logo

bar

हेटौँडाबाट राजधानी सार्ने अवस्था आउँदैन

नयाँ पत्रिका काठमाडौं, २९ माघ | माघ २९, २०७४

डोरमणि पौडेल, एमाले संसदीय दलका नेता, प्रदेश ३

०३६ सालदेखि राजनीतिमा सक्रिय डोरमणि पौडेल तत्कालीन हेटौँडा नगरपालिकाको १० वर्ष मेयर भए । मेयर हुँदा उनले हेटौँडालाई हरियाली सहरको रूपमा विकास गर्ने, सहिद स्मारक बनाउने, सहरमा जथाभावी जग्गा प्लटिङ रोक्नेजस्ता राम्रा काम गरेर चर्चा बटुले । मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सांसदमा विजयी पौडेलले ज्येष्ठ सदस्यको रूपमा ३ नम्बर प्रदेशको पहिलो अधिवेशन पनि चलाए । सोही प्रदेशका लागि संसदीय दलको नेताका लागि पार्टीभित्रै भएको निर्वाचनमा उनी विजयी भए । त्यससँगै पौडेलले सोमबार (आज) मुख्यमन्त्रीको शपथ लिँदै छन् । प्रदेशको विकास र समृद्धि, प्रदेश राजधानी, मन्त्रिमण्डल विस्तारलगायत विषयमा नयाँ पत्रिकाकर्मी वीरेन्द्र ओली र सुदीप सिवाकोटीले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः

विगतमा हेटौंडा महानगरपालिकाको मेयर हुनुभयो, अहिले ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ?
१० वर्ष हेटौंडा महानगरपालिकाको नेतृत्व गरेँ । त्यस समय हेटौंडालाई चिनाउन जुन भूमिका निर्वाह गरेँ त्यसबाट मलाई अहिले थप आत्मविश्वास बढेको छ । त्यस समय विकासको काममा भूमिका खेलेको थिएँ । अहिले पनि त्यही अवसर आएको छ ।

मसँग काम गर्ने योजना र क्षमता दुवै छ । त्यसलाई लागू गर्न सक्ने पाटोमा म पूर्ण विश्वस्त छु । तर, एक्लैले मात्र सबै गर्न सक्छु भन्ने घमन्ड ममा छैन । म सबैलाई समेटेर, परामर्श लिएर विज्ञहरूको टोली बनाई सल्लाह सुझाब लिएर अघि बढ्छु ।

संघीयताको अभ्यासमा प्रदेश नम्बर ३ को पहिलो अधिवेशनमा मैले पाँच मिनेट सभा सञ्चालन गरेँ । मुख्यमन्त्री बनेपछि समस्यालाई कसरी हल गर्ने भन्नेतर्फ ध्यान दिनेछु । समृद्धि ल्याउन म तत्पर रहनेछु । योजना राम्रो भएमा मात्र विकास हुन्छ, त्यो भएन भने काम गर्न सकिँदैन ।

भ्रष्टाचार उन्मूलन मुख्य सामाधानको पाटो हो । ऐन–कानुन कडा हुनुपर्छ । १० वर्ष मेयर हुँदा मैले धेरै मुलुक घुमेर त्यहाँका विकासका मोेडेल नियाल्ने प्रयास गरेँ । त्यसको केही अंश हेटौंडामा लागू गर्न सफल भएँ ।

म दाबाका साथ भन्न सक्छु मुख्यमन्त्री भएपछि सक्षमता र कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सक्छु । मैले अहिले १० वर्ष मेयर हुँदाका बखतमा गरेको कामको क्रेडिट पाएको छु । म मुख्यमन्त्री हुन्छु भन्नेमा विश्वस्त थिइनँ ।

तर, नहुँदा पनि कसरी काम गर्ने भन्ने सोच बनाइसकेको थिएँ । त्यसवेला हरियाली बनाएको हेटौंडाले अहिलेसम्म सफा सहरको हिस्सा पाएको छ । विकास भनेको सबै जनताले महसुस गर्न सक्ने हुनुपर्छ भन्ने मेरो मान्यता हो । घरदैलोमा सडक जोड्दैमा विकास हुँदैन ।

जनताले विकासको अनुभूति गर्न पाए–पाएनन् भन्ने मूल कुरा हो । कामका प्राथमिकता हुन्छन्, बजेटको अभाव हुन्छ । अब अहिले सधँ केन्द्रीय सरकारले रकम देओस् भन्ने हिसाबमा काम गरेर हुँदैन । असल नीति बनाए सबै समस्या समाधान हुन्छ ।

भोलि (सोमबार) मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ, विकासका कस्ता योजना अघि सार्ने सोच बनाउनुभएको छ ?
रणनीतिक हिसाबमा प्रदेश नम्बर ३ मा कस्ता भौतिक संरचना छन्, कस्ता स्रोत–साधन छन् र कस्ता योजनालाई प्राथमिकतामा राख्ने भन्ने विषयलाई समेटेर डकुमेन्ट तयार पारी पार्टीलाई बुझाएको थिएँ । यस प्रदेशमा समेटिएका रसुवा, सिन्धुपाल्चोक, मकवानपुरजस्ता जिल्लामा भएको जलस्रोतको अवस्थाबारे, १३ वटै जिल्लासँग नजिक हुने मार्ग कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे पनि योजना बनाउन जरुरी छ ।

१३ वटै जिल्लालाई जोड्दा विकास निर्माणका काम तीव्र गतिमा गर्न सकिन्छ । त्यसले जनतालाई हामी एकै स्थानमा बसेका छौँ भन्ने अनुभूति गराउँछ । कम विकास भएका र विकास नै नभएका ठाउँलाई बढी फोकस गर्नुपर्छ ।

हेटौंडामा एउटा मेडिकल कलेज छैन, प्राविधिक कलेज छैन, त्यसतर्फ ध्यान दिन जरुरी छ । प्रदेशको समानुपातिक विकासका लागि सहरको चाप पनि घटाउनु जरुरी छ । काठमाडौंमा बढी चाप छ । समानुपातिक विकास गर्न सकियो भने काठमाडौंमा चाप घट्छ र प्रदेशका सबै जिल्लामा जनता बस्न रुचाउँछन् ।

हामीले विकास निर्माण अघि बढाउँदा पहिले त्यसको श्रेणी छुट्याउन जरुरी छ । कस्ता स्रोत छन् र कसरी प्रयोग गर्ने भन्ने निश्चित हुनुपर्छ ।

यस प्रदेशमा हिमालदेखि तराईसम्मका भूभाग जोडिएका छन् । धेरै प्राकृतिक विविधता र अथाह स्रोत–साधन छन् । पहिले एउटा टिम बनाउँछु । जसमा कृषि, पर्यटन, सडक, उद्योग, शिक्षा र सहरी विकास क्षेत्रका विज्ञ समेटेर कसरी विकासका काम अघि बढाउन सकिन्छ भन्ने अध्ययन गर्नेछौँ ।

मकवानपुरमै सबै हुनुपर्छ भन्ने होइन । तर, समानुपातिक विकास महत्वपूर्ण पक्ष हो । पूर्वाधारदेखि स्रोतहरू प्रयोग गरेर कसरी अघि बढ्ने भनेर एकजना विज्ञलाई प्लानिङ डकुमेन्ट तयार गर्ने जिम्मा दिइसकेको छु । अहिले ऐन, कानुन केही बनेको छैन ।

योजनाविना कुनै काम गर्नु हुँदैन । त्यसरी योजनाविना विकास गर्दा दीर्घकालीन हुँदैन र धेरै घाटा व्यहोर्नुपर्छ । अवधारणासहितको विकासलाई प्राथमिकतामा राख्नेछु । नयाँ सहरको अवधारणा कार्यान्वयनमा ल्याउने पाटोलाई प्राथमिकतामा राख्नेछु ।

मान्छे अब गाउँमा होइन, सहरमा बस्न रुचाउने भइसकेका छन् । सहर भन्नासाथ गाउँको भन्दा केही थप सुविधा हुन्छ नै । प्रत्येक नगरपालिकालाई विकसित सहर बनाउन जरुरी छ । त्यसका लागि भूउपयोग योजना ल्याउने र जथाभावी जग्गा प्रयोग गर्न नदिने गर्नुपर्छ ।

७ सय ५३ वटै स्थानीय तहले पहिले भूउपयोग योजना बनाउनुपर्छ, त्यसो गरेमा जथाभावी जग्गा प्रयोग हुँदैन र व्यवस्थित सहरीकरणको विकास हुन्छ ।

अधिकांश सांसदले हेटौंडा राजधानी पायक परेन, सार्नुपर्छ भन्ने धारणा राख्दै आएका छन् । यो विषयमा तपाईंको धारणा के छ ?
अहिलेसम्म राजधानी सार्ने विषयमा कुनै सांसदले मसँग केही कुरा गर्नुभएको छैन । बाहिर के कुरा गर्नुभएको छ, त्यस विषयमा मलाई थाहा छैन । राजधानी त एकपटक तोकिएको ठाउँमा हुन्छ, यो सारिरहने विषय होइन ।

अर्को कुरा के हो भने राजधानीसँग जनताको पहँुच हुनु जरुरी छैन । अहिलेसम्म सिंहदरबारभित्र प्रवेश नगर्ने जनता कति होलान् ? के तिनीहरूले केही सेवा–सुविधा नै पाएका छैनन् त ? प्रदेशको राजधानी भनेको सिंहदरबार नै हो । राजधानी आउने भनेको सांसद र नेता हो, राजधानी आउन एक दिन समय लाग्छ भनेर दुःख पाइयो भनेर हुन्छ ?

यसका लागि हामीले यहीँ सेवा–सुविधा दिन्छौँ भनेका छौँ त । हामी अहिले सांसदलाई सुविधा दिने सवालमा बढी केन्द्रित छौँ । गेस्ट हाउसमा छुटको व्यवस्था, खानपिन, सहुलियत र विभिन्न सुविधा दिएका छौँ । यसलाई निरन्तरता दिनेछौँ । यति गर्दा पनि हेटौंडा हुँदै हुँदैन भन्ने कुरा होइन र भन्न पनि मिल्दैन ।

अर्को कुरा राजधानी सार्ने विषयमा संसद्मा छलफल चल्दैमा केही हुँदैन । दुईतिहाइ बहुमतले मात्र राजधानी सार्न सकिन्छ । त्यसका लागि संसदमा प्रस्ताव आउन जरुरी हुन्छ र हामी त्यो प्रस्ताव नै आउन दिँदैनौँ ।

हिजोका दिनसम्म मैले यो कुरा बोल्न मिल्दैन थियो किनकि म आफैँ सभामुख भएर सभा सञ्चालन गरिरहेको थिएँ । तर, आज एउटा ठूलो दलको संसदीय दलको नेता भएको छु । म सभामुख भए पनि मुख्यमन्त्री भए पनि यो कुरामा अडान लिनेछु ।

तर, मलाई लाग्छ, हेटौंडाबाट राजधानी सार्ने अवस्था नै आउँदैन । अब जबर्जस्त ढंगले सार्ने कुरा आयो भने त म एउटाले रोकेर रोकिने कुरा होइन । मैले के गर्न सक्छु ?

यस प्रदेशको नामकरणको विषयमा सांसदहरू विभाजित देखिन्छन् । कुनै सांसदले बागमती प्रदेश राख्नुपर्छ भन्छन्, कसैले पहिचानसहित भनेका छन् । तपाईंको विचारमा नाम के राख्दा उपयुक्त हुन्छ ?
यो प्रदेश देशकै राजधानी काठमाडौंसँग जोडिएको छ । काठमाडौं यो प्रदेशमा समावेश भएको छ । त्यसकारण पनि मेरो विचारमा नाम राजधानी प्रदेश हुनुपर्छ । यसको नाम नै राजधानी राख्दा उचित हुन्छ ।

प्रदेश घोषणा भएदेखि मैले राजधानी प्रदेश हुनुपर्छ भनेको हुँ र मेरो धारणा परिवर्तन हुँदैन । भोलिका दिनमा संसद्मा छलफल हुँदा पनि मैले राजधानी प्रदेश नामकरण प्रस्ताव गर्नेछु । अरू सांसदले के भनेका छन्, त्यो विषयमा म जानकार छैन र चासो पनि लिएको छैन । सबै सांसदले आआफ्नै धारणा राखेका हुन सक्छन,् तर सबैको धारणाको कदर गर्दै ‘राजधानी’ प्रदेश राख्नु उपयुक्त हुन्छ ।

यो प्रदेश राजधानी काठामाडौं, चीन र भारतसँग त्रिदेशीय सम्बन्ध रहने प्रदेश हो । यसबाट कसरी फाइदा लिन सकिन्छ ?
हाम्रो परराष्ट्र नीति सन्तुलित हुनुपर्छ । चीनले काठमाडौंसम्म रेलमार्ग ल्याउने योजना अघि सारेको छ । त्यस्तै विभिन्न विकास निर्माणदेखि सडक सञ्जाल जोड्न भारतले महत्वपूर्ण भूमिका खेलेको छ । अब बिस्तारै नेपालमा रेल चल्दै छ ।

चीनको रेल यहाँ गुड्नुभन्दा अघि भारतले रेल चलाउने मान्यताको विकास गर्न सक्छ । यो हाम्रा लागि फाइदाको कुरा हो । हामीले सकेसम्म दुई मुलुकसँग समान सम्बन्ध स्थापित गरेर विकास निर्माणका काम भित्र्याउन र फाइदा लिन सक्नुपर्छ ।

हेटौंडा औद्योगिक क्षेत्रको रूपमा रहेको छ, तर दैनिक करिब ४ घन्टा लोडसेडिङ छ, धेरै उद्योग बन्द छन्, समग्रमा औद्योगिक वातावरण कसरी बनाउन सकिन्छ ?
औद्योगिक वातावरण बनाउने सवालमा म अत्यन्त गम्भीर छु । यहाँ भएका उद्योग विभिन्न कारणले बन्द र विस्थापित भइरहेका छन् । राजस्व धेरै बढेको छ । उद्योगीको मनोबल गिरेको अवस्था छ । जसले गर्दा उत्पादनमा गिरावट, गुणस्तरमा कमी आउँछ ।

मूल्य बढी हुन्छ र उपभोक्ता मारमा पर्छन् । अबको उत्पादन प्रणाली भनेको बिक्री मूल्य बढाउने होइन, उत्पादन मूल्य घटाएर सर्वसुलभ मूल्यमा बिक्री गर्ने हो । जसले गर्दा बिक्री बढी हुन्छ र उद्योग फाइदामा जान्छ । यसरी उद्योग दीर्घकालसम्म सञ्चालन हुन्छ ।

उद्योगको उत्पादनको मूल्य बढी भएपछि सामानको मूल्य बढी हुन्छ र अन्य मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन, अहिले समस्या नै यही हो । हामी उद्योगपतिसँग छलफल गर्छौं, सल्लाहसुझाब ग्रहण गर्छौं र गएगुजे्रका उद्योगलाई विस्थापित गर्छौं ।

देश विकासमा निर्यातमूलक उद्योग स्थापनालाई प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि कस्ता समस्या छन्, त्यसलाई तत्काल समाधान गर्न जरुरी छ । स्थापना हुने उद्योगले निर्यात गर्न सक्नुपर्छ, त्यसले व्यापार घाटा रोक्छ ।

हेटौंडाका सडक साँघुरा छन् । विस्तार कार्यमा तपाईंकै विरोध छ । राजधानी बनेपछि यस समस्याको समाधान कसरी गर्नुहुन्छ ?
राजधानीका लागि सडक विस्तारले कसरी रोकेको छ ? सडक विस्तारको मुद्दामा म निरन्तर लड्दै आएको छु । हेटौंडा बजार क्षेत्रमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र कान्ति लोकपथ पर्छ । सडक विस्तारपछि हेटौंडाका सडकलाई अन्तर्राष्ट्रिय राजमार्ग बनाउने सवाल छ ।

बजार क्षेत्रबाट कसरी राजमार्ग विस्तार गर्न सकिन्छ ? यहाँ सडक विस्तार गर्दा सबै घर भत्किन्छन् । कुनै घर बाँकी रहँदैनन्, हेटौंडालाई मरुभूमि बनाउने हो र ? जनतालाई सुकुम्बासी बनाउन मिल्छ ? सडक विस्तार गर्न सकिन्छ, तर राज्यले उनीहरूलाई उचित मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्छ, ताकि भोलि उनीहरू सुकुम्बासी नबनून् ।

मुख्यमन्त्रीको शपथग्रहणसँगै मन्त्रिमण्डल विस्तार कहिलेसम्म हुन्छ ?
फागनु ३ गतेसम्म मुख्यमन्त्रीको शपथग्रहण हुनुपर्ने कानुनी व्यवस्था छ । सोहीबमोजिम आजै मुख्यमन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम छ । छोटो समयमा मन्त्रिमण्डल गठनले पूर्णता नपाउला किनकि यहाँ एमाले र माओवादीले मन्त्रलाय बाँड्ने सवाल छन् ।

त्यसकारण मन्त्रिमण्डल गठनका लागि १५ दिन वा १ महिना लागे पनि सानो मन्त्रिमण्डल बनाएर काम अघि बढाउने सोच बनाएको छु । संविधानमा २२ मन्त्रालय बनाउने उल्लेख गरिएको छ । तर, त्यो बढी हुन्छ र कुनै हालतमा बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो ।

कार्यदलले १० प्रतिशतभन्दा बढी नबनाउने भनेको छ । यो प्रदेशमा १० प्रतिशत भनेको अधिकतम ११ वटा मन्त्रालय हुन्छ । ११ जनाभन्दा बढीको मन्त्रिमण्डल बन्दैन । अहिले ७ वटा मन्त्रालय स्थापना भइसकेका छन् । त्यसैले पहिलो चरणमा ७ मन्त्रालयभन्दा धेरै हुनुहुँदैन । ७ मन्त्रालयले नपुगे एक–दुई थप्न सकिन्छ ।

तपाईको प्रतिक्रिया