logo

bar

‘विचाराधीन मुद्दाको पहिल्यै समाचार दिँदा न्यायालयमाथि आँच पुग्यो’

नयाँ पत्रिका काठमाडौं, ८ माघ | माघ ०८, २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाहरूलाई प्रभावित पार्ने गरी समाचार प्रकाशन–प्रसारण गर्दा न्यायालयको गरिमामाथि आँच आउने गरेको बताएका छन् ।

नेपाल प्रेस काउन्सिलको अनलाइन उजुरी प्रणाली सञ्चालन कार्यक्रममा आइतबार उनले अदालतमा हरेक मुद्दामा एउटाले जित्ने र हार्ने हुने भए पनि मिडियाले हार्नेको पक्ष लिएर उचाल्ने गरेको गुनासो गरे । कानुन, कानुनी प्रणाली, कार्यविधिको संरक्षक न्यायपालिका मात्रै नभएर समाजको जिम्मेवार पक्ष मिडियाको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘अदालत अदालतजस्तै हुनुपर्छ, रहिरहन्छ,’ उनले भने, ‘पद्धति र प्रणाली, अनि संविधानको मर्मअनुसार चल्ने अदालतको न्यायिक प्रक्रियामा भिडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस रहँदैन ।’

न्यायिक प्रक्रियाबाट हल हुने विषय रत्नपार्क, मण्डला र सडकबाट निर्णय हुने हो भने संविधानबमोजिमका संस्थाहरूको अन्त्य त्यही विन्दुबाट हुन सक्ने उनको भनाइ छ । ‘अदालत र न्यायाधीश त्यस्ता संस्था हुन्, जसको कुनै विरोध हुनु हुँदैन भन्ने होइन । अदालत र न्यायाधीशका विषयमा निश्चिन्त भएर लेख्नुस् ।

तर, त्यो तथ्य र सत्यको आधारमा हुनुपर्छ,’ उनले भने, ‘न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचना सुन्नुपरिरहेको पनि हुन्छ । तर, जब आलोचनाले न्यायको नियमित प्रवाहमै असर पु¥याउँछ, न्यायाधीशको निष्पक्षता र क्षमतामा अनुचित टीकाटिप्पणी गरी सर्वसाधारण जनताको नजरमा अदालतलाई गिराउने काम गरिन्छ, तब त्यसले न्यायपूर्ण समाज निर्माणको गतिलाई अवरोध गर्दछ ।’

समाचार कति लाइक र सेयर भए भनेर नहेरौँ
न्यायपालिकालाई होच्याएर वा विवादमा मुछेर जनसाधारणमा अदालतप्रति अनास्था उत्पन्न गराउन नहुने उनले बताए । न्यायाधीशलाई विवादमा पारेर निष्पक्ष रूपमा न्याय दिन नसक्ने स्थितिमा पु¥याइयो भने त्यसको परिणाम न्यायाधीश र अदालतले मात्रै होइन, सिंगो राष्ट्रले भोग्नुपर्ने प्रधानन्यायाधीशको भनाइ छ । उनले सञ्चारमाध्यममा प्रकाशित समाचार कति लाइक र सेयर भए भन्दा पनि कति सत्य छ भन्ने कुरा आत्ममूल्यांकन हुन सके मात्रै त्यसको विश्वसनीयता बढ्ने बताए ।

विवाद र विवादित पक्षहरूबीच नै रहेर विवादको न्यायिक निरूपण गर्नुपर्ने उनको भनाइ छ । ‘विवादको कुनै पक्षले यसको निर्णयसँगै असन्तुष्ट हुन र विमति प्रकट गर्न सक्छन् भन्ने पूर्वानुमान न्यायपालिकाले गर्छ, तर त्यस्तो अवस्थाप्रति अनदेखा गरी आफ्नो कर्तव्यपालना गर्ने कार्यमा अग्रसर पनि भइरहन्छ,’ पराजुलीले भने । उनले न्यायपालिकाले गर्ने निर्णय र त्यसको पालना सभ्य समाजमा मानिएको सत्कार्यप्रतिको समपर्ण भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु