logo

bar

एजेन्डा परिवर्तन कति आवश्यक ?

बुद्धिमान तामाङ काठमाडौं, ७ माघ | माघ ०७, २०७४

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अप्रत्याशित नतिजा आयो । परिकल्पनाविपरित नतिजा आउनुमा हाम्रा कमीकमजोरी त पक्कै थिए । गत वर्ष राप्रपा नेपाल र राप्रपा एकीकरण गरी ग्रासरुटदेखि एकता अधिवेशन गर्दै केन्द्रमा एकता महाधिवेशन गर्‍यौँ । तर, जुन उद्देश्यले एकीकरण गरिएको थियो, त्यो सम्भव भएन । महाधिवेशन भएको ६ महिना बित्न नपाउँदै नेता डा. प्रकाशचन्द्र लोहनी असन्तुष्टि जनाएर आफूनिकटका केही नेता लिएर निस्कनुभयो । उहाँ निस्केका पीडा निको नहुँदै पशुपतिशमशेर राणाको नेतृत्वमा ४० प्रतिशत नेता निस्किएर नयाँ पार्टी गठन भयो । जसले काठमाडौंको मुटु प्रदशनीमार्ग ब्लक गर्दै तामझामसाथ गरिएकोे महाधिवेशन उद्घाटन सत्रमा मुख्य दलका शीर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुभकामना मन्तव्य दिँदै अब ‘राप्रपा पनि हामीलाई टक्कर दिने पार्टी बन्यो’ भन्ने भनाइ सार्थक बन्न सकेन । त्यसवेला जनताको अपेक्षा पनि राप्रपा अब सशक्त वैकल्पिक शक्ति हुने भो भन्ने नै थियो । तर, त्यसविपरीत हामी राष्ट्रिय पार्टी बन्ने मापदण्ड पुरा गर्नबाट चुक्यौँ ।

बुद्धिमान तामाङ

किन हार्‍यो राप्रपाले ?
पहिलो, पार्टी फुटेपछि यिनीहरू आफैँ फुटेर तीन टुक्रा भए, अब किन मत दिने भन्ने प्रश्न जनताले गरे । दोस्रो, राप्रपाले जुन एजेन्डा बोकेको छ, त्यसलाई जनतासामु प्रस्ट्याउन सकेनौँ । तेस्रो, पार्टी टुक्राटुक्रा हुँदा संगठन जुन हिसाबले संयोजन गर्नुपथ्र्यो, त्यो हिसाबले गर्न सकेनौँ । त्यति मात्र होइन, निर्वाचनअघिको जल्दोबल्दो विषय संविधान संशोधनको विषयमा पनि पार्टीले स्पष्ट धारणा बनाउन सकेन ।

पार्टी एकीकरणअघि राप्रपाको एजेन्डा सर्वसापेक्ष हुनुपर्ने र राजतन्त्रको विषयमा संविधानसभामार्फत जनताले निर्णय लिने भन्ने थियो । राप्रपा नेपालको एजेन्डा सर्वधर्म सम्भव सनातन हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रका पक्षमा थियो । दुई पार्टीका एजेन्डा फरक भए पनि एकीकरणपछि हामीले सर्वधर्म सम्भव हिन्दू राष्ट्र भन्ने पार्टीको एजेन्डा तय गर्‍यौँ । जनताबाट निर्वाचित प्रतिनिधिले शासन सत्ता चलाउने गरी राजासहितको लोकतन्त्र रहने व्यवस्था हुनुपर्ने हाम्रो धारणा बाहिर ल्यायौँ । राजालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा राख्नुपर्ने हाम्रो तर्क थियो । यी दुई एजेन्डाको व्याख्या गर्दै निर्वाचनमा जनतासम्म पुर्‍याउन पाएनौँ ।

राप्रपाको नेतृत्वप्रति निर्वाचनको मुखमा भ्रम सिर्जना गर्ने प्रचार विपक्षीबाट भयो । निर्माण हुन लागेको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति लागे । त्यसलाई हाम्रै कार्यकर्ता (जसले जनतालाई पार्टीका पक्षमा कन्भिन्स गर्दै मतमा परिणत गर्ने हुन्) उनीहरूले पनि विश्वास गरे, तर पार्टीले त्यो गलत र भ्रामक हो भन्दै चिर्न सकेन । हामीसँग स्रोत र साधन पर्याप्त मात्रामा थिएन, संगठन कमजोर थियो । जनता हामीसँग नभएका होइनन्, थिए । तर, जनतालाई मतमा परिणत गराउने त कार्यकर्ताले हो । कमजोर संगठनमा चाहिनेजति कार्यकर्ता हामीसित भएनन् ।

अब के गर्छ त राप्रपाले ?
नेपालीमा एउटा प्रचलित उखान छ ‘एउटा माघको जाडो छल्दैमा जुनी जाँदैन ।’ अहिलेको जनमत त पाँच वर्षका लागि हो । त्यसपछि हुने निर्वाचनमा कसरी पुनः उदाउने त्यसतर्फ सोच्नुपर्छ । कुनै पनि मुलुकमा जनताका तीन वर्ग हुन्छन् न्यून, मध्यम, उच्च । राप्रपा मध्यमार्गी हो । अहिले मध्यमार्गीको मत तान्न राप्रपा असफल भएकाले केही कांग्रेसलाई र केही एमालेलाई गयो ।

भन्दा राप्रपालाई हिन्दूको एजेन्डा बोक्ने पार्टी भनिन्छ । ०६८ को जनगणनाअनुसार नेपालका ८१ प्रतिशत जनताले हिन्दू धर्म मान्छन् । तर, हामीले तीन प्रतिशत मत पनि पाउन सकेनौँ । हिन्दू धर्मलाई एजेन्डा बनाउने पार्टीलाई जनताले किन मत दिएनन् त, प्रस्ट छ, हामीले पार्टी र नेतृत्वमाथि गरिएका दुष्प्रचार चिर्न सकेनौँ ।

पछिल्लो एक अनुसन्धानले काठमाडौं उपत्यकाभित्र मात्रै दुई लाख कर्मकाण्डी ब्राह्मण रहेको देखाएको छ । हिन्दू धर्म भएन भने उनीहरूको कर्मकाण्ड गरेर जीविकोपार्जन गर्ने पेसा धरापमा पर्छ । त्यसो हुँदा गास, बाँस र कपासको जोहो गर्न गाह्रो हुन्छ, तिनैले त्यही पेसा र धर्मलाई जोगाउँछौँ भन्ने पार्टीलाई आफ्नो पेसा धरापमा पर्ने जान्दाजादै त मत दिएनन्, अरूले किन दिन्थे ! तसर्थ, राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा अब उपयुक्त हो कि होइन भन्दै छलफल गर्नुपर्ने आवश्यकता अहिलेको निर्वाचन परिणामले देखाइदियो । अब पार्टीको ग्रासरुटदेखि केन्द्रीय समितिसम्म यसबारे छलफल गर्ने र आएका सुझाबका आधारमा आवश्यक परिमार्जन गर्ने हो कि भन्ने मनस्थितिमा हामी पुगेका छौँ । फागनु अन्तिम साताका लागि आह्वान भएको राष्ट्रिय परिषद् बैठकमा यसबारे गहन छलफल हुनेछ । अहिले बौद्ध, मुस्लिम र किरात धर्म मान्ने पार्टीले हिन्दू राष्ट्रको एजेन्डा बोकेको पार्टीलाई मत दिएर जिताएका छन् । अब हिन्दू राष्ट्र हिन्दू धर्म मान्नेलाई चाहिएको कि अन्य धर्म मान्नेलाई ? यसबारे छलफल गर्ने कि नगर्ने ?

अहिले राप्रपाले बोकेको एजेन्डा हिन्दूले नै स्वीकार गरेनन् । एकताको प्रतीक राजसंस्था राख्नुपर्छ भन्छौँ हामी । निर्वाचनमा आफूलाई राजावादी भन्नेले नै हामीलाई मत दिएनन् । राजसंस्था ल्याउनुपर्छ भन्ने, तर ल्याउनका लागि १० किलो बोक्न नसक्नेलाई सय किलोको भारी बोकाएर आउँछ कि आउँदैन सोच्न आवश्यक छ । तसर्थ, एजेन्डा किन परिमार्जन गर्ने र कसरी परिमार्जन गर्ने भन्ने विषयमा सुझाब लिन हामी ग्रासरुटस्तरका कार्यकर्ता र जनमानसमा पुगेर राय लिन्छौँ ।

अहिले राप्रपाले बोकेको एजेन्डाको औचित्य सकिएको छैन । हाम्रोजस्तो दुई ठूला देशबीच रहेको मुलुक ‘सस्टेन’ हुनका लागि एउटा पहिचान चाहिन्छ, त्यो पहिचान हिन्दू राष्ट्रकै मात्र हुन सक्छ भन्नेमा हामी अझै प्रस्ट छौँ । फरक–फरक भूराजनीतिक सिद्धान्त भएका ठूला मुलुकबीच बसेर हामीले राष्ट्र र जनताको उन्नति र प्रगति गर्न ‘ट्याक्टिस’ गर्न सकेनौँ भने हामी सदाका लागि पछि पर्छौं । कुनै एक देशको इसारामा हामी बाँच्न सक्दै सक्दैनौँ । हामी स्वतन्त्र र सबल भएर अघि बढ्नका लागि आफ्नोपन आवश्यक पर्छ । तसर्थ, फरक पहिचानका लागि हिन्दू राष्ट्र आवश्यक पर्छ । फरक पहिचान भयो भने पर्यटनमा ठूलो फड्को मार्न मद्दत पुग्छ । हामीसँग भएको सम्भावना भनेको पर्यटन, जलस्रोत, खनिज पदार्थ हो । उदाहरणका लागि इन्डोनेसियाको बाली प्रान्तमा ९९ प्रतिशत हिन्दू छन् । त्यहाँ रहेको हिन्दू संस्कृति, कला, संस्कार र परम्परा अध्ययनका लागि संसारभरबाट सबैभन्दा बढी पर्यटक जान्छन् । अनुसन्धानकर्ता जान्छन् । कला र संस्कृतिको प्रशस्त सम्भावना भएको हिन्दू धर्मलाई भजाएर हामीले किन पर्यटक नभिœयाउने ? आर्थिक सबलीकरणको बाटो किन नरोज्ने ? हिन्दूले सबैलाई समन्वय गरेर मुलुकलाई अग्रस्थानमा लैजान्छ । होइन भने भोलि अरू धर्मको बोलवाला बढ्यो भने तँभन्दा म के कम भन्ने स्थिति नआउला भन्न सकिन्न ।

व्यक्तिगत रूपमा भन्दा म जनजातिको छोरो, बौद्ध धर्म मान्छु । मुलुकलाई बौद्ध धर्म मान्ने गराउनुपर्‍यो, भगवान् बुद्ध एसियाको दीप नै हुन् भनेर किन भनिनँ । किन हिन्दू धर्म मान्ने पार्टी रोजेँ त, अवश्य पनि विशेष पहिचान भएर र विश्वमा राष्ट्रको पहिचान दिलाउने उद्देश्यले यस्तो गरिएको हो । मजस्ता आफूले अरू धर्म मानेर पनि हिन्दू धर्मका लागि दिलोज्यान दिएर लाग्ने प्रशस्त छन् । राप्रपाको रणनीति र कार्यनीति नमिलेर अहिले हामी केही कमजोर मात्र भएका हौँ । बाहिर प्रचार गरिएजस्तो हामी सकिएका छैनौँ । अबको निर्वाचनमा सशक्त बन्नका लागि संगठनलाई कसरी सुदृढ बनाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

अहिले संविधानमा ‘धर्मनिरपेक्ष’ उल्लेख गरिएको छ । तर, संवैधानिक र व्यावहारिक रूपमा धेरै विषय फरक छन् । यदि मुलुक धर्म निरपेक्ष हो र हिन्दू धर्मलाई बिल्कुलै नमान्ने हो भने सबैभन्दा लामो बिदा दसैँमा किन दिने ? सरकारी कर्मचारी, सांसद, मन्त्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मले पेस्की किन लिने ? नेपाली सेनाले हिन्दू धर्म मान्नेले मनाउने शिवरात्रिलाई ‘सेना दिवस’का रूपमा मनाउँछ, दसैँको फूलपातीका दिन बढाइँ दिन्छ, घोडेजात्रामा बढाइँ दिन्छ । संस्थाहरू हिन्दू धर्मसँग जोडिएका छन्, यी परम्परा संविधानमा लेख्दैमा व्यवहारमा परिमार्जन हुन सक्दैनन् । यी व्यवस्था परिमार्जन गर्न सक्ने कि नसक्ने ?

कानुन परिवर्तन गरेर मात्रै व्यावहारिक रूपमा परिवर्तन गर्न सकिन्न, तत्काल मानसिकता परिर्वतन गर्न सकिन्न । कि संविधान र व्यवहारमा एकरूपता ल्याउन सक्नुपर्छ, होइन भने जनतालाई अन्योलमा पार्नु हुन्न । मुलुक, राज्य र जनताका लागि सबैभन्दा ठूलो चिज पहिचान हो । नेपाली र नेपालको पहिचान हिन्दू राष्ट्रसँग जोडिएको छ । तसर्थ, पार्टीले लिएको एजेन्डा परिमार्जन गर्ने नभई त्यो एजेन्डाको सार्थकतालाई आगामी पाँच वर्षसम्म हामीले जनतालाई बुझाउने कोसिस गर्नुपर्छ । अहिले पार्टीका दस्ताबेजमा उल्लेख भएकोमा कुनै थपघट नै गर्न हुन्न भन्ने होइन, समयसापेक्ष रूपमा परिमार्जन गर्नुपर्छ । परिमार्जन गर्ने भन्दैमा अस्तित्व नै निमिट्यान्न गर्न भने हुँदैन ।

सैद्धान्तिक रूपमा राप्रपा र कांग्रेसले गठबन्धन गर्नु ठीक हुन्छ । त्यही आधारमा हामीले प्रदेश र प्रतिनिधिसभामा तालमेल गर्ने सहमति गर्‍यौँ । सहमतिमा कांग्रेस इमानदार भएन, त्यसको घाटा दुवै पार्टीलाई भयो । अबको पाँच वर्ष राप्रपा र कांग्रेसलाई संगठन निर्माण गर्ने म्यान्डेट जनताले दिएका छन् । पार्टीका एजेन्डा जनतालाई बुझाएर उनीहरूको विश्वास जित्नेमा केन्द्रित हुनु समयको माग हो । सशक्त राष्ट्रवादी लोकतान्त्रिक शक्ति निर्माण गर्न खोज्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति लागेर विफल पारिदिए । अबका चार वर्ष हामीले पुनः आफ्नो साख फर्काउन लागिपर्छौं । कार्यकर्ता विचलिन हुनुपर्दैन, हामी अर्को निर्वाचनमा अवश्य उदाउँछौँ, त्यसमा शंका गर्नैपर्दैन ।
(तामाङ राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया