logo

bar

हेटौँडामा डेढ अर्ब लगानीको नयाँ उद्योग खोल्दै निम्बस

आनन्द श्रेष्ठ/नयाँ पत्रिका हेटौँडा, ८ माघ | माघ ०८, २०७४

१ अर्बको इमल्सन र ५० करोडमा पेन्ट्स बकेट उद्योग सञ्चालनको तयारी

पेन्ट्स उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुने केमिकल इमल्सन नेपालमा पहिलोपटक निम्बस ग्रुपले उत्पादन गर्ने भएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको निम्बसअन्तर्गतको प्रोजिओकेम इन्डस्ट्रिज प्रालिले १ अर्ब रुपैयाँ लगानीमा इमल्सन उद्योग सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए ।

स्वदेशमा सञ्चालित राष्ट्रिय तथा बहुराष्ट्रिय पेन्ट्स उद्योगलाई लक्षित गरेर इमल्सन उद्योग सञ्चालनमा आउन लागेको उनले बताए । करिब २ सय रोपनी क्षेत्रफलमा रहेको निम्बसअन्तर्गतका उद्योगबाट ७ प्रकारका विभिन्न प्रडक्टहरू उत्पादन हुँदै आएका छन् ।

करिब ३ अर्ब रुपैयाँ लगानी भएको हेटौँडा औद्योगित क्षेत्रभित्रका उद्योगहरूबाट उत्पादन हुने ५ वटा प्रडक्ट केमिकलमा आधारित छन् । यसबाहेक झोला बनाउन प्रयोग गरिने फेब्रिक उद्योग पनि करिब ८० करोड रुपैयाँको लगानीमा सञ्चालन भइरहेको छ ।

नेपालमा करिब ६० वटा पेन्ट्स उद्योगहरू रहेकोमा हालसम्म सबैले भारत तथा तेस्रो मुलुकबाट इमल्सन आयात गर्दै आएका छन् । सम्पूर्ण पेन्ट्स उद्योगहरूमा अहिले १ हजारदेखि १२ सय मेट्रिकटन इमल्सन खपत हुने कम्पनीका फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेले बताए । तर, अहिले सञ्चालनमा आउन लागेको उद्योगको उत्पादन क्षमता भने महिनाको ५ सय टन रहेको छ ।

त्यसैले उद्योग पूर्ण रूपमा सञ्चालनमा आए पनि स्वदेशी मागको ५० प्रतिशत मात्र पूरा गर्न सक्ने लामिछानेले बताए । एक साताभित्र नै कन्स्ट्रक्सनको काम सुरु हुने उद्योग सञ्चालनमा आउन भने करिब ४ महिना लाग्नेछ ।

बकेट उद्योग सञ्चालनको तयारी
आफ्ना मुख्य ग्राहक बर्जर, एसियन पेन्ट्सलगायतका बहुराष्ट्रिय कम्पनी बनाएको उद्योगले पेन्ट्स कम्पनीलाई नै लक्षित गरेर बकेट उद्योग पनि सञ्चालनको तयारी गरेको उनले जानकारी दिए । करिब ५० करोड रुपैयाँ लगानी रहने बकेट उद्योगबाट दैनिक विभिन्न आकारका १ हजारदेखि १५ सय थान प्लास्टिकका बकेटहरू उत्पादन हुनेछन् । नेपालमा रहेका पेन्ट्स उद्योगहरूलाई आवश्यक बकेटहरू अहिले करिब ५० प्रतिशत आयात हुँदै आएका छन् ।

३० टन डिइपी उत्पादन
अगरबत्ती बनाउँदा आवश्यक पर्ने लेसाइलो केमिकलयुक्त कच्चा पदार्थ हो, डिइपी । नेपालमा यो केमिकलको पनि उच्च माग रहेको छ । स्वदेशी अगरबत्ती उद्योगहरूले मासिक करिब ५० टन डिइपी केमिकल माग गर्ने फ्याक्ट्री म्यानेजर लामिछानेको भनाइ छ । तर, कच्चा पदार्थको अभावमा अहिले २५ देखि ३० टन मात्र उत्पादन गर्न सकिएको उनले बताए ।

८० करोड लगानीको डिओपी उद्योग बन्दको सँघारमा
निम्बसले सञ्चालन गर्दै आएको अधिकांश उद्योगको व्यावसायिक अवस्था राम्रो छ । उद्योगपरिसरमा उत्पादित सबै प्रडक्टहरूमा माग पनि आकर्षक रहेको फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेले बताए । तर, उत्पादन क्षमता र माग हुँदाहुँदै पनि कम्पनीले डिओपी उद्योग भने बन्द गर्ने अलोकप्रिय निर्णय गर्न बाध्य भएको उनको भनाइ छ ।

डिओपी केमिकल कार्पेट, जुत्ता–चप्पललगायतका सामग्रीमा प्रयोग गरिन्छन् । ‘नेपाल सरकारको नीति उद्योगमैत्री नहुँदा हामीले उद्योग बन्द गर्ने निर्णय लिनुपरेको हो,’ उनले भने, ‘राजस्व उठाउने उद्देश्य मात्र राख्ने सरकारले कच्चा पदार्थभन्दा तयारी वस्तु आयातमा भन्सार शुल्क कम निर्धारण गरेको छ । जसले गर्दा कच्चा पदार्थ आयात गरेर वस्तु उत्पादन गर्ने उद्योगको प्रतिस्पर्धी क्षमता कमजोर बन्न पुगेको हो ।’

डिओपी उत्पादन गर्न आवश्यक कच्चा पदार्थहरू आयात गर्दा १५ देखि २० प्रतिशत कर लाग्छ । तर, सीधै डिओपी आयात गर्दा भने ५ प्रतिशत मात्र कर लाग्ने उनले बताए । जसले गर्दा स्वदेशी उत्पादन आयातीत उत्पादनभन्दा महँगो पर्न जान्छ । स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता कमजोर भएकै कारण करिब ४० करोड रुपैयाँ लगानी भएको उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

नेपालमा डिओपीको खपत मासिक करिब ६ सय टन रहेको छ । तर, उद्योगको उत्पादन क्षमता भने ३ सयदेखि ४ सय टन रहेको छ । सरकारको नीति व्यावहारिक नभएकै कारण बजार हुँदाहुँदै पनि ७ वर्षअगाडि स्थापना भएको उद्योग बन्द गर्नुपर्ने अवस्थामा आएको निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले बताए ।

तपाईको प्रतिक्रिया