logo

bar

किक–२ मा हुन सक्छिन् सलमानसँग दीपिका

एजेन्सी काठमाडौं, २९ माघ | माघ २९, २०७४

सलमान खान मुख्य भूमिकामा रहने किक–२ निर्माण घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ ।

तर, यो फिल्ममा हिरोइन को हुनेछ ? भन्ने कुतुहलता भने बढेको छ । किकमा सलमानका साथ ज्याक्लिन फर्नान्डिस थिइन् । तर, सलमानले किक–२ मा ज्याक्लिन नहुने घोषणा गरिसकेका छन् । उनले किकमै ज्याक्लिनको रोल सकिएको र सिक्वेल नयाँ कथामा बन्न लागेकाले ज्याक्लिन नदोहोरिने बताएका हुन् ।

सलमानसँग मात्र होइन, निर्माता साजिद नाडियावालासँग पनि ज्याक्लिनको निकै सुमधुर सम्बन्ध छ । तर, पनि निर्माता साजिद किक–२ मा अहिले चल्तीमा रहेकी र सकभर अहिलेसम्म सलमानसँग फिल्म नगरेकी हिरोइन लिने योजनामा छन् ।

सोहीअनुरूप साजिदले दीपिका पादुकोणलाई लिने सोच बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सलमान र दीपिकाले अहिलेसम्म सँगै काम गरेका छैनन् ।

त्यसैले पनि उनीहरूको जोडी नयाँ लाग्ने बताइन्छ । दीपिकाले एउटा मात्रै फिल्ममा भए पनि आफूलाई सलमानसँग काम गर्न मन लागेको बताउने गरेकी छिन् ।

पद्मावतको सफलताका कारण दीपिका अब त्यस्तै प्रमुख भूमिका मात्र रोज्ने पक्षमा छिन् । सलमान हिरो भएको फिल्ममा हिरोइनको भूमिका कमजोर हुने भएकाले दीपिकाले किक–२ मा काम गर्न हिच्किचाउने पक्का देखिन्छ ।

यो कुरा बुझेका निर्माता साजिद अहिले किक–२ को स्क्रिप्टमा हिरोइनको भूमिका दमदार बनाउनतिर
लागेको बताइन्छ ।

तपाईको प्रतिक्रिया