logo

bar

मनुको मनमौजी जिन्दगी

दुर्गा पाैडेल काठमाडाैं | माघ १९, २०७४

चेतमानसिंह भण्डारीले जिन्दगीको लामो कालखण्ड मनमौजी घुमफिरमा बिताए । उनी ११ वर्षकै उमेरदेखि घुमन्ते बनेका थिए । हिजोआज भने ललितपुर भैँसेपाटीस्थित निवासमा फेसबुक चलाएर दिन बिताउँछन् ।

पछिल्लो समय उच्च रक्तचाप तथा ‘स्ट्रोक’ले थला परेका छन्, श्रीमती र कान्छा छोरा–बुहारीको साथ जिन्दगीको हिसाब–किताब गरिरहेका छन् ।

चेतमानसिंह भण्डारी प्रारम्भिक चरणमा श्यामकुमार मनुको नामबाट रचना लेख्ने–छपाउने गर्थे । पछि अलिक भिन्नै किसिमको नाम राख्न इच्छा लागेछ । ‘एक्कासि ‘ब्राजाकी’ शब्द फुर्यो,’ उनी भन्छन्, ‘यसको केही अर्थ लाग्दैन, तर खुब मन पर्यो, अनि श्यामकुमार मनुबाट मनु ब्राजाकी लेख्न थालेँ ।’

जिन्दगी के हो भन्ने प्रश्नमा उनको जवाफ आयो, ‘जिन्दगी के हो भन्दा पनि जीवनलाई हामी कसरी बाँच्ने र कसरी बाँचिरहेका छौँ त्यो महत्वपूर्ण कुरा हो । यो यस्तो प्रश्न हो कि अहिलेसम्म यसको समुचित उत्तर न विज्ञानले दिन सकेको छ, न त ज्ञानले नै ।’

जिन्दगीका बारेमा उनको भिन्न धारणा छ । ‘व्यक्तिको जीवन समाजसित सम्बन्धित छ र समाजको सृष्टिसँग सम्बन्ध छ । त्यसैले यिनीहरू सबै एकअर्कामा परावलम्बित छन्, संसारमा एकाकी भन्ने कुरा केही पनि छैन ।’

ब्राजाकीका हजरबुबा काशीवासका लागि बनारस गएका थिए । महोत्तरीका सम्पन्न परिवारका उनी बनारस पुगेपछि त्यहीँ रमाए । केही पछि ६ वर्षका नाति ब्राजाकीलाई पनि बनारस लगे । त्यहाँ उनी तीन कक्षामा भर्ना भए । हजुरबुबाको निधन भएपछि उनी महोत्तरी नै फर्किए ।

शिक्षा र हिन्दू धर्म–संस्कृतिको केन्द्र बनारसमा बाल्यकाल बिताएका ब्राजाकी आफू अनिश्वरवादी रहेको बताउँछन् । उनले बाल्यकालमै धर्मशास्त्रको अध्ययन गर्न पाए । गीता प्रेसका एजेन्ट उनका हजुरबुबाकोमा आइरहन्थे । उनले ल्याएका सबै किताब हजुरबुबा किनिदिन्थे । त्यसैले उनले सानो उमेरमै धर्मशास्त्रको अध्ययन गर्ने मौका पाए ।

उनका हजुरबुबा बनारसमा जमेरै बसेका थिए । चार तलाको घर भाडामा लिएका थिए । दुःखी–गरिबहरूलाई दान र सहयोग गर्थे । नेपालबाट पढ्न गएका कोही गरिब विद्यार्थी भेटे त्यहाँ पढ्ने तथा बस्ने व्यवस्था मिलाइदिन्थे ।

दान दिँदादिँदै महोत्तरीको करिब २० बिघा जमिन सकियो । उनले जम्मा गरेका किताब पनि जीवनको अन्तिम समयमा बाँडेरै सके । ‘योगवाशिष्ठ’लगायत मोटामोटा र मूल्यवान् किताब हजुरबुबाले दान गर्दा ब्राजाकीलाई दुःख लागेको थियो ।

जिन्दगी के हो भन्दा पनि जीवनलाई कसरी बाँच्ने र कसरी बाँचिरहेका छौँ, त्यो महत्वपूर्ण हो, मनमौजी र फुक्काफाल जिन्दगी , केही अर्थ नलाग्ने नाम

भण्डारी परिवारको मूल थलो भने पोखरा लामाचौर हो । तर, उनीहरू कसरी महोत्तरी पुगे मनु ब्राजाकीलाई हेक्का छैन । बनारसमा बसेकै वेला उनलाई पुख्र्यौली थलो पोखरा जाने रहर लाग्यो ।

हिन्दी साहित्य र दर्शन पढ्ने क्रममा नेपाली भाषा–साहित्यप्रति उत्सुकता जागेको थियो । त्यही उत्सुकता मेट्न हजुरबुबासँग रोइकराई गरी पोखरा आए । त्यहाँ माइलो बुबाका जेठा छोराको परिवार बस्थ्यो । पोखरा आएपछि बनारस फर्किएनन् । त्यहीँ आठ कक्षामा भर्ना भए ।

पोखरामा टेस्ट परीक्षामा नेपाली विषयको जाँच दिने क्रममा लेखनाथ पौड्यालको एउटा कविताको व्याख्या गर्न आएको रहेछ । सानैदेखि साहित्य पढेका र धर्म–दर्शनको पनि राम्रो अध्ययन गरेका ब्राजाकीले पाँच नम्बरको प्रश्नको उत्तर दिँदा परीक्षाका लागि निर्धारण गरिएको समय नै सकिएछ ।

जम्मा पाँच अंकभारको उत्तर लेखेर उनी परीक्षाहलबाट बाहिरिए । पछि कापी जा“च गर्ने क्रममा शिक्षक भोलानाथ पराजुलीले प्रधानाध्यापकसँग ‘यो विद्यार्थीलाई के गर्ने ? यसले वेद–पुराणदेखि लिएर दर्शनशास्त्रको उदाहरण दिई–दिई कविताको व्याख्या गरेको छ । नम्बर दिउँ भने जम्मा पाँच नम्बरको प्रश्नको मात्र उत्तर दिएको छ । यसलाई पास गर्ने कि फेल गर्ने ?’ भनी सोधेछन् । पाँच अंकभारको मात्र उत्तर दिएकाले उनी त्यो वर्ष टेस्ट परीक्षामा फेल भए । त्यसपछि उनी जनकपुर आए । ०१९ सालमा उनले जनकपुरबाटै एसएलसी उत्तीर्ण गरे ।
०००

जिन्दगीमा कुनै पनि कुरा सुनेकै भरमा विश्वास गर्दैनन् उनी । त्यसलाई पुष्टि गरेपछि मात्र विश्वस्त हुन्छन् । बाल्यकालदेखिको उनको यो बानी अहिलेसम्म यथावत् छ । बाल्यकालमा कसैले ‘यो आगो हो छोए पोल्छ’ भन्दा आफैँले छोएर औँलो पोलेपछि मात्र विश्वस्त हुन्थे उनी । भन्छन्, ‘सायद मेरो तर्कशीलताले हो कि या उत्कट जिज्ञासाले, कुनै पनि नौलो कुरालाई खोतली–खोतली जान्न खोज्ने चाहना थियो मेरो ।’

पोखरामा बस्दा अहिलेका चर्चित व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्स्यायन’ उनका समकक्षी थिए । साहित्यमा नाम कमाइसकेका ब्राजाकी पनि त्यसवेला चित्रकलामा रुचि राख्थे । त्यस्तै, चित्रकलाका नाम कमाइसकेका वात्स्यायन पनि साहित्यमा रुचि राख्थे ।

एकपटक सँगै भएको साहित्य र चित्रकला प्रतियोगितामा दुवैजनाले दुवै प्रतिस्पर्धामा भाग लिएछन् । ब्राजाकी साहित्यमा प्रथम भए । वात्स्यान चित्रकलातर्फ । त्यसपछि ब्राजाकीले चित्रकला छोडिदिए, वात्स्यायनले साहित्य । पछि ब्राजाकी साहित्यमै स्थापित भए भने वात्स्यायन चित्रकलामा ।

मनु ब्राजाकी नेपाली साहित्यमा कथा र गजल विधामा सबैले पढिरहेको नाम हो । तर, पछिल्लो समय स्ट्रोकका कारण उनको स्मरणशक्ति ह्रास भयो । उनी कथा लेख्न नसक्ने स्थितिमा पुगे । त्यसैले गजल लेखेरै साहित्यको तृष्णा मेटिरहेका छन् । कथाका अनेकौँ प्लट दिमागमा रहे पनि तिनीहरूलाई उतार्न नसकेकोमा उनी खिन्न छन् ।

हिजोआज उनी घरबाट बाहिर प्रायः निस्किँदैनन् । घरमै पत्रपत्रिका पढेर र छोरीले अमेरिकामा किनिदिएको ल्यापटपमा फेसबुक चलाएर दिन बिताउँछन् । पुलचोकनिवासी कवि सुनील पुरीले यदाकदा पत्रपत्रिका लगिदिन्छन् । त्यसैबाट साहित्यमा अपडेट हुने गरेको बताउँछन् ब्राजाकी ।
०००

औरही महोत्तरीको भण्डारी परिवार अति सम्पन्न थिए । त्यही परिवारमा १९९९ साउन १९ गते यस धराधाममा जिन्दगीको पहिलो पाइला टेकेका हुन् उनले । उनको बुबाको पालासम्म महोत्तरीमा उनीहरूको चार सय बिघा जमिन थियो । तर, भूमिसुधार लागू भएपछि धेरै जग्गा सरकारी स्वामित्वमा गयो । पछि ११ बिघा जमिन ब्राजाकीको भागमा परेको थियो । त्यही जमिनबाट छोराछोरीको बिहेबटुलो र घरखर्च गरेर अहिले पनि चार बिघा जमिन बचेकोे उनी बताउँछन् ।

पढ्न रुचि भएका यी मनमौजी घुमफिर गर्न अति रुचाउँथे । उनले भारतका पश्चिममा द्वारिकादेखि पूर्वमा गुवाहाटीसम्म घुमे । त्यस्तै उत्तरमा जम्मुतबीदेखि दक्षिणमा नेलोरगुन्टु (बैंग्लोर) सम्मको सांगोपांग यात्रा गरे । उनी जहाँजहाँ पुगे त्यहाँका राम्राराम्रा पुस्तकालय, रेड लाइट एरिया र गरिब बस्ती पुग्न छुटाउँदैनथे । यी चिजको अवलोकन नगरी त्यस ठाउँको समाज बुझ्न नसकिने बताउँछन् उनी ।

०१४ सालताका बनारसमै रहेका वेला स्कुलको बर्खे बिदामा उनी घुम्न मुम्बई गएछन् । उनका फुपूका छोरा मुम्बईमा बस्थे । उनीसँग भेट पनि हुने र घुम्न पनि पाइने हुनाले उनी मुम्बई पुगे । त्यहाँ कैलाशनाथ काडरी नाम गरेका प्रसिद्ध समाजसेवी तथा कांग्रेस पार्टीका नेता थिए । उनले भिक्टोरिया एन्ड पार्कमा ‘नारीओं को शिक्षा देनी चाहिए’ शीर्षकमा गरेको भाषण सुन्ने मौका मिल्यो । त्यो भाषण स्मरण गरी काडरीले जे–जे भनेका थिए, तिनै कुरा टिपेर नारीसम्बन्धी लेख बनाई नवभारत टाइम्समा छाप्न दिएछन् । त्यसको केही दिनमै नवभारत टाइम्सको आइतबारको अंकमा त्यो छापिएछ । त्यो जिन्दगीकै खुसीको क्षण रहेको बताउँछन् ब्राजाकी । भन्छन्, ‘त्यो लेख मुम्बईको सडकमा बसेर सत्रपटकचाहिँ पढे“ होला ।’ त्यसपछि जिन्दगीमा ठूलै लेखक बन्छु भन्ने आँट आएछ ।

मुम्बईमा उनका दाजुभाउजूको बस्ने एउटा मात्र कोठा रहेछ । उनी पनि थपिएपछि उनका लागि नजिकै ‘एमजी पारिखकी क्लिनिक’ भन्ने औषधि पसल रहेछ । दाजुले उनका लागि क्लिनिकको मान्छेसँग भनसुन गरेर त्यहाँ सुत्ने व्यवस्था मिलाएछन् । तर, त्यो पसल राति १० बजेपछि मात्र बन्द हुने भएकाले त्यसवेलासम्म कुरेर बस्नुपथ्र्यो ।
‘त्यहाँ सुत्न त पाइयो तर मिस्टर मबाली (लोकल दादा) आएर त्यहाँ एक रात सुतेको पच्चीस पैसा दादाभत्ता मागेछ । त्यो पैसा नदिए कुटेर निकाल्ने धम्की दिइएछ उनलाई । आफूसँग सुका पैसा नभएकाले दाइसँग पैसा मागेर मबालीको एजेन्टलाई दिएर मुम्बईमा कैयौँ रात कटाएको उनी स्मरण गर्छन् ।
०००

जिन्दगीमा सबै कुराको अनुभव गर्नुपर्छ भन्ने मान्यता राख्छन् उनी । त्यसैकारण पोखरामा विद्यार्थीकालदेखि नै मापसे गर्न सुरु गरेका थिए । जिज्ञासु स्वभावका उनी अनुभवका लागि नै भए पनि चोर–डाकादेखि लिएर साधु सन्न्यासी सबैसँग संगत गर्नुपर्छ भन्ने मान्यता राख्थे ।

पोखरामा थकालीहरूका गुरु भनेर चिनिने एकजना तान्त्रिक थिए । उसले तन्त्रमन्त्रमार्फत त्यहाँ ठूलो रवाफ जमाएको थियो । उनको जिज्ञासु स्वभावले के हुँदो रहेछ भनेर उसको सम्पर्कमा पुगेछन् । ऊ हिन्दीमा कुरा गथ्र्यो । उसले नै भगवतीको प्रसाद भनेर केही पिउन दिएछ । त्यस ठाउँबाट उनी बसेको ठाउँ पुग्न एक घन्टाजति हिँडेर जानुपथ्र्यो । तर, त्यो पिएपछि त मनु उडेको झैँ गरी घर पुगेछन् । यो त गजब चिज रहेछ भन्ने लागेछ उनलाई । अनि बिस्तारै उनी मद्यपानतिर लागेछन् ।

०३८ सालमा कृति छपाइका लागि साझा प्रकाशन पुग्दा त्यहाँका महाप्रबन्धक कृष्णचन्द्रसिंह प्रधान त्यसवेलासम्म किताब नछापिएको कुरा सुनेर तीनछक्क परेछन् । ०१८ सालदेखि नै विभिन्न पत्रपत्रिकामा कथा छाप्न थालिसकेका उनी साहित्यिक वृत्तमा भने चर्चित भइसकेका थिए । लेख्न थालेको २० वर्षपछि मात्र उनको पहिलो कृति प्रकाशनमा आयो । अवमूल्यन शीर्षकको कथासङ्ग्रह उनको पहिलो कृति ०३८ सालमा साझाबाट छापियो । कृति प्रकाशनमा भएको ढिलाइबारे उनी प्रस्ट्याउँछन्, ‘म मनमौजी र भ्रमणशील स्वभावको व्यक्ति भएकाले पनि छपाइतिर त्यति लागिनँ । अर्कोतर्फ म प्रदर्शनकामी स्वभावको नभएकाले पनि मैले प्रकाशनतिर त्यति ध्यान दिइनँ ।’

०५० सालदेखि नियमित काठमाडौं बस्न आएपछि उनका निकट मित्र थिए सन्तोष भट्टराई, भाउपन्थी, कुमुद देवकोटा, ज्ञानुवाकर पौडेल र जगदीश घिमिरे । महाकवि देवकोटा र कवि भूपी शेरचनलाई भने भेट्ने इच्छा हुँदाहुँदै भेट्न नपाएकोमा पछुतो मान्छन् उनी । पचासको दशकमा सन्तोष भट्टराई र मनु ब्राजाकीको जोडी खुब जमेको थियो । न्युरोड रञ्जना हलनजिकै उनीहरूको पिउने अड्डा थियो । त्यही“ बसेर उनीहरू साहित्यिक भलाकुसारी पनि गर्थे ।

यी दुईबीच गाढा मित्रता भए पनि पिउने र लेख्ने कुरामा उनीहरूबीच आकाश–जमिनको भिन्नता थियो । सामान्य अवस्थामा चुप लागेर बसिरहने सन्तोष पिएपछि पाखुरा सुर्किएर झगडा गर्न तम्सिहाल्थे, कसैलाई मान्छे नै गन्दैनथे । तर, सामान्य अवस्थामा बौद्धिक चिन्तन गरिरहने ब्राजाकी पिएपछि भने चुपचाप लागेर बस्थे । त्यस्तै, सामान्य अवस्थामा ओजनदार कथा लेख्ने ब्राजाकी पिएपछि एक शब्द पनि लेख्न सक्दैनथे, सन्तोष भने नपिईकन एक शब्द लेख्न सक्दैनथे ।
यी दुई कथाकारबीच यति गहिरो मित्रता थियो कि मदिरा पिएर राति एकअर्कालाई घर पुर्‍याउने सन्दर्भमा काठमाडौंंका गल्ली घुम्दाघुम्दै उज्यालो हुन्थ्यो ।

त्यसवेलासम्म उनीहरूलाई नशाले पनि छोडिसकेको हुन्थ्यो र आ–आफ्नो घर लाग्थे । पिउने कुरामा भने उनीहरूको कुनै ब्रान्ड थिएन । खल्तीमा कति पैसा छ त्यहीअनुसार ब्रान्ड बन्थ्यो । प्रायः १० रुपैयाँ गिलासको लोकल ब्रान्ड नै प्रिय थियो । यति गहिरो दोस्ती भए पनि एक दशकयता सन्तोष कहाँ र कुन हालतमा छन् ब्राजाकीलाई केही अत्तोपत्तो छैन ।

मैनाली कथा पुरस्कारबाट ब्राजाकीले सम्मानपत्रका साथ एक हजार रुपैयाँ पाएका रहेछन् । त्यो एक हजार रुपैयाँ त्यही दिन बेलुकी साहित्यिक मित्र कुमुद देवकोटा र उनी बसेर एक बसाइमा सकेछन् । यस्ता अनेकौँ बसाइको रमाइला घटना छन् उनीसँग ।

कथा र गजल विधामा स्थापित ब्राजाकीका करिब एक दर्जनजति कृति प्रकाशनमा आएका छन् । त्यसको प्रतिफल उनले ‘साझा पुरस्कार र मैनाली कथा पुरस्कार प्राप्त गरिसकेका छन् । साझा प्रकाशनबाट प्रकाशित ‘तिम्री स्वास्नी र म’ कथाकृतिले उनलाई चुलीमा पुर्‍याइदियो ।

०००
पुरस्कार पाउन कुनै एउटा गुट समाउनुपर्छ भन्ने अहिलेका सर्वव्यापी मान्यता भए पनि उनी कुनै साहित्यिक आन्दोलन–अभियानमा कहिल्यै लागेनन् । न्युरोड पीपलबोटमा बुटपालिस आन्दोलन चलिरहेका वेला सन्तोष भट्टराईले ब्राजाकीलाई हेर्नका लागि भए पनि जाऔँ भनेर लिएर गएछन् । गोरखापत्रका छापिएका रचनाको पारिश्रमिक लिन छिर्ने विचारले पनि उनी त्यहाँ गएका रहेछन् । त्यसलाई आधार बनाएर उनको त्यसमा संलग्नता रहेको हल्ला फिँजिएछ । त्यसमा उनको संलग्नता नभए पनि बेलुकीको रसरङ अर्थात् मापसे कार्यक्रममा भने उनी संलग्न भएको स्विकार्छन् ।

बुटपालिस गर्न आएका बालकृष्ण समलाई त्यहीँ पहिलोपटक देखेको बताउँछन् उनी ।
मनु ब्राजाकीले जिन्दगीमा कहिल्यै जागिर खाएनन् । उनले जागिरबारे कहिल्यै सोचेनन् पनि । महोत्तरीको अति सम्पन्न परिवारका उनलाई जागिरको आवश्यकता कहिल्यै पनि परेन । घुमफिरमै जिन्दगी बिताउन रुचाउन चाहने उनी काठमाडौं बसाइका क्रममा अत्यधिक मदिरासेवनमा लागे ।

०६५ सालतिर उनी प्रायः पुलचोकतिरका हरिया पर्दा पसलतिर भेटिन्थे । ०६८ सालतिर स्ट्रोक भएपछि उनी नराम्रोसँग थलिए । स्ट्रोककै कारण जेठो छोरा गुमाएका ब्राजाकीलाई अमेरिकामा बसोबास गरिरहेकी छोरीले अमेरिका बोलाएर उपचार गराइन् । करिब साढे चार वर्षको अमेरिकाको बसाइपछि उनी ठीक भएर आए । अहिले मापसेबाट टाढै छन् ब्राजाकी । दिनमा दुई–चार कप चिया र चुरोट पिउँदै गुमनाम जिन्दगी बिताइरहेछन् उनी ।

(ब्राजाकीसँगकाे कुराकानीका अाधारमा दुर्गा पाैडेलले तयार पारेकाे याे संस्मरण १ माघ २०७३ शनिबार नयाँ पत्रिकाकामा ‘जीन्दगी’ शीर्षकमा प्रकाशित भएकाे थियाे । उसवेला ब्राजाकी पूर्ण स्वस्थ थिएनन्, तर कुराकानी गर्न र गजल लेख्न सक्ने अवस्थामा थिए । उनै ब्राजाकी शुक्रबार हामीबीचबाट सदाका लागि बिदा भएका छन् ।)

तपाईको प्रतिक्रिया