logo

bar

१२ अर्ब घट्यो लगानीकर्ताको सम्पत्ति

नयाँ पत्रिका काठमाडौं, २३ माघ | माघ २३, २०७४

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १० अंक घटेको छ । बजार खुलेको केही समयपछि नै ओरालो लाग्न थालेको नेप्से यस दिन घटेर १ हजार ४ सय दशमलव शून्य ५ बिन्दुमा पुगेको छ । नेप्से घटेसँगै लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा रु. १२ अर्ब २२ करोड घटेको छ । अघिल्लो दिन रु. १६ खर्ब ३६ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति यस दिन घटेर रु. १६ खर्ब ३६ अर्बमा सीमित भएको छ । सूचीकृत कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

कम्पनीहरूको दोस्रो त्रैमासको वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबल बढाउन सकेको छैन । लगानीकर्ताले अपेक्षा गरेअनुसारको नाफामूलक विवरण सार्वजनिक नहुँदा लगानीकर्ता निराश भएको एक ब्रोकरले बताए । बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता रहेको नेप्सेमा कम्पनीहरूले चुक्ता पुँजी वृद्धि गरे पनि सोको तुलनामा नाफा बढाउन नसकेको देखिन्छ । चुक्ता पुँजीको तुलनामा नाफा नबढेपछि कम्पनीहरूको सेयरमा प्रतिफल घटेको छ । फलस्वरूप लगानीकर्ताको मनोबल घटेको हो । साथै, चुक्ता पुँजी वृद्धिका लागि जारी गरिएका एफपिओ, हकप्रद र बोनस सेयरहरूले बजारमा सेयर आपूर्ति बढेको छ । सो आपूर्तिलाई बजारले थाम्न नसक्दा बजार घट्न दबाब पुगेको छ ।

सोमबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव १५ अंक घटेर २ सय ९५ दशमलव ७९ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५४ कम्पनीको ३ हजार ८ सय ९४ पटकको कारोबारमा रु. ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ बराबरको ९ लाख १५ हजार ५ सय २३ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ३४ प्रतिशत कम हो । आइतबार करिब ५० करोडको सेयर कारोबार भएको थियो । नेप्सेको १४ दिने आरएसआई यस दिन ३८ दशमलव शून्य ७ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

यस दिन रकमका आधारमा सानिमा माई हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको यस दिन रु. ३ करोड ३९ लाखबराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार संख्या र सेयर संख्याका आधारमा पनि सानिमा माई हाइड्रोपावर नै अगाडि रहेको छ । यस दिन सो कम्पनीको २ सय ९० पटकको कारोबारमा ८४ हजार १ सय ९९ कित्ता सेयर खरिदबिक्री भएको छ । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयरमूल्य यस दिन ३ दशमलव ४१ प्रतिशत बढेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी, तिनाउ डेभलपमेन्ट बैंक र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ५४ कम्पनीमध्ये १६ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत्् समूहको परिसूचक १ दशमलव ६६ प्रतिशत, बिमा समूहको १ दशमलव १८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १ दशमलव शून्य ३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ९८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८९ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ५८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ४६ प्रतिशत र होटेल समूहको शून्य दशमलव ३८ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत र ट्रेडिङ समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

 सेन्चुरीको लाभांश
सेन्चुरी कमर्सियल बैंक लिमिटेडले पाँच प्रतिशत बोनस सेयर तथा पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले असार मसान्तसम्म कायम चुक्ता पुँजीमा हकप्रद सेयरको बिक्रीबापत प्राप्त रकम र अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सलाई प्राप्तिबाट प्राप्त पुँजीसमेत हुने गरी कायम हुन आएको चुक्ता पुँजी रु. ७ अर्ब ६७ करोडको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । सोमध्ये सेन्चुरी बैंकबाट रु. ३१ करोड ३५ लाख, अल्पाइनबाट ५ करोड ९८ लाख र सेतीबाट रु. १ करोड ५ लाख हुनेछ । साथै, कुल चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) पनि वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 ५१ प्रतिशत संस्थापक सेयर कायम गरेपश्चात् मात्र एभरेष्टको हकप्रद
एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेपश्चात् मात्र हकप्रद सेयर जारी गर्ने भएको छ । बिमा समितिले कम्पनीको सेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेपछि मात्र हकप्रद सेयर जारी गर्न निर्देशन दिएको हो । सोपश्चात् गत वार्षिक साधारणसभाबाट पारित भएको १ बराबर ६ अनुपातको हकप्रद सेयर परिमार्जन गरी हकप्रद जारी गरिनेछ । माघ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । हकप्रद सेयर परिमार्जन गरी आवश्यक हकप्रद सेयर जारी गर्ने आदि सम्पूर्ण प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ ।

 सिन्धुको अवितरित हकप्रद बाँडफाँड
सिन्धु विकास बैंकले माघ २० गते अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले माघ २ गतेदेखि १० गतेसम्म शिलबन्दी बोलपत्रमार्फत खरिद आह्वान गरेको अवितरित हकप्रद सेयरमध्ये संस्थापक समूहको ३ हजार १ कित्ता सेयर बाँडफाँड गरेको हो । बाँडफाँटमा नपरेको सेयरबापतको रकम माघ २३ गतेदेखि बैंक खातामा रकमान्तर गरिनेछ । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

 निर्धनको नाफा घट्यो
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्धन बैंक लिमिटेडले रु. २६ करोड ९४ लाख ३३ हजार खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा १० दशमलव ५८ प्रतिशत कम हो । कम्पनीको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब रहेको छ भने जगेडा कोष रु. ९२ करोड १८ लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी १५ दशमलव ४४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २१ दशमलव ११ प्रतिशत घटेको छ । त्यसैगरी, कम्पनीले सो अवधिसम्ममा रु. ७ अर्ब ३२ करोड ७५ लाख निक्षेप संकलन गरी रु. १३ अर्ब ५४ करोड ७० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको सिडी रेसियो १ सय ८५ प्रतिशत रहेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया