logo

bar

‘टिके डाँका’को अपराध यात्रा र जेलब्रेक

टेकराज थामी काठमाडाैँ | माघ २०, २०७४

‘टिके’को भाग्ने योजना

चोरीमा कुख्याती कमाएका टीकाबहादुर थापामगर ‘टिके’ डिल्लीबजारस्थित सदरखोरमा सजाय भुक्तान गर्दै थिए । पटक–पटक पक्राउ परेर धरौटीमा छुट्दै आएका उनलाई यसपटकको कैद सजाय भने भारी परिरहेको थियो । त्यसो हुँदा कसरी हुन्छ जेलबाट उम्कने योजनामा थिए उनी । यसका लागि उनले भाग्ने योजना बनाइरहेका थिए ।

चौबीसै घन्टा सुरक्षाको कडा चौघेरामा रहेको कारागारबाट भाग्नु चानचुने कुरा थिएन । कारागारको ‘लुप होल’ पहिल्याउँदै जाँदा उनले कारागार घेरा हालिएको काँडे तार देखे । जसलाई पेन्चिसले सजिलै काट्न सकिन्थ्यो । अब उनी काँडेतार काट्ने र त्यहीँबाट फरार हुने योजनामा लागे । यसका लागि उनले भेट्न आउने आफन्तलाई प्रयोग गरे । आफन्त प्रयोग गरी तार काट्ने सानो करौँती उनी जेलभित्र लैजान सफल बने । सुरक्षाकर्मीको आँखा छल्दै कारागार घेरा हालिएको तार काट्न थाले । शरीर छिर्नेजति तार काटेपछि उपयुक्त समयको प्रतीक्षामा बसे ।

कारागारभित्र प्रत्येक दिन कैदीबन्दीको गणना हुने गर्छ । ४ माघमा पनि कैदीबन्दी गणना भयो । उनी भने लुकेर बसे । तर, गणकले यसको सुइँको नै पाएनन् । किनकि गणकको गन्तीमा कैदी साबिक बमोजिमकै थियो । उनी अब यही मौकाको फाइदा उठाउनेतर्फ लागे ।

जब सुरक्षाकर्मी निदाए…

रातको समय । सबै कैदीबन्दी मस्त निद्रामा थिए । ड्युटीमा खटिएका सुरक्षाकर्मी पनि त्यस रात निद्रामै परे । ‘टिके डाँका’ मौकाको फाइदा उठाउँदै सरक्क उठे । काटिएको काँडेतार नजिक पुगे । दायाँबायाँ हेरे । खतरा नदेखेपछि काँडेतार खोलेर बाहिर निस्किए । अनि फरार बने ।

‘टिके डाँका’को चोरीआतंकबाट उपत्यकावासी मात्र होइन, प्रहरीसमेत हैरानीमा थिए । बल्लतल्ल जेल पठाइएको ‘टिके’ सुरक्षा घेरा तोड्दै जेलबाट फरार भएपछि प्रहरीको निदहराम भयो । प्रहरी उनको पिछामा त्यही दिनबाट सक्रिए बने । प्रहरीले उनी लुक्न सक्ने सम्भावित ठाउँमा निगरानी बढायो । उनले कल गर्न सक्ने आफन्तको फोन ‘ट्रेस’ गरियो । यही क्रममा उनी चितवनमा लुकेको सूचना प्राप्त भयो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली चितवनतर्फ मुभ भयो ।

प्रहरी देखेपछि टिकेले पेस्तोल झिके

शनिबार दिउँसोदेखि नै महाशाखाका प्रहरी उनको पिछामा थिए । त्यही क्रममा उनी मुग्लिनबाट चितवनतर्फ जाँदै गरेको सूचना प्राप्त भयो । महाशाखा र चितवन प्रहरीको संयुक्त प्रयासमा चेक जाँच बढाइयो । यही क्रममा उनी चितवन भरतपुरको रामनगरस्थित पेट्रोल पम्पनजिकै देखा परे । उनी ना.४७ प ५०५२ नम्बरको मोटरसाइकलको पछाडिको सिटमा थिए । मोटरसाइकल अरू कसैले हाँकिरहेको थियो । प्रहरी उनलाई समाउन अघि बढ्यो ।

असुरक्षित महसुस गरेपछि ‘टिके’ले पेस्तोल झिके । प्रहरीतर्फ फायर खोले । प्रहरीले पनि जवाफी फायर खोल्यो । पहिलो गोली उनको तिघ्रामा लाग्यो । प्रहरीबाट अर्को पनि फायर खुल्यो । गोली उनको हातमा लाग्यो । उनी त्यहीँ ढले । मोटरसाइकलका चालक भने फरार बने । प्रहरीले उनलाई गिरफ्तार गर्‍यो । उनको शरीरबाट रगत बगिरहेको थियो । उपचारका लागि उनलाई भरतपुरस्थित अस्पताल लगियो । उनलाई थप उपचार गर्नुपर्ने देखियो । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइयो । उनको उपचार काठमाडौंको ट्रमा सेन्टरमा हुँदै छ ।

यसरी फैलियो मारिएको खबर

दोहोरो फायरमा उनलाई गोली कहाँ लाग्यो ठेगान थिएन । घाइते भएका उनी अचेत थिए । शरीरबाट रगत बगिरहेको थियो । उपचारका लागि अस्पताल त लगियो, तर शरीरबाट रगत धेरै बगेको थियो । त्यसो हुँदा प्रहरीलाई उनी मारिन पुगे भन्ने लाग्यो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तुरुन्तै उनी मारिएको खबर माथि गर्‍यो । घटनास्थलबाटै मारिएको खबर आएपछि माथिका प्रहरीलाई पनि लाग्यो, उनी मारिए । त्यसपछि खबर फैलियो । तर, उनी घटनास्थलमा मरेका थिएनन, अचेत मात्रै भएका थिए । अस्पताल पुगेपछि उनको मुटुको चाल परीक्षण भयो । मुटु चलेको पाइएपछि स्वास्थ्यकर्मी उनको उपचारमा लगे । बल्ल पो प्रहरीले चाल पाए, उनी जिउँदै छन् भन्ने ।

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले थापामगर प्रहरीको गोलीबाट घाइते भएको बताए । उनले भने, ‘जेलबाट भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । त्यही क्रममा उनी चितवनमा भेटिए । उनी मोटरसाइकलमा भागिरहेका रहेछन् । पिछा गर्ने क्रममा उनले प्रहरीलाई गोली हाने । जवाफमा प्रहरीले पनि गोली हान्यो । यसक्रममा गोली उनको हात र तिघ्रामा लागेको छ । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइयो ।’ उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो ।

यस्ता छन् पक्राउका शृंखला

रामेछाप दोरम्बा–१ का हुन् ‘टिके डाँका’ । उनलाई कतिले सागर नामबाट पनि चिन्छन् । उनको खास नाम टीकाबहादुर थापामगर हो । उनी पहिलोपटक ६ वैशाख ०६४ मा पक्राउ परेका थिए । प्रहरीका अनुसार उनी त्यसवेला डाँका मुद्दामा पक्राउ परेका थिए । प्रहरीबाट छुटेका उनी सुध्रिएनन् ।

चोरी मुद्दामा फेरि ५ जेठ ०६५ मा पक्राउ परे । त्यसपछि उनको अपराध यात्रामा केही ब्रेक लाग्यो । प्रहरी हिरासतबाट छुटेका उनी २४ असार ०६८ मा पुनः चोरी मुद्दामा पक्राउ परे । अदालतको आदेशबाट उनी जेल चलान भए । जेलबाट उनी ५ फागुन ०६८ मा छुटे । त्यसपछि फेरि ३ साउन ०६९ मा चोरी मुद्दामै पक्राउ परे । त्यसपछि उनी केही वर्ष चोरीबाट निष्क्रिय रहे ।

सुनका सिक्रीदेखि गाडीसम्म चोरी

उनको चोरी शृंखला २१ माघ ०७१ बाट फेरि सुरु भयो । त्यसवेला उनले कलंकीकी सरस्वती आचार्यको १८ लाख ८४ हजार ६३५ रुपैयाँ लुटेका थिए । उनले उक्त रकम बानेश्वर ह्वाइटहाउस कलेजनजिकै रहेको ग्लोबल आइएमई बैंकबाट बाहिरिने क्रममा लुटेका हुन् ।

२१ कात्तिक ०७१ मा उनले सरस्वतीनगर तेन्जिङ चोकमा हिँडिरहेकी प्रेरणा राईको १ लाख ५५ हजार हजार रुपैयाँ लुटे । ६ पुस ०७१ मा उनले जोरपाटीकी सुमित्रा अधिकारीको ६९ हजार २५० रुपैयाँ लुटे । ६ चैत ०७१ मा उनले चाबहिलस्थित ओम अस्पतालमा पार्किङ गरेर राखिएको राम श्रेष्ठको बा.६७ प ८४६८ नं. को मोटरसाइकल चोरी गरे ।

२७ वैशाख ०७२ मा उनले बाफलको कोहीनूर हाउजिङनजिकबाट सीता श्रेष्ठको २ तोलाको सुनको सिक्री लुटे । २७ जेठ ०७२ मा उनले बुद्धनगरमा उर्मिला कँडेलको तीन तोलाको सुनको सिक्री लुटे । ३२ जेठ ०७२ मै उनले बौद्ध भाटभटेनीबाट विष्णुबहादुुर गुरुङको बा.६च ७६९८ नं. को गाडी नै चोरी गरे ।

२० जेठ ०७२ मा उनले पुरानो बानेश्वरका जीवन शर्माको बा.६८ प१०१८ नम्बरको पल्सर मोटरसाइकल चोरी गरे । १ जेठ ०७२ मा उनले महाराजगन्जको शिक्षण अस्पतालमा पार्किङ गरेर राखिएको बा.७४ प ३६६२ नं. को नीलो मोटरसाइकल चोरी गरे ।

प्रहरीको तथ्यांकअनुसार उनले बौद्धस्थित भाटभटेनी सुपरमार्केटको पार्किङ परिसरमा पार्क गरिएको विष्णुबहादुुर गुरुङको बा.६ च ७६९८ नं. को बलेरो गाडी नै चोरी गरे । उनले उक्त गाडीमा मकवानपुरको पदमपोखरीमा लुकाएर राखेका थिए । घटनामा उनलाई प्रहरीले पक्राउ गर्‍यो । अन्ततः उनी २१ जेठ ०७२ मा २७ लाख रुपैयाँ धरौटी राखी अदालतबाट छुटेका थिए ।

तपाईको प्रतिक्रिया