logo

bar

सिस्नुपानी र एनआरएनको आयोजनामा ‘दुई थोपा हाँसो’ युएईमा

लक्ष्मण खनाल युएई, २० माघ | माघ २०, २०७४

सिस्नुपानी नेपाल र एनआरएन युएईको सहआयोजनामा युएईमा रहेका नेपाली श्रमीकहरूलाई लक्षित गरी ‘दुई थोपा हाँसो’ नामको हास्यव्यङ्ग्य यात्रा सञ्चालन भइरहेको छ ।

हास्यव्यङ्ग्य यात्रा लिएर कलाकार तथा सिस्नुपानी नेपालका उपाध्यक्ष मनोज गजुरेल युएई आइपुगेका छन् ।

उनको साथमा सिस्नुपानीका अध्यक्ष तथा व्यङ्ग्य कवि लक्ष्मण गम्नाङ्गे, महासचिव टंक आचार्य, सल्लाहकार डा. रवीन्द्र पाण्डे पनि छन् ।

एनआरएन युएईको सहकार्यमा युएईमा रहेका नेपाली श्रमीकहरूलाई हाँसो र व्यङ्ग्यमार्फत् जनचेतना दिने उद्देश्यले बिहीबारदेखि कार्यक्रम शुरु भएको हो ।

अभियान युएईमा रहेका विभिन्न प्रान्तमा गरिने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

अभियानको पहिलो कार्यक्रम बिहीबार साँझ अबुधावीको मुसफामा रहेको अहलिया अस्पतालमा भएको थियो ।

त्यसैगरी दोस्रो दिन शुक्रबार दुबईस्थित अलकुलको बक्रली क्याम्पमा र अलएन प्रान्तको अलखेर सारिकाटमा भएको थियो ।

तेस्रो दिन शनिबार शारजाह प्रान्तमा रहेका ल्यकनोक क्याम्प नेशनल पेन्ट्समा कार्यक्रम सम्पन्न भएको छ ।

निःशुल्क प्रवेश रहेको कार्यक्रममा कलाकारहरूले जनचेतनामूलक हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।

उनीहरूले देश र राजनीतिप्रति व्यङ्ग्य गर्दै रेमिट्यान्स नै आर्थिक मेरुदण्ड रहेको देशमा विदेशीभूमिमा पसिना बगाइरहेका युवाहरूलाई सरकारले सम्मान गर्न नसकेको बताए ।

उनीहरूले देशको राजनीति, प्रवासी श्रमीकको स्वास्थ्य समस्या, खानपान, योगा, हुण्डीको विषयमा व्याङ्ग्यात्मक प्रस्तुति दिए ।

कार्यक्रममा नेपाली राजदूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँलको पनि उपस्थिति थियो । दूतावासले पनि सो यात्रामा सहकार्य गर्ने बताएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए ।

अभियान अन्तर्गत आइतबार साँझ दुबईको अलकुजमा रहेको इम्रिल क्याम्पमा साँझ ६ः३० बजे र सोमबार फुजेरा प्रान्तमा कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् ।

युएईको अभियान समापन भएपछि बहराइन र ओमनमा यात्रा दिएर जाने सिस्नुपानीका महासचिव टंक आचार्यले बताए ।

तपाईको प्रतिक्रिया