logo

bar

राष्ट्र बैंकका कारण सेयर बजारमा उतारचढाव

प्रत्येक अवाले/नयाँ पत्रिका काठमाडौं, २४ माघ | माघ २४, २०७४

पुँजीवृद्धिको निर्णयले पहिले माग बढायो, पछि आपूर्ति, अढाइ वर्षमा थपिए २ अर्ब ८४ करोड कित्ता सेयर

बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धि गर्ने नेपाल राष्ट्र बैंकको नीतिका कारण नेपालको सेयरबजारमा तीव्र उतारचढाव आएको देखिएको छ । पुँजीवृद्धिको निर्णयपछि सुरुका दिनमा हकप्रद र बोनस सेयरको लोभमा पुँजीबजारमा अत्यधिक माग बढेको थियो । त्यसले सेयर परिसूचक नेप्सेलाई १८८१ विन्दुको उच्च तहमा पुर्‍याउन मद्दत गर्‍यो । र बोनस र हकप्रद सेयरको बाढी आएपछि पछिल्ला दिनमा परिसूचक निरन्तर घटिरहेको छ ।

आर्थिक वर्ष ०७३-७४ मा नेपाली धितोपत्र बजारमा १ अर्ब ६३ करोड ८२ लाख ८ हजार १ सय ९० कित्ता सेयर थपिएका छन् । नेप्सेले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार सो अवधिमा १ सय ७३ कम्पनीले बोनस सेयर जारी गरेका थिए । त्यस्तै १२ कम्पनीले आइपिओ, ३ कम्पनीहरूले एफपिओ, ७३ कम्पनीहरूले हकप्रद सेयर जारी गरेका थिए भने तीन म्युचुअल फन्ड र पाँच बन्ड बजारमा आएको थियो । आर्थिक वर्ष ०७२-७३ मा २ सय ३० कम्पनीको कुल सूचीकृत सेयर संख्या २ अर्ब १० करोड ५४ लाख ३७ हजार कित्ता रहेको थियो । सो संख्यामा वृद्धि भएर समीक्षा अवधिमा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार पुगेको छ । तर, कम्पनीहरूको संख्या भने घटेर २ सय ८ मा सीमित भएको छ । सो अवधिमा कुल सेयर संख्या गणीतय हिसाबमा हेर्दा ३ अर्ब ७३ करोडभन्दा बढी हुन्छ । तर, कम्पनीहरूको मर्जर र एक्विजिसनले गर्दा सूचीकृत सेयर संख्या २ अर्ब ९६ करोड मात्र भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बताए ।

बजारमा किन बढ्यो सेयर संख्या
नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई २०७४ पुससम्म ८ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने निर्देशन दिएको छ । त्यसैगरी राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकलाई १ अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकालाई ५० करोड, राष्ट्रियस्तरका र चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्सलाई ८० करोड र एकदेखि तीन जिल्लाका फाइनान्सलाई ४० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो ।

निर्देशनपछि थपिए २ अर्ब ८४ करोड कित्ता सेयर
७ साउन ०७२ मा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । सो निर्देशनपश्चात् चालू आवको पुस मसान्तसम्ममा धितोपत्र बजारमा २ अर्ब ८४ करोड ७१ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भइसकेको छ । सोमध्ये आव २०७२-७३ मा २७ करोड ८९ लाख कित्ता, आव २०७३-७४ मा १ अर्ब ६३ करोड ८२ लाख कित्ता र आव २०७४-७५ को पुस मसान्तसम्ममा ९२ करोड ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

‘केन्द्रीय बैंककै निर्देशनले चुक्ता पुँजी पुर्‍याउन कम्पनीहरूले बोनस तथा हकप्रद सेयर जारी गरेका कारण बजारमा आपूर्ति बढेको हो ।’ नेप्सेका प्रवक्ता पराजुलीले भने, ‘आपूर्ति बढे पनि बजारमा सोअनुसारको माग छैन । यहीकारण बजार घट्न केही दबाब पुगेको छ ।’

सेयर आपूर्ति बढे पनि बजार विस्तार भने हुन सकेको छैन । आजभन्दा १० वर्ष पहिलेजस्तो सेयरबजारको अवस्था थियो अहिले पनि त्यस्तै रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । उनले भने, ‘सेयर संख्यामा विस्तार भए पनि खपत गर्ने पुँजीबजारका पूर्वाधार विस्तार नभएका कारण बजारले आपूर्ति थाम्न नसकेको हो ।’ बजारमा मागभन्दा बढी आपूर्ति भएका कारण सेयर मूल्य दिनानुदिन घट्दै गएको उनको भनाइ छ । ‘अनलाइन कारोबार, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने कार्य भए बढ्दो आपूर्ति थाम्न सकिन्छ,’ उनले भने । त्यस्तै, राजधानीकेन्द्रित सेयर बजारलाई विकेन्द्रित गर्न सकेमा बजारमा माग बढाउन सकिने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीको भनाइ छ । उनले भने, ‘केही ब्रोकर कम्पनीहरू बाहिर गएका छन् । तर, यो अझ अपुग छ । अनलाइन कारोबार र लगानीकर्ता चेतनामूलक कार्यक्रमहरू गर्न सकिए बजारमा माग बढाउन टेवा पुग्नेछ ।’

६ महिनामा ७ प्रतिशत बढ्यो सार्वजनिक निष्कासन
चालू आवको प्रथम ६ महिनामा सार्वजनिक निष्कासन भएको सेयर संख्या ६ दशमलव ९८ प्रतिशत बढेको छ । सो अवधिमा सार्वजनिक निष्कासनको रकम भने ३० दशमलव ४५ प्रतिशत बढेको छ । सो अवधिमा ४६ वटा कम्पनीलाई २७ अर्ब ७६ करोडबराबरको सार्वजनिक निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।

पुस मसान्तसम्ममा नौवटा कम्पनीले २ अर्ब ८६ करोड रकमबराबरको आइपिओ अनुमति पाएका छन् । त्यस्तै तीनवटा कम्पनीले २ अर्ब ६७ करोडबराबरको एफपिओ, चारवटा म्युचुअल फन्डले ४ अर्ब ७० करोडबराबरको एकाइ तथा ३० वटा कम्पनीले १७ अर्ब ५३ करोडबराबरको हकप्रद निष्कासन गर्न अनुमति पाएका छन् । गत आवको तुलनामा बोनस सेयरमा भने कमी आएको छ । गत आवको पुस मसान्तसम्ममा ५२ कम्पनीको १० अर्ब ८९ करोडबराबरको बोनस सेयर सूचीकृत भएको थियो । चालू आवको सोही अवधिमा ३० कम्पनीले ७ अर्ब ८२ करोडबराबरको मात्र बोनस सेयर सूचीकृत गराएका छन् ।

सो अवधिमा १५ कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँबराबरको आइपिओ निष्कासनका लागि आवेदन दिएका छन् । सोमध्ये ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजातमा अध्ययन भइरहेको छ । अन्य १० कम्पनीको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधन गर्न पठाइएको छ ।

त्यसैगरी, ११ अर्ब ७६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनका लागि १७ कम्पनीले आवेदन दिएका छन् । सोमध्ये तीन कम्पनीलाई अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको, तीनवटा कम्पनीको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भइरहेको र ११ वटा कम्पनीको आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

सेयर बजारमा अढाइवर्षे उतारचढाव
राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिँदा २०७२ साउनको पहिलो साता नेप्से परिसूचक १ हजार ५३ बिन्दुमा थियो । सो निर्देशनपछि सेयर बजारमा उत्साह थपियो । त्यसपछि बजारमा बुलिस ट्रेन्ड देखिएको थियो । नेप्से परिसूचक निरन्तर उकालो लागेर १ हजार ८ सय ८१ को ऐतिहासिक उचाइमा पुग्यो । सो अवधिमा नेप्से ७८ दशमलव ६३ प्रतिशत बढेको थियो । चुक्ता पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरूले हकप्रद, बोनस तथा एफपिओ जारी गर्न थालेपछि बजारमा सेयर आपूर्ति बढ्यो । आपूर्ति थाम्न नसकेपछि बजार ओरालो लाग्न दबाब पुग्यो । सो विन्दुबाट ओरालो लागेको नेप्से मंगलबार १ हजार ३ सय ९४ विन्दुमा पुगेको छ । यो उच्च विन्दुभन्दा २५ प्रतिशत कम हो ।

अन्तर्राष्ट्रिय सेयर बजारमा पहिरो


पछिल्ला दुई दिन अन्तर्राष्ट्रिय सेयर बजारमा तीव्र गिरावट आएको छ । औद्योगिक क्षेत्रका मुख्य ३० कम्पनीको सेयर सूचक डाउजोन्स सोमबार मात्र १ हजार १ सय ७५ दशमलव २१ अंक घटेर २४ हजार ३ सय ४५ दशमलव ७५ विन्दुमा झरेको छ । प्रतिशतका आधारमा सन् २०११ को अगस्टमा अमेरिकी सेयरमूल्यमा आएको कमीयताकै यो सबैभन्दा धेरै हो ।

यसैगरी, ठूला ५ सय कम्पनी सूचीकृत एसएन्डपी ५०० सोमबार ४ दशमलव १ प्रतिशत घटेको छ । सो दिन नास्ड्याक कम्पोजिट ३ दशमलव ७८ प्रतिशत र न्युयोर्क स्टक एक्सचेन्ज ३ दशमलव ९२ प्रतिशत घटेर बन्द भएको छ । बेलायतको सेयर बजार मापन गर्ने एफटिएसई १०० १ दशमलव ९१ प्रतिशत घटेर पछिल्लो १ वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको छ । मंगलबार बजार खुल्दासमेत यो प्रवृत्तिले निरन्तरता पाएको छ ।

सोमबार अमेरिकी सेयर बजार ओरालो लाग्नुमा कुनै ठोस कारण नभए पनि बजारमा गएको पहिरोले लगानीकर्ता अन्योलमा परेका छन् । फेडरल रिजर्भले छिटोछिटो ब्याजदर बढाउनु तथा अमेरिकीको ज्यालादर बढ्ने प्रक्षेपणले बजार घट्न मद्दत गरेको विश्लेषकहरुले अनुमान गरेका छन् । ब्याजदर वृद्धिले कर्पोरेटको नाफा घट्ने तथा ज्याला वृद्धिले मूल्य बढाउने लगानीकर्ताको डर छ । मंगलबार बजार खुल्नेबित्तिकै लगानीकर्ताले सेयर बिक्रीलाई झनै बढाएका छन् । सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले कर कटौतीको कानुनमा हस्ताक्षर गरेको ट्विट गरेका थिए । यो कानुनले आगामी वर्षहरूमा अमेरिकी बजेट घाटामा जाने विश्लेषकको अनुमान छ ।

अमेरिकी सेयर बजारको प्रवृत्तिलाई विश्वका अन्य परिसूचकले पनि पछ्याएका छन् । जर्मन डाक्स २ दशमलव १ प्रतिशत घटेको छ भने फ्रान्सको सिएसी २ दशमलव ४ प्रतिशत घटेको छ । सोमबार एसियाली सेयरबजार पनि घटेको छ । जापानको निक्केई २२५ चार दशमलव ७३ प्रतिशत घटेको छ भने साङघाई कम्पोजिट ३ दशमलव ४ प्रतिशत घटेको छ । त्यसैगरी, हङकङको सेयरबजार मापक हाङसेङ ५ दशमलव १२ प्रतिशत घटेको छ । मंगलबार भारतको सेयर परिसूचक बिएसई सेन्सेक्स ५६१.२२ अंकले घटेको छ । त्यस्तै, निफ्टी फिप्टी भने १६८ अंकले घटेको छ । भारतीय सेयर बजार घट्नुमा अन्तर्राष्ट्रिय प्रभावका अतिरिक्त हालै प्रस्तुत भएको बजेटको पनि प्रभाव छ । भारत सरकारले १ फ्रेबुअरीमा सन् २०१९ को चुनावलाई लक्षित गर्दै पपुलिस्ट बजेट सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया