logo

bar

सोलुखुम्बु, कालिकोट र जाजरकोटमा सिजनल इन्फ्लुएन्जाको प्रकोप

अर्जुन अधिकारी/नयाँ पत्रिका काठमाडौं, ८ माघ | माघ ०८, २०७४

सोलुखुम्बु, कालिकोट, जाजरकोट र बाजुरामा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी)को प्रकोप देखिएको छ । एक महिनायता देखिएको मौसमी रुघाखोकीको प्रकोप अझैे नियन्त्रणबाहिर छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सिजनल इन्फ्लुएन्जाका कारण अहिलेसम्म सातजनाको मृत्यु भइसकेको छ ।

इन्फ्लुएन्जाको संक्रमण बढेपछि सरकारले स्वास्थ्य सेवामा उच्च सतर्कता अपनाएको छ । महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार प्रकोपबाट आउन सक्ने समस्यालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।

‘सोलुखुम्बुबाट बिरामीको नमुना हामीले मगाएका छौँ,’ निर्देशक आचार्यले भने, ‘सिजनल इन्फ्लुएन्जा भएको हुन सक्ने आशंकामा आवश्यक औषधि र चिकित्सकको टोली सम्बन्धित क्षेत्रमा पुगिसकेको छ ।’

उनले सोलुखुम्बु र जाजरकोटमा देखिएको प्रकोप केही कम भए पनि पूर्ण नियन्त्रणमा भने नआएको बताए । ‘खबर पाउनासाथ चिकित्सक र औषधिसहितको टोली प्रभावित क्षेत्रमा पठाएका थियौँ । अहिले धेरै कम भएको छ,’ उनले भने ।

सातको मृत्यु, २५ सयभन्दा बढी बिरामी
महाशाखाका अनुसार सिजनल इन्फ्लुएन्जाबाट एक महिनाको बीचमा सातको मृत्यु र २५ सयभन्दा बढी मानिस बिरामी परेका छन् । कालिकोटमा चार, जाजरकोटमा दुई र सोलुखुम्बुमा एकजनाको मृत्यु भएको छ । बिरामी पर्नेजति सबैमा सिजनल इन्फ्लुएन्जा नरहेको आचार्यले बताए ।

अहिले मौसमी रुघाखोकीको समय भए पनि बिरामी र मृत्यु भएका सबैमा सिजनल इन्फ्लुएन्जा नदेखिएको उनको भनाइ छ । कालिकोटमा दुई सयको संख्यामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत पेलवाङमा भाइरल ज्वरोका पाँच सयभन्दा बढी बिरामीले उपचार गराइरहेका छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल ज्वरोबाट बिरामी भएका १८ सय ४५ जनाले उपचार गराएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोका अनुसार बाजुरामा पाँचजनामा सिजनल इन्फ्लुएन्जा एचथ्री देखिएको छ । १२ जनाको नमुना परीक्षण गरिएकोमा पाँचजनामा सिजनल इन्फ्लुएन्जा देखिएको उनले बताए ।

एक साता शैक्षिक संस्था बन्द गर्न माग
कालिकोटमा भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका शैक्षिक संस्था एक साताका लागि बन्द गरिने भएको छ । सिजनल इन्फ्लुएन्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालिकोटका शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न जिल्ला शिक्षा कार्यालयलाई अनुरोध गर्ने भएको हो ।

‘स्वास्थ्यमा देखिने संवेदनशीलतालाई ध्यानमा राखेर एक हप्ता विद्यालय बन्द गर्न आग्रह गर्नेछौँ । त्यसलाई मान्ने–नमान्ने जिल्ला शिक्षा कार्यालयमा भर पर्छ,’ महाशाखाका निर्देशक डा. आचार्यले भने ।

बालबालिका र वृद्धवृद्धा समस्यामा
सिजनल इन्फ्लुएन्जाको प्रकोपबाट बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । चिसो मौसम भएका कारण पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा समस्यामा परेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनका अनुसार श्वासप्रश्वास र दमका बिरामीलाई सिजनल इन्फ्लुएन्जाले बढी सताउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु