logo

bar

निःशुुल्क प्राथामिक उपचार तालिम लिएर नेपाली युवा देश फर्कंदै

लक्ष्मण खनाल युएई,२८ माघ | माघ २७, २०७४

विदेशमा सिकेको सीप र क्षमतालाई देशमा लगानी गर्ने उद्देश्यका साथ युएईमा व्यवसाय गरिरहेका व्यवसायी ओम उप्रेती निःशुल्क प्रथामिक उपचार तालिम लिएर नेपालका विभिन्न सात जिल्लामा जाने भएका छन् ।

शुक्रबार बरदुबईमा पत्रकार सम्मेलन गरेर उनले उक्त कुरा जानकारी गराएका हुन् । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा उप्रेतीद्वारा युएईमा सञ्चालित डिस्कभरी रोयल स्पोर्टस् एलएलसीले पत्रकार सम्मेलन आयोजना गरेको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिँदै उप्रेतीले प्राथमिक स्वास्थ्य चेतनाको अभावमा धेरै नेपालीहरूको ज्यान जाने गरेकाले उक्त समस्या न्युनीकरण गर्ने उद्देश्यका साथ अभियान शुरु गरेको बताए ।

देशप्रतिको दायित्व र योगदान गर्ने योजना बनाएको बताउँदै उनले यो अभियानलाई दुई वर्षभित्रमा देशभर लगिने बताए ।

उप्रेतीले उक्त पत्रकार सम्मेलनमा हृदयाघातको प्रथामिक उपचारको डेमो प्रस्तुत गरेका थिए ।
उनका अनुसार अभियान आगामी चैत्र १ गते बिहीबार चितवनबाट शुरु हुनेछ ।

चितवनमा खैरेनी नगरपालिका र भरतपुर महानगरपालिकामा उक्त तालिम दिइने छ ।

 

चैैत्र २ गने धादिङको बेनिघाट र गजुरीमा, चैत्र ३ गते तनहुँको बन्दिपुर र सुक्लागण्डकीमा, चैत्र ४ गते कास्कीको निर्मलपोखरी र कृस्तीमा, चैत्र ५ गते दोलखाको भीमेश्वर नगरपालिका र चरिकोटमा अभियानले तालिम दिनेछ ।

चैत्र ७ गते सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका र बलेफी गाँउपालिकामा र चैत्र ८ गने बिहीबार काभ्रेपलान्चोकको बनेपा नगरपालिका र पनौती नगरपालिकामा गएर समापन हुनेछ ।

तालिम प्रत्येक जिल्लामा बढीमा १०० जनालाई दिइने र तालिममा प्रथामिक उपचारको बारेमा सिकाइने उनले बताए ।

प्राथामिक उपचारको चेतना नभएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भनेर बेहोश हुने, हिस्टेरिया, अंगभंग हुने, निसास्सिने, करेन्ट लाग्दा, सर्पको टोकाई, रक्तस्राव, आगोले पोल्दा, विष सेवन, हृदयघात, किराको टोकाई, दम, लु लाग्ने, स्वासप्रस्वास र रक्तसञ्चारमा समस्या, हृदयाघात जस्ता समस्याहरुमा विरामीलाई कसरी प्रथामिक उपचारमार्फत हस्पिटल नपुगुञ्जेल जीवित राख्न सकिन्छ भन्ने कुरा तालिममा सिकाइनेछ ।

उक्त अभियानलाई एनआरएन युएई र ग्रिनलाइन ट्राभल्स एन्ड टुर्सले सहयोग गर्ने उनले जानकारी दिए । साथै, उप्रेतीद्वारा नेपालमा दर्ता गरिएको डिस्कभरी रोयल स्पोर्टस् प्रालिको सहकार्य रहनेछ ।

तपाईको प्रतिक्रिया