logo

bar

जहाँ प्रेम, सेक्स र विवाह पढाइन्छ !

अाश्विनी काेइराला, लेखक काठमाडाैं | माघ २५, २०७४

गत ३ भदौ बेग्लै तनाव थियो । उपन्यासको अन्त्य कसरी गर्ने भन्ने कुराले मथिंगल खाइरहेको थियो । तीनवटा थिम मनमा आइरहेका थिए । तर, कुनैले पनि चित्त बुझाइरहेका थिएनन् । त्यो भारबाट थोरै विश्राम लिन लेख्दै गरेको पहिलो ड्राफ्ट प्रकाशककहाँ पठाएको थिएँ ।

दसैँमा जसरी पनि पुस्तक निकाल्नुपर्ने दबाब पाठक र प्रकाशक दुवैतिरबाट थियो । अन्त्यविनाको उपन्यास पठाएर त्यो दिव्य पटाक्षेप मस्तिष्कमा उत्रेला भनेर कुरिरहेको थिएँ । ‘यो उपन्यासको थिम कहाँबाट ल्याउनुभयो ?’ फोनमा चर्चित कवि तथा मेरा प्रकाशक भूपेन्द्र खड्काको अनौठो स्वर भएको प्रश्न तेर्सियो । ‘किन र ?’ मैले उनको प्रश्नलाई धेरै महत्व नदिई उल्टो प्रश्न सोधेँ ।

कारण, जुन परिवेश उपन्यासमा खडा गरिएको थियो, त्यो मेरो मस्तिष्कमा उत्रिएको दिन मैले आफ्नो खुसी थेग्न सकेको थिइनँ र छेउको मोबाइलमा बजिरहेको गीतमा सुर मिलाएर नाचेको थिएँ । त्यसको असर पुस्तकमा देखिएको छ भन्ने फोनमा आएको उनको आतुरताले प्रस्ट्याइरहेको थियो ।

‘तपाईंजत्तिको मानिसले कुनै पुस्तकबाट यस्ता कुरा उडाएको थाहा भयो भने करिअर नै बर्बाद हुन्छ । कहाँबाट ल्याउनुभयो, उपन्यासको थिम ?’ उनी मेरो सिर्जनामा आश्वास्त हुन खोजिरहेका थिए ।

भोलिपल्टै हाम्रो भेट भयो । त्यो भेटमा उनले पुस्तकको प्रकाशन मिति, पुस्तकको प्रमोसन र त्यसको डिजाइनको पनि खाका कोरिसकेका थिए । त्यो भेटमा उनी मेरो उपन्यासको थिम कतैबाट लिइएको त होइन भन्ने कुरामा आश्वास्त हुन खोजिरहेका थिए । उनको यो हतारो र चासो देख्दा महसुस भयो, उपन्यास आफ्नो पहिलो ड्राफ्टमै सुन्दर बनेको छ ।

उनी दसैँअघि नै पुस्तक निकाल्न हतारिरहेका थिए । बाहिर पुस्तकले जतिसुकै प्रशंसा पाउने अवस्था किन नहोस्, प्रकाशक खुसी भएनन् भने त्यो राम्रो कलेवरमा आउँदैन । यसअघि जुकरबर्ग क्याफे र उनीले रचेका बिक्री र प्रसिद्धीको इतिहासलाई यो पुस्तकले ब्रेक गर्छ भन्नेमा उनी विश्वस्त देखिए । नभन्दै त्यो आज सत्य भइरहेको छ ।

पुस्तकले एउटा यस्तो कलेजको कल्पना गरेको छ, जहाँ प्रेम, विवाह र यौनका सबै पाटाको अध्ययन–अनुसन्धान हुन्छ । त्यहाँ यस्ता व्यक्ति पढ्न जान्छन्, जो प्रेम, विवाह र यौनको गुढ रहस्य पर्गेल्न चाहन्छन् ।

यसका एकजना नायक कलेजका प्रमुख छन् भने अर्का नायक विद्यार्थी । यी शिक्षक र विद्यार्थीका बीचमा एउटी यस्ती युवती छिन्, जसले आफ्नै साथीलाई प्रेमको प्रयोगशाला बनाइरहेकी छिन् । यिनै सिद्धान्त, तिनको प्रयोग र उनीहरूबीचको प्रेमका कथा नै प्रेमालयको मुख्य विषय हो ।

करिब दुई दशक लामो पत्रकारितमा मैले युवा पुस्ताका कथा मात्रै लेखेँ । यसरी रिपोर्टिङ गर्दा मैले थाहा पाएँ, मानवजीवनको पहिलो प्रहर बाल्यकालमा बित्छ । यो बाल्यकाल आफ्नो हातमा हँुदैन । परिवारले चाहेको जीवन ती बालबालिकाले बिताउनुपर्छ ।

मानिसको अन्तिम प्रहर वृद्धावस्थामा बित्छ । केही अपवाद छाडेर यो जीवन पनि अर्काकै हातमा हुन्छ । रोग, शोक र विभिन्न परिवेशले उनीहरू एउटा घरमा, आफन्तहरूको दिएको स्वीकार गरेर बाँच्नुपर्छ । तर, युवा अवस्था मात्र यस्तो समय हो, जसले आफ्नो जीवनको निर्णय आफैँले गर्न सक्छन् ।

आफूले चाहेको जागिर, आफूले मन पराएको साथीसँग विवाह र आफूले मन लागेको करिअर बनाउन स्वतन्त्र हुन्छन् । यसमा अपवाद नहुने होइन, तर कुनै पनि अभिभावकले आफ्ना सन्तानको इच्छालाई रोक्ने प्रयास गरे पनि बन्द गर्न सक्तैनन् ।

मानवजीवनमा प्रेम, विवाह र यौनको निर्णय नितान्त व्यक्तिगत हुन्छ । यस्तो महŒवपूर्ण कुराको शिक्षा कुनै पनि कलेज, ट्युसन सेन्टर अथवा कोचिङ क्लास लिन सम्भव छैन । सरकारले यो विषयलाई प्राज्ञिक विषय नै मानेको छैन । एउटा करिअर बनाउन वा जागिर खान योग्य बनाउन देशमा हजारौं स्कुल–कलेज छन्, तर प्रेम, विवाह र यौनका विषयमा ज्ञान दिने कुनै संस्था छैनन् ।

जहाँ प्रेम, विवाह र यौनका सबै पाटाको अध्ययन–अनुसन्धान हुन्छ । त्यहाँ यस्ता व्यक्ति पढ्न जान्छन्, जो प्रेम, विवाह र यौनको गुढ रहस्य पर्गेल्न चाहन्छन् ।

जुन दिन यो कुराको बोध भयो, यस विषयमा लेखिनुपर्छ र मैले जानेका, सिकेका विषय आगामी पुस्तालाई दिनुपर्छ । ता कि आफैँ प्रेमालय खोल्न नसके पनि उपन्यासको माध्यमबाट युवा पुस्ताले त्यो जानकारी प्राप्त गर्न सकून् ।

यसका लागि मैले अहिलेसम्म पढेका प्रेमका विषयलाई सिलसिलेवर ढंगल राख्न थालेँ । यसरी राख्दै जाँदा थाहा भयो, प्रेमालयको शिक्षा घरघरबाट आइरहेको छ । मैले २० वर्षदेखि लगातार भेटिरहेका नायक–नायिका, गायक–गायिका, उद्योगी–व्यवसायी, समाजसेवी र राजनीतिज्ञ सबैले आफ्नै किसिमले प्रेम, विवाह र यौनसम्बन्धी ज्ञान दिइरहेका छन् । केवल त्यो व्यवस्थित रूपमा बाहिर आएका छैनन् । मैले भेटेका पात्र र उनीहरूले बोकेका जीवन–प्रेम दर्शनलाई लिपिबद्ध गर्दा गर्दै यो उपन्यास तयार भयो ।

यो उपन्यासमा जति पनि पात्र छन्, युवाकेन्द्रित पत्रकारिता गरिरहेका व्यक्तिले चिन्ने पात्र नै हुन् । यसमा केवल नाम परिवर्तन गरिएको छ । काठमाडौंकेन्द्रित उपन्यास भएकाले यसका पात्र काठमाडौंमा बस्ने युवाको भाषा बोल्छन् ।

केही अंग्रेजी शब्दले प्रधानता पाउनुको कारण पनि सायद यही हो । त्यसकारण यसले सम्पूर्ण नेपाली युवालाई प्रतिनिधित्व नगर्न सक्छ । तर, प्रेमका सिद्धान्त र कथा भने नेपाल मात्र होइन, विश्वपरिवेशका सबैमा लागू हुन्छ भन्ने लाग्छ ।

यसमा आएका सिद्धान्त हामीमध्ये धेरैले लुकेर प्राक्टिस गरिएका सिद्धान्त हुन् । पहिलोपटक त्यो लिखित रूपमा बाहिर आएको मात्र हो । ती लेख्न धेरै गाह्रो भएन । विषय निक्र्योल भएको ६ महिनामै मैले उपन्यासको पहिलो ड्राफ्ट तयार पारिसकेको थिएँ । तर, यसभित्रका जति पनि कथा छन्, ती भने मैले २० वर्षदेखि खोजेका, भेटेका मानिस र उनीहरूका कथा हुन् ।

उपन्यासको पहिलो ड्राफ्ट नै प्रकाशकीय टिमले छाप्न उपयुक्त ठह¥यायो । त्यसको सम्पादनको जिम्मा भूपेन्द्र आफैँले लिए । त्यति मात्र होइन, म उपन्यासको तीनवटा अन्त्य लेखेर पनि कुन अन्त्य राख्ने भनेर अल्मलिरहेको थिएँ । चौथो अन्त्य भूपेन्द्रको दिमागमा झट्ट आइदियो । उनले भने, ‘उपन्यासको योभन्दा सुन्दर अन्त्य अरू हुनै सक्तैन । म दाबीका साथ भन्छु, पाठकले उपन्यासलाई मन पराउँछन् र यसको अन्त्य यसैगरी हुनुपर्छ ।’
मैले उनको अन्त्यलाई सदर गरेँ । सोचेँ, उपन्यासको यति राम्रो परिवेश, कथा र पात्र बुन्नेलाई यति सजिलो अन्त्य हुन्छ भन्ने कुरा किन आएन ?
(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया