logo

bar

केटी : प्रेमिका, साथी कि छोरी ?

कृष्ण आचार्य काठमाडाैं | माघ १८, २०७४

एक सााझ रेणु (नाम परिवर्तन) ले फोन गरी । मास्टर्स सँगै पढेको साथी बिरामी परेकाले उसलाई भेट्न जाने उसको प्रस्ताव थियो । अर्को दिन बिहान उसलाई भेट्न पाटन जाने कुरा भयो । पूर्वयोजनाअनुसार बिहान ७ बजे बिजुलीबजारमा भेटेर हामी पाटनतर्फ लाग्यौँ ।

बिरामी साथीको घरमा पुगेर उसको अवस्था बुझ्यौँ । दुई घन्टा बसेपछि त्यहाँबाट फर्कियौँ । फर्कंदा बाटोमा युएन पार्क पथ्र्यो । रेणुले एकछिन विश्राम गर्ने प्रस्ताव राखी । अफिसका लागि अझै केही समय बाँकी रहेकाले मैले नि ‘बसौँ न त’ भनेँ । खासमा हामी प्लस टुदेखि सँगै पढेकाले मिल्थ्यौँ पनि । धेरै कुराहरू सेयर पनि हुन्थे । दुवै आ–आफ्नो काममा व्यस्त भएकाले लामो समयदेखि भेटघाट भएको थिएन । त्यसैले पनि एकछिन पार्कमा बसेर सुख, दुःखका कुरा सेयर गर्ने अवसर थियो त्यो । र, हामीले त्यसै गयौँ पनि ।

तर, आपत् कहाँनिर आइपर्यो भने, हामी पार्कमा बसेर गफिएको मेरो आफन्त पर्नेले देखेछन् । त्यसपछि ‘परालको आगो’ सरी कुरा चारैतिर फैलियो । यतिसम्म कि ‘कृष्ण त केटीसँग पार्क–पार्कमा जान्छ रे’ भन्ने खबर मेरो ममीको कानसम्म पुगेछ ! एकदिन साँझ खाना खाएर टिभी हेरिरहेको थिएँ । ममीले फोन गर्नुभयो ।

काठमाडौंमा बसेको छोराको बारेमा नानाथरी कुरा सुनेपछि उहाँले मन थाम्न सक्नुभएनछ । आत्तिँदै भन्नुभयो, ‘खुब केटी घुमाउँदै हिँड्छस् रे नि आजकाल । जताततै तेरै चर्चा छ त ।’ एकछिन त मैले उहाँको कुरा बुझिनँ । केही समयको संवादपछि उहाँले तँलाई फलानोले पार्कमा देखेको रे भनेपछि मलाई रुनु न हाँस्नु भयो । जसोतसो उहाँलाई सम्झाएँ ।

०००
अर्को हप्ता दाइ–भाउजूसँग भेट भयो । उहाँहरूले पनि त्यही कुरा कोट्याउनुभयो । दिदी, भान्जी, नातेदार दाइहरूले फेसबुक च्याट र फोनमा त्यही कुरा सोध्न थाले । केहीले त ऊ साथी मात्र हो भन्ने मेरो बयान पत्याए, तर केहीले गलफ्रेन्ड भन्दा के बिग्रन्छ भन्दै उल्टै आरोप लगाए । बिग्रन त गलफ्रेन्ड नै भएको भए पनि के नै बिग्रन्थ्यो र ।

केटा–केटी सँगै हिँड्नै नहुने भन्ने पनि कतै छैन । र, सँगै हिँडेको विषयलाई लिएर नकारात्मक धारणा बनाउने, टीका–टिप्पणी गर्ने अधिकार पनि अरूलाई छैन । बिहेअघि पनि केटा–केटीबीचमा आफ्नै सम्बन्ध हुन्छन्, निकटता हुन्छ, साथीको रूपमा सुख, दुःख साटासाट, सर–सहयोग आदानप्रदान, मनोरञ्जन, भेटघाट, कुराकानी, विचार–विमर्श आदान–प्रदान हुन सक्छ । र, यो हुनु पनि पर्छ । वर्तमान समाजको माग पनि यही हो । बस्, हाम्रा मूल्य, मान्यता, संस्कार, परम्पराको ख्याल गरिदिए पुग्दैन र ?
०००
यस कुराले मलाई त्यति धेरै पिरोलेन । किनकि मेरो विषयमा कसले के भन्छ भन्नेभन्दा पनि आफू ठीक हुनुपर्छ, सही बाटोमा हिँड्नुपर्छ भन्ने मान्यताको मान्छे थिएँ म । तर, यस घटनाले हाम्रो समाजको चरित्र कस्तो रहेछ, हामी कुन मानसिकताबाट गुज्रिरहेका रहेछौँ, हाम्रो सोच कति संकुचित रहेछ भन्ने कुराको भने मलाई राम्रै ज्ञान भयो । मलाई त्यतिवेला अझ बढी झस्कायो जतिवेला मलाई पार्कमा देख्ने आफन्त वकिल थिए भन्ने थाहा पाएँ ।

म केटा थिएँ र यस कुराले त्यति गहिरो रूप लिएन । तर, मेरो स्थानमा साथीको आफन्तले देख्थ्यो र सोही कुरा प्रचार–प्रसार गथ्र्यो भने कस्तो प्रभाव पथ्र्यो होला ? भोलि बिहे गर्दा फलानोकी छोरीको त लभ थियो, पार्कमा केटासँग टाँसिएर बसेकी थिई, उसको चरित्र ठीक छैनजस्ता आरोप उमाथि लाग्न सक्थ्यो । र, हाम्रो समाजमा थुप्रै स्त्रीमाथि यस्ता आरोप लागेका पनि छन् । हामीले जति समानता, आधुनिकता, परिवर्तनको कुरा गरे पनि आफ्नै मानसिकता, पुरातनवादी सोच बदल्न सकेका छैनौँ । र, जबसम्म सक्दैनौँ तबसम्म केटा र केटीको सम्बन्धलाई लिएर यस्ताखाले टीका–टिप्पणी भइरहनेछन् । यो कस्तो असमानता ?

०००
हालै मात्र भान्जीलाई लिएर सपिङका लागि भाटभटेनी गएको थिएँ । त्यहाँ एक परममित्रसँग भेट भयो । सामान्य हेल्लो–हाईपछि हामी छुट्टियौँ । उसले त मलाई ‘छुपारुस्तम’को बिल्ला भिराउन भ्याइसकेछ । कारण मैले उसलाई गलफ्रेन्ड छैन भनेको थिएँ ।

साथीलाई लागेछ, भाटभटेनीमा हात समाएर हिँड्ने केटी मेरी गलफ्रेन्ड हो, र मैले उनीहरूलाई ढाँटिरहेको छु । उसले यो कुरा अन्य साथीहरूलाई पनि सुनाउन भ्याइसकेको रहेछ । ‘ब्याचलर’ पढ्दा बनाएको गु्रप च्याटमा एकाएक म्यासेज आउँदा पो म झस्किएँ । उसले पछाडिबाट फोटो खिच्नसमेत भ्याएको रहेछ । त्यहाँ त्यही फोटो सेयर गरेको थियो । साथीहरूले बधाई दिइसकेका थिए । मैले त्यहीँ भान्जी र मेरो दसैँमा टीका लगाउँदा खिचेको तस्बिर राखिदिएपछि बल्ल सबै लाइनमा आए ।

०००
यहाँ दिदी–भाइ, दाइ–बहिनी, मामा–भान्जी, केटा साथी–केटी साथी मात्र होइन, बाबु–छोरीसमेत सँगै हिँड्न नहुने भइसकेको छ । बाबु–छोरी सँगै हात समाएर हिँड्दा ‘ल हेर त आफ्नो छोरीको उमेरकोसँग लभ गरेको’ भन्न पछि पर्दैनौँ हामी । मैले यसरी चर्चा–परिचर्चा गरेको धेरै सुनेको छु । देश, समाज परिवर्तन भएन, भ्रष्टाचार मौलायो, राजनीतिक स्थिरता भएन, समाजमा असमानताको खाडल बन्यो, मानिसको विचार, दृष्टिकोण, व्यवहार परिवर्तन भएन भनेर रातदिन अरूको आलोचना गरेर समय खर्चने हामीले आफूचाहिँ कति सकारात्मक र परिवर्तनशील छु भन्ने कुरा बुझ्न जरुरी छ ।

तपाईको प्रतिक्रिया