logo

bar

सातामा नेप्से बढ्यो, कारोबार रकम घट्यो

नयाँ पत्रिका काठमाडौं, २१ माघ | माघ २१, २०७४

गत साता नेप्से परिसूचक ६ दशमलव ९९ अंक बढेको छ । नेप्से उकालो लागे पनि अघिल्लो साताको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो साता पाँचै कारोबार दिन बजार खुला रहेको र गत साता चार कारोबार दिनका लागि मात्र बजार खुला रहेका कारण कारोबार रकममा कमी आएको थियो । पाँच कारोबार दिनका लागि खुला राखेको बजारमा तीन कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन बजार घटेको थियो ।

बजार सुस्त रूपमा बढेको छ । बजार सुस्त हुँदा लगानीकर्ताहरूले लगानीको रणनीति बनाउन सकेका छैनन् । त्यसैले कतिपय लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएका छन् । साथै बजार सुस्त भएका कारण नयाँ लगानीकर्ताहरूले पनि बजारमा प्रवेश गर्न हिचकिचाएका देखिन्छन् । चुक्ता पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरूले निष्कासन गरेको हकप्रद, बोनस तथा एफपिओले बजारमा सेयर आपूर्ति बढेका कारण बजार प्रभावित भइरहेको छ ।

साथै, निक्षेप तथा कर्जामा बढेको ब्याजदरले पनि बजारलाई सुस्त बनाउन दबाब दिइरहेको छ । नेप्सेको १४ दिने आरएसआई गत साताको अन्तिम कारोबार दिन ४२ दशमलव २४ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

गत साता १ सय ७२ कम्पनीको १६ हजार ७ सय ६९ पटकको कारोबारमा १ अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँबराबरको ३४ लाख ७३ हजार २० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साता १ सय ७७ कम्पनीको १९ हजार १ सय ३३ पटकको कारोबारमा १ अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँबराबरको ५० लाख ५९ हजार ९ सय ३० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ४ सय ४ दशमलव ५३ बिन्दुमा बन्द भएको बजार गत साताको अन्तिम कारोबार दिन १ हजार ४ सय ११ दशमलव ५२ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ५७ अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ११ अंक बढेर २ सय ९८ दशमलव १२ बिन्दुमा पुगेको छ ।

गत साता चार कम्पनीले कुल १ करोड ६७ लाख ६२ हजार १ सय ४० दशमलव ४४ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता काबेली विकास बैंकले १ लाख ४० हजार ३ सय ५२ कित्ता, सिद्धार्थ इन्स्योरेन्सले १० लाख ६९ हजार ३५ कित्ता, ग्लोबल आइएमई बैंकले ८० लाख ८० हजार ३ सय ४१ दशमलव ६६ कित्ता र लक्ष्मी बैंकले ७४ लाख ७२ हजार ४ सय १२ कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

गत साता कारोबारमा आएको जलविद्युत्् समूहका परिसूचकबाहेक अरू सबैको परिसूचक बढेको छ । सो साता बिमा समूहको परिसूचक सर्वाधिक ४६ दशमलव ७३ अंक, होटेल समूहको २० दशमलव शून्य ३ अंक, लघुवित्त समूहको १६ दशमलव ८७ अंक, विकास बैंक समूहको १२ दशमलव ७ अंक, व्यापार समूहको १२ दशमलव २४ अंक, वाणिज्य बैंकको ३ दशमलव ९६ अंक, वित्त समूहको २ दशमलव ५९ अंक, उत्पादनमूलक समूहको १ दशमलव ९५ अंक र ‘अन्य’ समूहको १ दशमलव ३ अंक बढेको छ । कारोबारमा आएको जलविद्युत्् समूहको परिसूचक भने गत साता ८ दशमलव ४५ अंक बढेको छ ।

गत साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रो पावर लिमिटेड अगाडि रहेको छ । गत साता सो जलविद्युत् कम्पनीको ८ करोड २५ लाख २० हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा नेपाल बैंकको २ लाख ११ हजार र कारोबार संख्याका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको ६ सय ७४ पटकको कारोबार भएको थियो ।

ग्लोबलको स्वतन्त्र सञ्चालकमा पौडेल
ग्लोबल आइएमई बैंक लिमिटेडले नुमनाथ पौडेललाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीको २ सय ८९औँ कम्पनीको बैठकले पौडेललाई सो पदमा नियुक्त गरेको हो ।

गुहेश्वरीका सिइओको कार्यावधि थप
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले सिइओ दिनेशलाल श्रेष्ठको कार्यावधि थप गरेको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठको कार्यावधि थप गर्ने निर्णय गरेको हो । श्रेष्ठको कार्यकाल माघ १७ गतेदेखि चार वर्षका लागि रहनेछ ।

 एनसिसीको संस्थापक सेयर लिलाम बिक्री
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूहको ४ लाख ३३ हजार ४२ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सो सेयर खरिदका लागि माघ २१ गतेदेखि २८ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य १ सय ७० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडबाट प्राप्त गर्न सकिनेछ ।

प्रिमियरको एफपिओ बाँडफाँड
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले माघ १८ गते एफपिओ बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यमा ६ सय ९९ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँमा पुस १६ गतेदेखि १९ गतेसम्म एफपिओ निष्कासन गरेको थियो । कम्पनीले रीतपूर्वक आवेदन दिएका १ लाख ८६ हजार आवेदकहरूमध्ये ६५ हजार ९ सय ५६ जनालाई सेयर बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

 सूर्योदयको बुक क्लोज
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ७ अनुपातमा हकप्रद शयर निष्कासन गर्न सो दिन बुक क्लोज गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया