमार्फत विद्रोहको जागरण अभियानमा सक्रिय भए । पूर्वमा आफू नपुगेको ठाउँ सायदै भएको उनको दाबी छ । त्यो वेला सक्रिय राजनीति गर्ने नेताहरू भूमिगत बस्थे, तर कलाकारहरू खुला रूपमा सांस्कृतिक कार्यक्रम गरेर चेतना छर्दथे ।

त्यो मञ्चलाई नेताहरूले उपयोग गर्ने गर्थे । जेबी टुहुरे, लीला पौडेल, लक्ष्मी दहाल, गोपाल नेपाल, वीरध्वज शिवा, अनिल पौडेल, प्रदीप लम्सालहरू त्यो वेला खेमका सांस्कृतिक सहकर्मी थिए । जनवादी चेतका लागि सांस्कृतिक अभियानमा हिँड्दा उनी थुप्रैपटक पक्राउ परेका छन् ।

पाँचथरको काफलबोटेमा जन्मिएका उनका दुईटी आमा थिए । ठूलो परिवार भएकाले पहाडमा पाखो बारीले खान धौधौ पथ्र्यो । त्यसकारण उनको परिवार इलामको चुलचुली झोडा झ-यो । अनि त्यही अलिकति खेत आवाद गरेर स्थायी बसोवास थाल्यो ।

पहाडमा भन्दा चुलाचुलीमा बालिघरे पेसा अलि बढी फस्टायो । थोरै खेती पनि भएकाले परिवारको आर्थिक अवस्थामा केही सहजता आएको उनी बताउँछन् ।

कलेजमा पनि राजनीति निरन्तर
इलाममा ६ कक्षा सकेपछि खेमराज उर्लाबारीमा आफन्तकोमा बसेर पढ्न थाले । त्यहीँबाट एसएलसी पास गरे । स्कुलमै राजनीतिक संगठनमा आबद्ध भइसकेकाले उनलाई शिक्षाको महत्वबोध भइसकेको थियो । त्यसकारण उनी उच्च शिक्षा हासिल गर्नका लागि विराटनगर पुगे ।

महेन्द्र मोरङ कलेजमा पनि उनले राजनीतिक क्रियाकलापलाई निरन्तरता दिए । उनको सांस्कृतिक क्षमता देखेर पार्टीले सांस्कृतिक फाँटकै जिम्मेवार बनायो । त्यो वेला गितार धेरै लोकप्रिय थियो । यसैले खेमराज आफ्नो सांस्कृतिक टोलीसँग गितार बोकेर गाउँगाउँ पुगी जनवादी गीत गाउँथे ।

त्यतिवेला आफूहरूले हिमालमा बिहानीले लाली छरेछ, पहाडको काखबाट झरना झरेछ, गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ, काम गरौँ मिलेर गरिबको हित सोचेरजस्ता जनवादी जागरण गीत गाउने गरेको बताउँछन् ।

राजनीति र पढाइलाई सँगसँगै अघि लगेका खेमराजले राजनीति शास्त्रमा डिग्री गरे । हाल एमाले प्रदेश १ को संगठन कमिटी सदस्य छन्, उनी । चार वर्षपहिले नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यसमेत भइसकेका खेमराज लामो समय विराटनगरस्थित साहित्यिक संस्था वाणी प्रकाशनको अध्यक्ष पनि भए ।

पूर्वमा हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागिता जनाइरहने उनी प्रायः प्रगतिशील विचारका गीत र कविता लेख्ने र वाचन गर्ने गर्छन् । तर, उनलाई कति फुटकर रचना लेखियो र वाचन गरियो भन्ने यकिन भने छैन रे ! किनभने उनले कहिल्यै आफ्ना रचना संकलन गरेर राखेनन् ।

साथीहरूको करमा आस्थाको खेती नामको संग्रह प्रकाशन भने गरे । तर, त्यसपछि उनले अरू कृति निकाल्न चासो दिएनन् ।

पारिवारिक दायित्वबोधपछि जागिर
गरिबको छोरो कलेज पढ्न आएको, त्यहीमाथि राजनीतिक कार्यकर्ता भएर गाउँगाउँ डुलिहिँड्न थालेपछि जीवनयापन निकै गाह्रो हुने नै भयो । ‘उठ जोगी फट्कार छाला, जहाँ पुग्ला भातै खाला,’को तालमा आफ्नो संस्कृतिकर्मी टोलीसँग हिँड्थे, खेमराज ।

सोही क्रममा ०४६ सालमा उनको सुशीला सुनामसँग बिहे भयो । सुशीला कोसी अञ्चल अस्पतालमा नर्स थिइन् । बिहेपछि पत्नीको जागिरका कारण खेमराजलाई आर्थिक रूपमा अलि सहजचाहिँ भएछ । त्यसकारण आफू झन् लापार्बाह भएको उनी बताउँछन् ।

‘सुशीलाको जागिर थियो । घर चलाउन तनाव भएन । मचाहिँ पार्टीको सांस्कृतिक काममा खटिइरहेँ । कमाउने, बचाउनेतिर ध्यानै गएन,’ उनी भन्छन् । छोरो जन्मिएपछि भने आफूले जीवनमा आर्थिक पाटोको महत्व बुझेको जिकिर उनको छ ।

पारिवारिक दायित्व पूरा गर्नुपर्ने परिस्थितिका कारण उनले बल्ल जागिर गर्न थाले । उनले विराटनगर नगरपालिकामा जिन्सी शाखामा खरिदारको जागिर पाए । पछि, बढुवा भएर शाखा अधिकृतसम्म भए । राष्ट्रिय सभाको सदस्य बन्नका लागि उनले सो जागिर परित्याग गरे ।

पत्नी सुशीला अहिले छैनन् । खेमराजले पत्नी सुशीलाको नाममा फाउन्डेसन स्थापना गरेर हरेक वर्ष विशिष्ट व्यक्तिहरूलाई सम्मान र पुरस्कृत गर्दै आएका छन् ।

नाटक अभिनयमा सक्रिय
सांस्कृतिक जागरणमा सक्रिय खेमराजले दर्जनाँ सडक नाटकमा अभिनय गरेका छन् । गुरुकुल विराटनगरमा मञ्चन भएको बहादुरपुरको दन्त्य कथा, पर्खाल, चतुरेको दाउपेच, कफ्र्यु बिपीको एकरातजस्ता चर्चित नाटकमार्फत अभिनेताका रूपमा उनको राम्रो नाम छ ।

स्कुले जीवनदेखि नै नाट्य कलामा सक्रिय खेमको नाटकप्रतिको रुचि र क्षमता तब झन् बढी प्रकट भयो जब विराटनगरमा आरोहण गुरुकुल स्थापना भयो । एक दशकदेखि खेमराज गीत कविताभन्दा पनि बढी नाट्य कलाकार भएर अभिनय गर्नमै बढी व्यस्त थिए ।

नाटक अभिनय, साहित्य रचना, जे विषयमा पनि उनले सांस्कृतिक रूपान्तरणलाई केन्द्रमा राख्ने गरे । धर्ममा शुद्धीकरण गरेर आपसी धार्मिक सद्भाव बढाउनुपर्छ र सबै धर्मले सबै धर्मलाई सम्मान गर्नुपर्ने धारणा उनको छ । राजनीतिक स्थितरता, सामाजिक विभेद अन्त्यसहितको समाज उनको चाहना हो ।

अन्ततः राष्ट्रिय सभा सदस्य
आफू पहिलो संविधानसभाका लागि नै योग्य भएको भए पनि अवसर नपाएकोमा उनको गुनासो छ । दोस्रो संविधानसभामा पनि उनको नाम हटाइएछ । अन्ततः पार्टीले उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएरै छाड्यो ।

उनी १ नम्बर प्रदेशबाट कांग्रेसका बिन विश्वकर्मालाई पछाडि पार्दै राष्ट्रिय सभाको सदस्य निर्वाचित भए । अब यी बालिघरे दलितका छोराले राष्ट्रिय सभा सदस्यका रूपमा सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि कस्तो भूमिका खेल्नेछन्, त्यो भने समयले देखाउने नै छ ।

तपाईको प्रतिक्रिया