logo

bar

व्यवसायमा सुधार नहुँदा दुई खर्बको लगानी संकटमा

नयाँ पत्रिका कास्की, ९ माघ | माघ ०९, २०७४

होटेल अकुपेन्सी दर न्यून हुँदा अधिकांश होटेललाई व्यवसाय टिकाउनै कठिन

पोखराका होटेल व्यवसायीहरूले भूकम्प र नाकाबन्दीपछि पनि होटेल व्यवसायमा सुधार आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पश्चिमाञ्चल होटेल संघ पोखराले पोखरामा आयोजना गरेको ‘होटेल व्यवसायमा अवसर, चुनौती र समाधान’ विषयक कार्यक्रममा सहभागी व्यवसायीले दुई खर्बको लगानी संकटमा परेको बताएका छन् । पोखरा र आसपासमा सञ्चालनमा रहेका होटेलमा करिब २ खर्ब हाराहारी लगानी रहेको उनीहरूको भनाइ थियो ।

३६४ होटेल, २२ हजार बेड
पोखरामा हाल पाँचतारे २ र तीनतारे १२ होटेल छन् । त्यस्तै पर्यटकीयस्तरका ३ सय ५० होटेल छन् । तिनमा १० हजारभन्दा बढी कोठा र २२ हजार बेड रहेका छन् । पोखरा तथा आसपासमा लेकसाइड, न्युरोड, पृथ्वीचोक, वेगनास ताल, रूपाकोट, साराङकोट, शान्ति स्तुपा, मट्टीखान, घान्द्रुकलगायत स्थानका गाउँमा होमस्टेको पनि व्यवस्था छ ।

अकुपेन्सी दर ४० प्रतिशत
पोखरा क्षेत्रका होटेलको अकुपेन्सी दर ४० प्रतिशत हाराहारी मात्र रहेको व्यवसायीले बताएका छन् । जसका कारण व्यवसाय टिकाउनै चुनौती रहेको उनीहरूको भनाइ छ । पर्याप्त हवाई उडान नहुनु, सडक मार्ग राम्रो नहुनु, मुग्लिन–नारायणघाट सडक लामो समयसम्म पनि निर्माण सम्पन्न नहुनु पोखरामा पर्यटन विकासका बाधक रहेको उनीहरूले बताए ।

त्यस्तै भैरहवा–बुटवल हुँदै पोखरा आउने पाल्पा–स्याङ्जाखण्डको सडक राम्रो नहुँदा पनि पोखरा भ्रमणमा आउन चाहने पर्यटकले सास्ती खेप्नुपरेको उनीहरूले बताएका छन् ।

स्थलमार्ग व्यवस्थित बनाउन माग
होटेल व्यवसायीहरूले स्थलमार्ग व्यवस्थित बनाउँदै पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सुझाब दिएका छन् । त्यस्तै पोखराआसपासमा नयाँ गन्तव्यको पहिचान गरिनुपर्ने, पोखराको देश तथा विदेशमा प्रचार गरिनुपर्ने पनि उनीहरूले माग गरेका छन् ।

हवाई सेवा थप विस्तार गर्नुपर्ने, फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने तथा अवैध होटेल तथा पर्यटन व्यवसायीविरुद्ध सबै एकजुट हुनुपर्ने उनीहरूको भनाइ थियो । संघका अध्यक्ष विकल तुलाचनले विनाशकारी भूकम्प, त्यसपछि भारतको नाकाबन्दी र नोटबन्दीपछि पनि व्यवसायमा अपेक्षाकृत सुधार आउन नसकेको बताए ।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवातालको अतिक्रमण हटाउन र लोकसाइड क्षेत्रमा ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया