logo

bar

आइसिसी डिभिजन–२ : ओमानसँग नेपाल पराजित

नयाँ पत्रिका काठमाडौं, २७ माघ | माघ २७, २०७४

विश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनसिपमा नेपाल शुक्रबार ओमानसँग ६ विकेटले पराजित भएको छ । ओमानले नेपालमाथि फराकिलो जित निकाल्ने क्रममा ८९ बलअघि नै जित दर्ता गरेको थियो ।

नेपालले लिगअन्तर्गत पहिलो खेलमा आयोजक नामिबियामाथि १ विकेटको रोमाञ्चक जित निकालेको थयो । ओमान पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो ।

ओमानलाई सहज लक्ष्य
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । नेपाललाई सस्तोमा समेट्न ओमानका कालिमुल्लाहले २८ रन खर्चेर ४ विकेट लिएका थिए । उनले आफ्नो इनिङमा दुई मेडन ओभर फ्याँकेका थिए ।

प्रत्युत्तरमा ओमानले ३५.१ ओभरमा ४ विकेट गुमाएर १ सय ३९ रन जोड्दै प्रतियोगितामा पहिलो जित दर्ता ग-यो ।

कमजोर ब्याटिङ
नेपालले ओमानविरुद्ध गतिलो ब्याटिङ गर्न सकेन । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक २२ रन बनाएका थिए । ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए ।

अर्का ओपनर दिलीप नाथले ४९ बल खेलेर १९ रन बनाए । कप्तान पारस खड्का पनि ४२ बल खेल्दै १७ रनमै आउट भएपछि नेपाल दबाबमा प¥यो । आरिफ सेख ६ रनमै आउट भए । शरद र दीपेन्द्रसिंह ऐरीले नेपाली इनिङ केही समय सम्हाले ।

ऐरी र भेषवाकरले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरे । ऐरी ३०.३ ओभरमा २० रनको अवस्थामा पेभिलियन फर्किए । नामिबियाविरुद्धको खेलमा नायक सिद्ध वसन्तले ओमानविरुद्ध भने १ रन मात्र बनाए ।

अकिवको ४६ रन
ओमानले पहिलो विकेट २ रनमा गुमाएको थियो । तर, त्यसपछिका ब्याट्सम्यानले धैर्यपूर्वक ब्याटिङ गरेपछि ओमानको जित सम्भव भयो ।

अकिव इल्यासले सर्वाधिक ४६ रन बनाए । अकिवले ५३ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै, वैभव वाटेगाओनकारले ३७ रन बनाए । वैभवले खेलको १ मात्र छक्का प्रहार गरे । उनले ७१ बलको सामना गरेका थिए ।

ओमानका खवार अलीले ११ रन बनाए भने सुल्तान अहमद १६ रनमा नटआउट रहे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी र वसन्त रेग्मीले समान १–१ विकेट लिए ।

३ विकेट २७ रनमा
विलाल खानको बलमा जेसन मकसुदद्वारा भेषवाकर क्याचआउटपछि नेपालको ब्याटिङ झनै कमजोर बन्यो । भेषवाकर आउट हुँदा नेपाल १११–७ को स्थितिमा थियो । नेपालले थप २७ रन स्कोर बोर्डमा चढाउँदा बाँकी ३ विकेट गुमाएको थियो ।

रोहित पौडेल र सोमपाल कामीले आठौँ विकेटका लागि १२ रनको साझेदारी गरे । रोहित १४ रनमा आउट भए भने सोमपाल १७ रनमा अविजित रहे ।

तपाईको प्रतिक्रिया