logo

bar

कर्मचारी अभावले स्थानीय तहमा समस्यै–समस्या

शान्ता कमली लमजुङ | माघ ०९, २०७४

बेँसीसहर नगरपालिका अहिले निमित्त प्रमूख प्रशासकीय अधिकृत राजेश सिलवालको भरमा चलिरहेको छ । उनी मात्रै होइन नगरपालिकाका लेखापाल नै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका लेखापाल रमेश बस्नेतको सहयोगी बनिरहेका छन् । ११ वटा वडा नगरपालिकामा ५ वटा वडामा सचिव पद रिक्त छ ।

नागरिकको सेवाप्रवाहमा तल्लो तहमा महत्वपूर्ण प्रभाव राख्ने वडा सचिबको पद बेसीशहरका ६ जना वडासचिवले ११ वटा वडामा काम गरीरहेका छन् ।

नगरपालिकामा प्राविधिक कर्मचारीको पनि अभाव छ । जनप्रतिनिधिबाट हुनुपर्ने काम भएपनि वडा सचिवले गर्नुपर्ने पञ्जीकरणलगायतका कामहरु नहुँदा जनताले सास्ती व्यहोर्न बाध्य छन् ।

पर्याप्त कर्मचारी अभावमा नगरपालिकाले गर्नुपर्ने जनताको सेवा, विभिन्न योजना कार्यान्वयन तथा नीतिगत विषयहरुको तर्जुमा गर्नसमस्या भएको बेँसीशहर नगरपालिकाका प्रमूख गुमानसिंह अर्यालले नयाँ पत्रिकासँग गुनासो गरे ।

उनले भने,‘एकातिर नियम कानुन बनेको छैन भने अर्को तिर कर्मचारी नहुँदा थप समस्या सिर्जना भएको छ ।’ अर्याल भन्छन्,‘६ सय १९ योजना छनोट भएकोमा करिब ७५ प्रतिशत योजनाको सम्झौता भएर कार्यन्वयनको तयारीमा छ । अहिलेसम्म २० प्रतिशत योजना सम्पन्न भइसक्यो ।’

आर्थिक वर्षको ६ महिना वितिसक्दा पनि विनियोजित ३८ करोड बजेटमध्ये नगरपालिकाको कुल पुँजीगत खर्चको २५ प्रतिशत रकम मात्रै खर्च भएको प्रमूख अर्यालले बताए ।

जिल्लाको सुगम मानिने स्थानीय तह भन्दा दुर्गम भेगका स्थानीय तहमा अझैँ बढी सास्ती जनताले खेपीरहेका छन् । पर्याप्त कर्मचारीको अभावमा पूर्वी लमजुङको दुःधपोखरी गाउँपालिकाका जनप्रतिनिधिले जनसरोकारलाई ध्यानमा राखेर विकासका कार्यलाई अघि बढाउन सकेका छैनन् ।

गौंडा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन रिमाल हाल दूधपोखरी गाउँपालिकाको योजना सम्झौता गर्न खटिएका छन् । स्थानीय तहको नायाँ संरचना अनुसार गाउँपालिकामा काज सरुवा भए पनि शाखा सञ्चालन गर्ने ठाउँको अभाव हुँदा स्वास्थ्य केन्द्रमै बसेर काम गर्दै आएका थिए । उनी तीन हप्तायता गाउँपालिकाका योजना सम्झौता गर्ने, निर्णय लेख्ने, निर्णय तथा कर्मचारीको लगत तयार पार्ने काममा खटिएका छन् ।

सिंगो गाउँपालिकाभित्र २ सय ६० भन्दा बढी योजना रहेको गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले बताइन् । प्राविधिक छैनन्’, उनले भनिन्, ‘हामी पनि नयाँ । कर्मचारी पनि नयाँ भएकाले कहिलेकाहीं समस्या पर्ने गरेको छ ।’ कर्मचारीको अभावमा काम हुन नसकेको उनले स्वीकारिन् ।

करिब ११ जना दरबन्दी रहेको दूधपोखरी गाउँपालिकामा कार्यकारी, लेखापाल र कार्यालय सहयोगी छन् । भवन डिभिजन कार्यालयबाट २ महिनाअघि १ जना ओभरसियर सरुवा भएर गएका छन् । १ जनालाई करारमा राखिएको छ । इन्जिनियर, आइटी इन्जिनियर, नासुलगायत दरबन्दीका कर्मचारी नभएपछि काम गर्न अप्ठ्यारो परेको गाउँपालिकाकी कार्यकारी अधिकृत विष्णुकुमारी लामिछानेले बताइन् ।

एेनका अनुसार ६ वडा रहेको उक्त गाउँपालिकामा यसअघि २ वडा हेर्दै आएका नासु रमण बराललाई गाउँपालिकाको प्रशासन हेर्न लगाए पनि अहिले उनी ती वडामा फर्केर थप १ गरी ३ वटा वडाको काम एक्लै गरिरहेका छन् । कुल ६ वडामा उनले गाउँपालिकाकै आधा भाग ३, ४ र ५ गरी ३ वडा हेरिरहेका छन् । उनी वडा नम्बर ४ का सचिव हुन् । वडा नम्बर १ र २ मा एकजना र ६ मा अर्को एक जना सचिवले हेर्दै आएका छन् ।

गाउँमै सिंहदरबार नारामै सिमित

सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा लमजुङे जनताको हकमा भने लागू हुन सकेको छैन । काम परेको बेला जनप्रतिनिधि र कर्मचारी नभेटिएपछि जनताकाे पहिले र अहिलेकाे अवस्थामा तात्विक फरक परेकाे छैन ।

यतिखेर लमजुङका आठ वटा स्थानीय तहमध्ये अधिकाशं स्थानीय तहमा वडासचिव र वडाअध्यक्ष कार्यलयमा नभेटिने गरेपछि जनतालाई पञ्जिकरण, सिफारिस लगाएतका सुविधा लिन समस्या भएको छ ।

४ नगरपालिका र ४ गाउँपालिका गरेर ७५ वटा वडा रहेको लमजुङमा ३० जना वडा सचिवले सबै वडा धानेका छन् । बाँकी ४५ वटा वडा सचिव विहिन भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । उनले स्थानीय निकायको कानुन नवन्दा काममा अन्यौल भएको बताए । उनले प्रदेश सरकार र संघिय सरकार निमार्ण भएपछि काममा सहजता आउने बताए ।

जनप्रतिनिधि र कर्मचारीहरु नभेटिँदा सिफारिस बनाउन घर धाउँदा वडाध्यक्ष नभेटीदा तीन दिन बितेको दुधपोखरी गाउँपालिका इलामपोखरीका कौरीमायाँ गुरुङको गुनासो छ । उनले भनीन् ‘नौ महिना अगाडि जस्तो थियो अहिले पनि उस्तै छ । खै घरघरमा सिंहदरबार ? उनले प्रश्न गरिन् । जनताको काम अघिल्लो संरचनाको भन्दा पनि जनप्रतिनिधि आइसकेपछि झनै ओझेलमा परेको बेँसीसहर नगरपालिका ७ का पशुपति घिमिरेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु