logo

bar

भूकम्पप्रतिरोधी आवास तालिममै सीमित

अनु आचार्य/नयाँ पत्रिका रसुवा, ८ माघ | माघ ०८, २०७४

भूकम्पप्रतिरोधी आवास निर्माणका लागि पटक–पटक तालिम लिएका जनशक्तिले आवास निर्माणमा निरन्तरता नदिँदा रसुवामा पुनर्निर्माणले गति लिन सकेको छैन । तालिम लिने तर काम नगर्ने प्रवृत्तिका कारण जिल्लाका भूकम्पपीडित आवास निर्माण गर्नबाट वञ्चित भएका छन् ।

तालिम लिएका जिल्लाका जनशक्तिले काम नगर्दा बाहिरी जिल्लाका जनशक्ति ल्याएर काम गर्नुपरेको स्थानीयको भनाइ छ । कालिका गाउँपालिका–२ का विश्वास नेपालीले तालिम लिएका गाउँका दक्ष कामदारले काम नगरेपछि बाहिरबाट ल्याएर पुनर्निर्माण गरिरहेको बताए ।

उनले भने, ‘पुनर्निर्माण गर्न स्थानीयस्तरमा कामदार तथा दक्ष जनशक्ति खोज्दा पाउन सकिएन, कामदार नपाएपछि तराईतिरबाट कामदार ल्याई घर बनाइरहेका छौँ, सोचेजति पुनर्निर्माण हुन सकेको छैन ।’

जिल्ला समन्वय समिति रसुवाका अनुसार भूकम्पप्रतिरोधी आवास निर्माणका लागि हालसम्म जिल्लामा १५ सय ११ जनालाई सातदिने डकर्मी तालिम दिइएको छ । तर, स्थानीयले घर निर्माणका लागि डकर्मी खोज्दा पाएका छैनन् ।

‘गाउँमा एउटै कामदारले धेरैको घर बनाउनुपर्ने भएकाले पालो पर्खेर बस्नुपर्ने बाध्यता छ,’ गोसाइँकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङले भने, ‘मेरो एककोठे घर बनाउन २६ मंसिरबाट सुरु गरेको अहिलेसम्म बनिसकेको छैन ।’

रसुवामा १० हजार १ सय ५९ निजी घर बनाउने सूचीमा छन् । तर, अहिलेसम्म पाँच हजार मात्रै घर पुनर्निर्माण सुरु भएको छ । त्यसका लागि करिब ३५ हजार जनशक्ति आवश्यक पर्छ । तालिममा योग्य व्यक्ति छनोट गर्न नसक्दा समस्या आएकाले योग्य व्यक्ति छनोट गरी तलिम चलाउने तयारी भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताए । उनले भने, ‘तालिम छनोट गर्दा वास्तवमा काम गरेकैलाई दिनुपर्ने थियो । तर, सिक्नका लागि भन्दा पनि भत्ताका लागि मात्र तालिम लिएका धेरै छन् ।’

भूकम्पप्रतिरोधी आवास निर्माणका लागि तालिम लिएका जनशक्तिको अभाव भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला समन्वय समिति र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत अहिले पनि जिल्लाका विभिन्न स्थानमा तालिम सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु