logo

bar

अमेरिकी बजेट अस्वीकृत हुुनुको अर्थ

नयाँ पत्रिका | माघ ०७, २०७४

अमेरिकामा नयाँ बजेट सिनेटबाट पास हुन सकेन । जसका कारण प्रशासनले सरकारी कामकाज बन्द गर्ने प्रक्रिया सुरु गरेको छ । प्रवासी र सीमा सुरक्षाको विषयमा भारी विवादका कारण यस विधेयकलाई अत्यावश्यक ६० मत प्राप्त हुन सकेन । संघीय सरकारलाई प्राप्त हुने कोषका कारण यस विधेयकलाई १६ फेब्रुअरीसम्म पास हुनु अत्यावश्यक छ ।

यो पहिलो अवसर हो, जब रिपब्लिकन पार्टीको कंग्रेसमा बहुमत छ र ह्वाइटहाउसमा उसैको उपस्थिति छ । तैपनि, राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले डेमोक्रेटिक पार्टीमाथि आरोप लगाएको छ— डोमेक्रेटिक पार्टी बेतुकका मागको बलमा देशका नागरिकलाई समस्यामा धकेलिरहेको छ । ह्वाइटहाउसकी प्रवक्ता सारा स्यान्डर्सले भनेकी छिन्— उनीहरूका लागि राजनीति नै प्राथमिकताको विषय हो, न कि हाम्रो राष्ट्रिय सुरक्षा, सेनाको परिवार, बालबालिका र देशका नागरिकका लागि काम गर्ने हाम्रो क्षमता ।

तर, डेमोक्रेटिक नेता चक सुमरको भनाइ छ कि ट्रम्पले द्विदलीय सम्झौता खारेज गरिदिएका छन् र कंग्रेसमा आफ्नो पार्टीमाथि कुनै दबाब दिन सकेनन् । अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरू महत्वपूर्ण मुद्दामा एक–अर्कासित सहमत छैनन् भने यसअगाडि कस्तो परिणाम निस्केला । वर्तमान बजेटको म्याद शनिबार आधा रातसम्म मात्र छ ।

देशमा अघिल्लो महिनासम्मका लागि सरकारी खर्चका लागि जरुरी रकमबारे बजेटमा स्वीकृति प्राप्त गर्ने उद्देश्यले बिहीबार राति यसमाथि हाउस अफ रिप्रिजेन्टिटिभमा यस विषयमा मतदान गराइएको थयो । मतदानको परिणाम २३०–१९७ रह्यो । परिणामतः बजेट ५०—४९ मतान्तरका कारण पास हुन सकेन । पाँच रिपब्लिकन नेताले विधेयकको विपक्षमा मतदान गरे भने पाँच डेमोक्रेट नेताले यसको समर्थन गरे ।

ह्वाइटहाउसको आरोपको जवाफमा चक सुमरले लेखेका छन्— आज हामी आफूलाई जुन स्थितिमा देखिरहेका छौँ, त्यसका लागि राष्ट्रपति ट्रम्पबाहेक अरू कसैलाई पनि दोषी ठहर्‍याउन सकिन्न । विधेयकको अस्वीकृतिसँगै बजेट संकटका कारण कैयौँ फेडेरल एजेन्सीले आफ्ना कार्यालय बन्द गर्नुपर्नेछ । किनकि, कानुनी रूपमा कंग्रेसबाट खर्चका लागि रकम प्राप्त हुन नसकेको अवस्थामा काम चालू राख्न सकिन्न । देशका राष्ट्रिय उद्यान र भवनहरू पनि बन्द गरिनेछन् । नागरिकको सुविधाका लागि केवल अति जरुरी सेवालाई मात्र चालू राखिनेछ । यी जरुरी सेवामा सुरक्षाबल, हुलाक सेवा, एयर ट्राफिक कन्ट्रोल, अस्पतालमा सेवा र औषधिका पसल, आपत्कालीन सेवा, जेलको सुरक्षा, ट्याक्स कार्यालय र बिजुली उत्पादनको कामकाज बन्द हुनेछैन ।

आखिर समस्या के हो ?
डेमोक्रेट नेताहरूको माग छ— सात लाखभन्दा बढी यस्ता प्रवासी जसका साथ अत्यावश्यक कुनै पनि कागजात छैनन् र जो कम उमेरमै अमेरिका आएका थिए, उनीहरूलाई फिर्ता पठाउने काम नगरियोस् । यिनलाई ‘ड्रिमर्स’ भन्ने गरिन्छ । यिनीहरूलाई राष्ट्रपति बाराक ओबामाको प्रशासनमा सुरु गरिएको एक कार्यक्रमअन्तर्गत अस्थायी नागरिकता दिइएको थियो ।

सेप्टेम्बरमा ट्रम्पले यस कार्यक्रमलाई अन्त्य गर्न लागिेको घोषणा गरेका थिए । उनले भनेका थिए कि कंग्रेससित यसको विकल्प खोज्नका लागि मार्चसम्मको मात्र समय छ । ट्रम्पले कडा सीमा नियन्त्रणका लागि बजेटमा अमेरिका र मेक्सिकोबीच प्रस्तावित पर्खालका लागि रकम माग गरेका छन् । रिपब्लिकन पार्टीले कम आयवाला परिवारका बालबालिकाका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई ६ वर्ष अघि बढाउनुपर्ने प्रस्ताव गरेको छ । तर, डेमोक्रेट चाहन्छन् कि यस कार्यक्रमलाई स्थायी रूपमै अघि बढाइयोस् ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डटकम-हिन्दीबाट

तपाईको प्रतिक्रिया