logo

bar

निजी शिक्षण संस्था : माक्र्सवादी दृष्टि

नयाँ पत्रिका काठमाडौं | माघ ०८, २०७४

नयाँ शिक्षा पद्धति (०२८) लागू हुनुअघि निजीस्तरमा खोलिएका शिक्षण संस्था विशुद्ध सेवामुखी थिए । त्यहाँ शुल्क तिर्नु पर्दैनथ्यो । कतै गुरुदक्षिणास्वरूप आफूसक्दो दक्षिणा, अन्न, घिउ आदि टक्य्राउने चलन थियो, तर अनिवार्य थिएन । ०२८ मा शिक्षा ऐन आयो । सबै शिक्षण संस्थालाई केन्द्रीकृत अर्थात् सरकारीकरण गरियो ।

शिक्षामा एकरूपता ल्याउने प्रयत्न गरियो । ३४ वटा विभिन्न विधाका व्यावसायिक विषय पढ्न पाउने व्यवस्था पनि गरियो । यसको जिम्मा राज्यले लियो । ०३६ को आन्दोलनसँगै व्यावसायिक शिक्षा बढारियो । ०४६ को परिवर्तनसँगै निजी शिक्षण संस्था पुँजीवादी शैलीमा ब्युँतिए । राजा महेन्द्रले ल्याएको शिक्षानीति भएकै कारण यसमा सामन्तीपना देखियो ।

व्यावहारिकपना देखिएन । राज्य जिम्मेवार बनेको प्रगतिशीलता देखिएन । एउटा आँखाले हेरियो, अर्को बन्द गरियो । प्रजातन्त्र नामको भक्त बनियो, परिणामप्रति समालोचक बनिएन । अहिले त्यही व्यावहारिक र प्राविधिक शिक्षाको नारा लगाइन्छ । निजी शिक्षण संस्थाको व्यवहार देखेर मुटु दुख्छ र भनिन्छ, ‘शिक्षा सरकारीकरण गर, व्यावहारिक शिक्षा देऊ ।’

माक्र्सवादी आँखाले हेर्दा महेन्द्रको शिक्षा प्रगतिशील नै देखिन्छ, भलै यसको नेतृत्व सामन्ती सत्ताले गरेको थियो । अहिलेसम्मका अधिकांंश निजी शिक्षण संस्था कम्पनी ऐनमा दर्ता भएका छन् । केही गुठीमा छन् । अब सबै गुठीमा दर्ता हुनेछन् ।

नाम जे दिए पनि यिनीहरू पैसा कमाउन खोलिएका हुन् । नाफा आर्जन गर्न चलाइएका हुन् । यहाँ पुँजी हुनेले लगानी गरेका छन्, मुनाफाको आशामा । अधिकांश लगानी गर्नेले त्यहाँ श्रम गर्दैनन् । श्रम गर्नेहरू (शिक्षक, कर्मचारी) ले लगानी गर्न सक्दैनन् । उनीहरू श्रम बेच्छन् ।

यहाँ बौद्धिक श्रमको बढ्ता प्रयोग भएको छ । पुँजीपतिहरू बेरोजगारी समस्याको फाइदा उठाउन माहिर हुन्छन् । सस्तोमा श्रम किन्ने दाउ हेर्छन् । बोर्डिङ स्कुलमा यस्तै छ । स्नातकोत्तर गरेका बौद्धिक श्रमिकलाई एउटा कार्यालय सहयोगीसरह ज्याला छैन ।

विरोध गरे जागिर जान सक्छ । जागिर खोस्नेचाहिँ अन्डर एसएलसी वा सालेप (साधारण लेखपढ) मात्रै पनि हुन सक्छन्, तर पैसावाल भने हुन्छन् । त्यो बौद्धिक श्रमिक आँसु पिउँदै श्रम गर्छ । श्रमको शोषण भएको टुलुटुलु हेर्दै मुटु थमाएर श्रम गरिरहन्छ । के यहाँ मानवीयता रह्यो ? अभिभावकबाट विभिन्न नाममा शुल्क असुलिन्छ ।

समयमै शुल्क नपठाए विलम्ब शुल्क जोडिन्छ, अझ नभए परीक्षा रोकिन्छ, त्यो पनि नभए कठालोमा समातेर विद्यालयबाट घोक्रेठ्याक लगाइन्छ । गरिब र पैसा तिर्न नसक्ने भए भर्नै लिइँदैन । सरकारी नियमअनुसार दश प्रतिशत छात्रवृत्ति देखाउने दाँत मात्रै हुन्छ । के यहाँ सेवाको गन्ध रह्यो ? पुँजीवादमा न त सेवा हुन्छ, न त मानवीयता नै । त्यसैले निजी शिक्षण संस्था पुँजीवादका प्रतीक भए ।

पुँजीवादको विशेषता अतिरिक्त मूल्यबाट श्रमिकलाई अलग गर्नु हुन्छ । माक्र्स भन्छन्, ‘पुँजीवादले मानिसलाई समाज र प्रकृतिबाट अलग गर्छ । मानिस मानिसबाट, आफू आफैँबाट अलग गर्छ । आफूले गरेको मिहिनेत आफैँविरुद्ध उठ्छ ।’

यो भनाइ निजी शिक्षण संस्थामा पनि लागू हुन्छ । शिक्षकले श्रम गर्छ, अतिरिक्त मूल्य जेनरेट गर्छ, तर उपभोग गर्न पाउँदैन, बाँच्नका लागि न्यूनतम ज्याला मात्र पाउँछ, यहाँ अतिरिक्त मूल्यको उपभोगबाट अलग्गियो । प्राकृतिक वस्तु स्वतन्त्र रूपमा प्रयोग गर्न पाउँदैन, प्रकृतिबाट अलग्गियो । कामको भारी हुन्छ सामाजिक सेवा गर्न पाउँदैन, समाजबाट अलग्गियो ।

ज्याला खाममा हालेर दिन्छन् साथीलाई नभनेस् भन्छन्, साथीबाट अलग्गियो । बिस्तारै ऊ डिप्रेसनमा पुग्छ, आफू आफैँबाट अलग्गियो । पाउलो फ्रेरे भन्छन्– दमितमा ‘कल्चर अफ साइलेन्स’ले काम गरेको हुन्छ । शोषितहरू शोषकसामु चुप रहन्छन्, आफूभित्रै पीडा दबाउँछन् । यहाँ शिक्षक बोल्न सक्दैनन्, डराउँछन्, विकल्प छैन ।

यिनीहरू संगठित विद्रोह गर्न सकिरहेका छैनन् । शिक्षक संगठन निजी शिक्षकबारे बोल्दैनन् । यिनीहरूलाई चुप लगाउने अर्कै कार्ड छ । अभिभावक प्रतिष्ठाको डरले बोल्दैनन् । पुँजीवादीको चरित्र ‘कार्टेलिङ’ पनि हो । शिक्षामा पनि कार्टेलिङ भएको देखिन्छ । सबै मिलेर फी बढाउँछन् ।

थोरै लिनेलाई कार्बाही गर्छन् । यसो हुँदा सेवाग्राहीलाई छनोटको अवसर हुँदैन । पुँजीवादमा ठूलो माछाले साना माछालाई खान्छन् । ठूला निजी शिक्षण संस्थाले सानालाई थिच्छन् । निर्णय ठूलाले गर्छन् । विज्ञापन उनीहरूले गर्छन् । साना संस्था बाँच्नका लागि लड्छन् । सम्भवतः साना संस्था घाटामा पनि होलान् ।

पुँजीवादीहरू आफ्नो सामान बिकाउन र ग्राहक तान्न हदैसम्मको प्रलोभन देखाउँछन् । रंगीबिरंगी विज्ञापन गर्छन् । निजी शिक्षण संस्थाले यस्तै तडकभडकपूर्ण विज्ञापन गर्छन् । झुट्टा चारो फ्याँक्छन् । शिक्षक, अभिभावकलाई शोषण र लगानीकर्तालाई पोषण गरेर प्राप्त अतिरिक्त मूल्यलाई प्रचारमा खर्चिन्छन् । हेरौँ त यो व्यापार नभएर सेवा हो त ?

पियरे बोड्यु भन्छन्, ‘पुँजीवादी शिक्षाले पुनरावृत्ति गर्छ, आफ्नो व्यवस्थाका खम्बा मात्रै उत्पादन गर्छ ।’ लेनिनको भाषामा पुँजीपतिले आफूलाई चाहिने हातको विकास गर्छ, समालोचक दिमाग होइन । माओको भाषामा पुँजीवादी भरौटे उत्पादन गर्छ ।

पाउलो पे्रmरे भन्छन्, ‘पुँजीवादी शिक्षाले बैंकिङ धारणा शिक्षण विधिको प्रयोग गर्छ ।’ हाम्रा निजी विद्यालयले ‘टेक्स्ट’ घोकाउँछन्, ज्ञान कोच्याउँछन्, गृहकार्यको भारी बोकाउँछन् । यहाँ सिर्जनात्मकता कम छ । उत्पादित जनशक्ति विदेशमा बिक्री गर्ने लक्ष्य राख्छन् । मन्टेसरी स्कुल र किन्डरगार्डेन कक्षामा किताब घोकाइन्छ, यी विधि त नाम राख्न मात्रै हुन् ।

उत्पादित जनशक्तिमा मानवीयता, रचनात्मकता, राष्ट्रियताजस्ता सामाजिक गुणको अभाव देखिन्छ । यहाँ अंकको लेखाजोखा छ । मानिसको बुद्धिलाई प्रतिशतमा नापिन्छ । उसको ‘सब्जेक्टिभिटी’लाई लात मारिन्छ । यी सबै पुँजीवादी शिक्षाका विशेषता हुन् । हाम्रा निजी विद्यालयमा यिनै कुरा प्रतिबिम्बित हुन्छन् ।

माक्र्सवादी आँखाले नेपाली निजी शिक्षण संस्थालाई चिहाउँदा यी उल्लेखित दृष्टान्त देखिए पनि यी सबै संस्थामा लागू नहुन सक्छन् । कसै कसैले नमुनाका रूपमा काम पनि गरेका छन्, तिनीहरूबाट सिक्नुपर्छ । तत्कालका लागि निजी शिक्षण संस्थाको जरो उखेल्न सम्भव छैन, थेग्ने राज्यको तागत पनि छैन । भ्रम पाल्नुपर्ने छैन, यिनीहरू नाफखोरी नै हुन् तर जिम्मेवार बनाउनुपर्नेछ ।

सरकारी स्कुलमा गुणस्तर बढाउन सके यिनीहरू आफैँ ‘साइज’मा आउँछन् । राज्यले लगाम कस्नुपर्नेछ, अभिभावक चनाखो हुनुपर्नेछ, दलले ओढाएको छाता झिकिदिनुपर्नेछ । व्यक्तिगत सम्पत्ति जोर्ने अभीष्ट शिक्षाबाट पूरा गर्न खोज्दासम्म शिक्षा सेवामुखी हुन सक्दैन ।

(माक्र्सवादी शिक्षामा एमफिल गरेका आचार्य शिक्षा मन्त्रालयसँग सम्बद्ध छन्)

तपाईको प्रतिक्रिया